उदय जीएम

SPONSORED

             उनले कहिल्यै सोचेका थिएनन् आफू जीवनमा लेखक बन्छु भन्ने । तर, जे नसोचेको भइदियो त्यही । १४ वर्षको उमेरदेखि पत्रकारितामा सक्रिय कृष्ण आचार्यलाई उनको पहिलो उपन्यास ‘अप्रिल फुल’ले नै सेलेब्रेटी बनाइदियो । उनको उपन्यासको जुन रुपमा परिचर्चा र बिक्री भइरहेको छ,, निकै कम प्राप्त हुन्छ नयाँ लेखकलाई यस्तो सौभाग्य । र, त नयाँ पब्लिकेशन भए तापनि आचार्यको अप्रिल फुल सर्वत्र चर्चामा रहन सफल भएको छ ।

SPONSORED

             दाङका आचार्य सानैदेखि साहित्यिक क्षेत्रमा रुची राख्थे । विद्यालयमा सानैदेखि उनी लाइब्रेरीमा गएर मुना, मधुपर्क, गरिमा जस्ता पुस्तकहरु पढ्न रुचाउँथेँ । कक्षा ८ सम्म आइपुग्दा उनी पत्रकारिता क्षेत्रमा आवद्ध भए । स्थानीय सामुदायिक रेडियोको स्रोता क्लबको कोषाध्यक्ष हुँदै उनी सो रेडियोको सम्वाददाता बने । अर्को वर्ष उनी देउखुरी साप्ताहिकको सम्वादताताको रुपमा आफूलाई उभ्याउन सफल भए । सोही पत्रिकाको स्रोता क्लबको संयोजक बनेर उनले ‘देउखुरी दर्पण’ नामक साहित्यिक कृतिसमेत प्रकाशित गरे । जतिबेला उनको उमेर थियो– १६ वर्ष । ‘पत्रकारिता क्षेत्रमा रहेर मैले सानैदेखि निकै संघर्ष गर्दै आएँ । सम्वाददातादेखि वितरकसम्मको काम गरेँ’, उनी अतीत सम्झन्छन् ।

SPONSORED

             भनिन्छ नि, हुने विरुवाको चिल्लो पात । लेखक आचार्य सानैदेखि चिल्लो पात नै थिए भन्दा अत्युक्ति नहोला । कक्षा १० मा पढ्दा उनी ‘सिर्जना संगम’ नामक स्थानीय पत्रिकाको सम्पादक बने । एसएलसीपछि ‘देउखुरी दैनिक’ नामक पत्रिकाको समाचार सम्पादकको भूमिकामा रहेर काम गरे । त्यसबखत उनले देउखुरी दर्पण अर्धवार्षिक नामक साहित्यिक म्यागेजिन निकाले । पत्रकारिता तालिमदेखि थुप्रै कार्यक्रमहरु आयोजना गर्दै स्थानीयस्तरमा सचेतना फैलाउने काम गरे । र, आज उनको उपन्यासले देशभर एउटा छाप छाड्न सफल भएको छ । जसमा उनले देखेका, भोगेका, अनुभव गरेका र गुम्सिएका, लुकेका र लुकाइएका कुरालाई उनेका छन् ।

             एसएलसी दिएर काठमाडौं आएपछि आचार्यको पत्रकारितामा केही समय पूर्णविराम नै लाग्यो । उनी पढाइमा ध्यान दिन थाले । नौलो शहर र बाबुआमाको सपना बोकेर काठमाडौं आएकाले पनि होला उनमा केही गर्ने मनोकांक्षा थियो । तर, गर्ने के ? उनी यो प्रश्नबाट भने सधै पिरोलिन्थे ।

