जिल्ला स्तरीय आइटिएफ तेक्वान्दो च्याम्पियनसीप शुरु

२०७६ भाद्र २७, शुक्रबार २१:४८ मा प्रकाशित

घाेराही । दाङ जिल्ला स्तरीय आइटिएफ तेक्वान्दो च्याम्पियनसीप प्रतियोगिता शुक्रवारबाट घोराहीमा शुरु भएको छ । भरतपुर आइटिएफको आयोजना एवम् दाङ आइटिएफ तेक्वान्दो संघको संयोजनमा प्रतियोगीता शुुरू भएको हो ।

SPONSORED

आइटिएफ दाङका अध्यक्ष प्रेम बुढाको अध्यक्षता एवम् जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको प्रमुख आतिथ्यमा प्रतियोगीताको उद्घाटन गरिएको थियो । कार्यक्रममा उद्घाटन गर्दै प्रमुख अतिथि नेपालीले खेलकुदले व्यक्तिलाई अनुशासित, र मेहेनती बनाउन सघाउने बताए ।

SPONSORED

SPONSORED

उनले पछिल्लो समय युवाहरुले खेल क्षेत्रको विकासलागि गरिरहेको प्रयास अत्यन्तै सराहनीय काम भएको भन्दै यसमा राज्यले साथ दिनु पर्ने बताए ।

जिल्लामा सबै स्थानीय तहले अन्य खेललाई जसरी चासो दिएको त्यसै गरी यस खेलमा ध्यान दिनसके खेल र खेलाडीको हौसला अझ बढ्ने उनको भनाई थियो ।

यस्तै कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै दाङ जिल्ला फुटवल संघका महासचिव नरेन्द्र पुनले तेक्वान्दो खेलको विकासको लागि आफुले सक्दो सहयोग गर्ने बताए । उनले प्रतिभावान नयाँ नयाँ खेलाडी देशका कुना कन्दरामा अवसर नपाएर बसिरहेका बेला उनीहरुको प्रतिभा बाहिर ल्याउन यस्ता खालका प्रतियोगिता निरन्तर भई राख्नु पर्ने बताए ।

आफु पनि खेलको अनुयायी भएकाले सबै प्रकारको खेलको विकासको लागि युवाहरु सक्रिय भएर लाग्नुपर्ने सुझाव दिए । महासचिव पुनले प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीको हौसला बढाउन प्राेत्साहन नगद ५ हजार रुपैँया आयोजकलाई प्रदान गरेका थिए । उनले प्रदान गरेको उक्त रकम प्रतियोगिता भर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदान गर्न उनले आग्रह गरेका थिए । आजबाट शुुरु भएको खेल भोलिसम्म संचालन हुनेछ ।

खेलमा जिल्लाका विभिन्न स्थानमा रहेका तेक्वान्दो क्लवको सहभागिता छ । उद्घाटन कार्यक्रममा आइटिएफ ५ नम्बर प्रदेश प्रमुख विरेन्द्रजंग शाही, आइटिएफ दाङकी सल्लाहकार तारा पुरी, आइटिएफ दाङका सचिव मधु पन्त, रेफ्रीहरू कुमार थापा, राजन चाैधरी, काैशल शाअ सूर्यकिरण हमाललगायतकाे उपस्थिति रहेकाे थियाे ।

भरतपुर आइटिएफका अध्यक्ष भीमबहादुर थापाको स्वागत मन्तव्यबाट शुुरु भएको कार्यक्रमको सहजीकरण केशव गिरीले गरेका थिए । प्रतियाेगितामा विजयी हुने खेलाडीहरूले शनिबार पुरस्कार पाउने छन् ।