             प्लस टू पढ्दै गर्दा एकदिन उनको हातमा शरद शर्माको “लिखे” उपन्यास पर्यो । उनले चाखपूर्वक उपन्यासको हरेक पाना पल्ट्याए । पढ्दापढ्दा धेरै ठाउँमा उनका आँखा रसाए । त्यसपछि यस्ता किसिमका पुस्तकमा उनको रुची बढ्न थाल्यो । त्यसपछि उनले झमक घिमिरेको “जीवन काँडा कि फूल”, सरुभक्तको “पागल बस्ती”, पारिजातको “शिरीषको फूल” लगायतका उपन्यास पढे । यी सबै उपन्यासले उनमा एक किसिमको छाप छाड्यो भने पठन संस्कृतिको पनि विकास गर्दै लग्यो । दाइलाई उपहार स्वरुप विभिन्न पुस्तकहरु आउने भएकाले सित्तैमा पढ्न पाउँथे उनले बजारमा आएका नयाँ कृति । जुन उनका लागि सबैले नपाउने सौभाग्य थियो । ‘मैले किताब किनेर पढ्न थालेको ब्याचलर पढ्दादेखि हो । प्लस टूसम्म दाइलाई उपहारस्वरुप आएका पुस्तकहरु पढेँ । पछि उपन्यास मेरो प्यासन बन्दै गयो’ उनी भन्छन्, ‘सायद त्यसदिन मेरो हातमा लिखे उपन्यास नहुँदो हो त आज पाठकको हातमा अप्रिल फुल नहुन पनि सक्थ्यो ।’

             ब्याचलर पढ्दा उनले वीपी कोइरालादेखि म्याक्सिम गोर्कीसम्मलाई पढे । वीपीको सुम्निमा र गोर्कीको आमा उपन्यासले उनको साहित्यिक क्षेत्रमा रुची कायम राख्न थप भूमिका खेले । ब्याचलर दोस्रो वर्षमा पढ्दै गर्दा आचार्य फेरि पत्रकारितासँग जोडिए । त्यसपछि खुल्न थाल्यो उनका लागि अवसरका विभिन्न ढोका । काठमाण्डु टुडेमा उनी डेस्कमा बसेर काम गर्न थाले । पढाइलाई पनि निरन्तरता दिए । र, सँगसँगै कथाहरु लेखेर आफूले काम गर्ने अनलाइनमा पोस्ट गर्न थाले । जति उनका कथा हिट हुँदै गए त्यति उनमा उत्साह थपिँदै गयो ।

             मास्टर्ससम्म आइप्ुग्दा आचार्यको पठनको दायरा फराकिलो हुँदै गयो । अब उनले भारतीय र केही विदेशी लेखकलाई समेत पछ्याउन थाले । यसक्रममा उनले चेतन भगतदेखि पाउलो कोएलोसम्मलाई पढे । उनी भन्छन्, ‘पढाइ र जागिरमा व्यस्त भए तापनि केही समय निकालेर साहित्यिक कृतिहरु पनि पढिरहेँ । त्यसले मलाई साहित्यिक क्षेत्रमा लाग्न थप प्रेरणा दियो ।’ सानैदेखि पढाइ र कामलाई सँगसँगै अघि बढाएका आचार्यले पढाइमा कहिल्यै पछि फर्किएर हेर्नु परेन । मास्टर्स पास गर्दासम्म उनले कहिल्यै असफलता हात पार्नु परेको छैन ।

             अप्रिल फुल लेख्न भने आचार्यले आजभन्दा करिब चार वर्षअघि सुरु गरेका हुन् । खालि समयको सदुपयोग हुनेगरी लेख्न सुरु गरेका आचार्यका शब्दले यसरी चर्चा पाउँछ भन्ने उनलाई सुरुवाती दिनमा लागेको थिएन । तर, भइदियो त्यस्तै । त्यसो त उनले चार वर्षसम्म लगातार उपन्यासका लागि कलम चलाएनन् । आफ्नो मूड कतिबेला चल्छ, सोही समयमा कपीका पाना र किबोर्डमा आफ्ना औँला चलाए । र, आजभन्दा ६ महिनाअघिमात्र तयार भयो उपन्यासका लागि उपयुक्त पाण्डुलिपी । ‘साथीभाइ र केही अग्रजहरुलाई पाण्डुलिपी देखाएँ । उहाँहरुले ‘क्या गज्जब’ भन्नु भयो । साथै सल्लाह–सुझाव अनुसार पुनर्लेखन र परिमार्जन पनि गर्दै लगेँ । र, जब अब छाप्न योग्य भयो भन्ने लाग्यो त्यसपछि प्रकाशनलाई पाण्डुलिपी थमाइदिएँ ।’

             अप्रिल फुल अहिले किशोर–किशोरी, विशेषगरी युवा पुस्ताको रोजाइमा पर्न सफल भएको छ । तर, लेखक आचार्य भने युवा पुस्ताले मात्र होइन अप्रिल फुल अभिभावकले समेत पढ्नुपर्ने बताउँछन् । भन्छन्, ‘आफ्ना छोराछोरी कुन बाटोमा हिँडिरहेका छन्, अभिभावकको नाताले आफ्नो जिम्मेवारी र भूमिका के हो, अहिलेको पुस्ताको मनोविज्ञान के हो भन्ने बुझ्नका लागि यो उपन्यास अभिभावकले पनि एकपटक पढ्नै पर्छ ।’ उपन्यासको भाषा, शैली र कथाबस्तु निकै उत्कृष्ट छ । पढ्दै गर्दा कतै बोरिङ फिल हुँदैन । पढ्न सुरु गरेपछि अन्तिम पानासम्म नपुगी छाड्न मनै लाग्दैन । यही हो उपन्यासको मुख्य विशेषता । जुन कुरा आजभोलि हप्तैपिच्छे निस्कने केही उपन्यासमा मात्र पाउन सकिन्छ ।

             ‘हरेक लेखकले आफ्नो कृतिलाई पक्कै पनि राम्रो भन्छ’ आचार्य थप्छन्, ‘कस्तो छ भनेर पहिल्याउने काम त पाठकको हो । र, अप्रिल फुल पढेपछि पाठकले ‘वाह !’ भन्नुभएको छ । उहाँहरुको यो माया मेरो जीवनको सबैभन्दा महत्वपूर्ण पाटो हो ।’

             उपन्यासमा युवा प्रेमलाई केन्द्रमा राखिएको छ । समाजमा हामीले देखिरहेका, भोगिरहेका, हाम्रै जीवनमा अनुभव गरेका विषयबस्तुलाई कथाको रुपमा प्रस्तुत गरिएको छ । त्यसैले उपन्यास पढ्दा पाठकलाई आफ्नै कथा पढेजस्तो लाग्न सक्छ । अथावा आफूले देख्दै आएको सामाजिक चरित्र पाठकले उपन्यासमा पाउन सक्छन् । यो त भयो हरेक उपन्यासमा हुने साझा कुरा । अप्रिल फुलमा सबैले नदेखेका, लुकेर रहेका विषयलाई पनि उठान गरिएको छ । जसलाई आचार्यले उपन्यासमा मसलाको रुपमा प्रयोग गरेका छन् ।

             अप्रिल फुलमा नारी पात्रहरु एकपछि अर्को गर्दै फेरिदै जान्छन् । लाग्छ, कतै लेखकले आफ्नै कथा त उतारेका होइनन् । तर, उनी यस कुरामा सहमत छैनन् । उनी आफ्नो नभएर सिंगो समाजको कथा उतारेको बताउँछन् । समाजको कथा उतार्नु थियो भने प्रेम प्रसङ्ग किन त ? भन्ने प्रश्नमा उनको जवाफ सटिक छ । भन्छन्, ‘प्रेम र समाज एकअर्काका पर्यायबाची जस्तै हुन् । प्रेम नभएको समाज र समाजबिनाको प्रेम सम्भव नै छैन ।’ त्यसैले पनि होला अप्रिल फुल समाजको ऐना हो । प्रेम मात्र होइन, समाज, सामाजिक यथार्थ, चरित्र, अस्तित्व बुझ्नका लागि यो उपन्यास पढ्नै पर्छ । ‘पाठकले अहिलेसम्म पढेका भन्दा अप्रिल फुलमा फरक स्वाद छ । मैले उपन्यासमार्फत रियालिटीलाई फिक्सनाइज गर्न खोजेको छु’ लेखक आचार्य भन्छन् ।