घोराही उपमहानगरभित्र सडकको प्रतिवेदन गुपचुप

२०७६ श्रावण २९, बुधबार २२:२२ मा प्रकाशित

             सपना बोहरा

epradeshtoday

घोराही, २९ साउन । जब एक झर पानी पर्नुपर्छ । तब देखिन्छ घोराही सडकको औकात । अन्य सामान्य दिनको तुलनामा खाल्डाखुल्डी अनि ठूला–ठूला पोखरी । घोराही बजारका मुख्य सडकमा नै ठूला–ठूला खाडल भएका छन् ।

SPONSORED

अलकत्रा उम्किएर दुर्घटनाको जोखिम बढ्दै गएको छ । असार मसान्तको समयमा गरिएको घोराहीको सडक हप्ता दिन नवित्दै रिसोलिङ उप्किन थालेपछि चर्को विरोध भएको थियो ।

SPONSORED

सम्भवत स्थानीय सरकार आएको दुई वर्षको अवधिमा सरकारे गरेका विकास निर्माणको काममा चर्को विरोध भएको यही घोराहीका सडकको विषय नै हो । ठूला र हेवी गाडी चल्ने अहिले घोराहीको मुख्य सडक भयावह अवस्थामा छन् ।

SPONSORED

असारको दोस्रो हप्तामा घोराही उपमहानगरपालिकाले गरेको सडक पिच रातारात सडक उम्किए पछि त्यसको छानबिन गर्नको लागि छानबिन समितिसमेत गठन गरिएको थियो ।

घोराही उपमहानगरपालिकाका प्रवक्ता तथा घोराही उपमहानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष भरत अर्यालयको संयोजकमा छानबिन समितिसमेत गठन भएको थियो ।

त्यो समितिमा घोराही उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष रमेश पाण्डे, १४ नम्बर वडाका अध्यक्ष शक्तिराम डाँगी सदस्य थिए । त्यो समितिले एक हप्तामा प्रतिवेदन निकाल्ने भनेर समिति गठन गरिएको थियो ।

सडकको अवस्था बिग्रिएको र छानबिन समिति गठन भएको एक महिनाभन्दा बढी समय बितिसक्दा पनि प्रतिवेदन सार्वजनिक गर्न सकेको छैन् । सडकको काम नै शुरु भएको छैन । जसले गर्दा घोराहीको सडक नै कुरुप भएको छ भने झनै जोखिम बन्दै गएको छ ।

घोराही उपमहानगरपालिकाका प्रवक्ता तथा छानबिन समितिका संयोजक भरत अर्यालले अबको केही दिनमै प्रतिवेदन सार्वजनिक गरिने बताए ।

‘सडकको प्रतिवेदनको अन्तिम तयारी भएको छ’ छानबिन समितिको संयोजक अर्यालले भने ‘प्राविधिक काम विशेषले काठमाडौँ जानुभएको छ, उहाँ आएपछि सार्वजनिक गर्छौँ ।’

प्रादेशिकस्तरको प्राविधिकबाट सडक निर्माणको गुणस्तरको बारेमा जाँच गर्ने योजना बनाएकाले तोकिएको समयभन्दा बढी लागेको उनले बताए । ‘सडक के कारणले बिग्रियो भनेर हामीले उपभोक्ता समितिसँग पनि बुझ्न लाग्दा केही समय थप गरेका हौँ’

उनले भने ‘हामीले सत्यतथ्य प्रतिवेदन अब चाँडै नै सार्वजनिक गर्छौ ।’ सडक निर्माण प्रतिवेदन निकाल्नको अन्तिम छलफल गरेर सार्वजनिक गरिने छानबिन समितिका संयोजक अर्यालले बताए ।

घोराही उपमहानगरपालिकाको सहभागितामा सञ्चालित लागत सहभागितामा सडक कालोपत्रे गर्ने सिलसिलामा ३८ वटा सडकका विषयमा वेस कोर्षमध्ये ग्राभेलसम्म र डब्लु विएमसम्मको काम उपभोक्ता समितिबाट भएको र त्यो पश्चात काम उपभोक्ता समितिबाट झिकी उपमहानगरपालिकाबाटै कालोपत्रे हुन्छ भनि विषयमा प्रतिवेदनमा छलफल भईरहेको छानबिन समितिका सदस्य रमेश पाण्डेले बताए ।

सडकको अवस्था बिग्रिएको र छानबिन समिति गठन भएको एक महिनाभन्दा बढी समय बितिसक्दा पनि प्रतिवेदन सार्वजनिक गर्न सकेको छैन् ।

‘मंगलबारसम्मको प्रतिवेदनमा उपभोक्ता समितिलाई कुनै जानकारी नगराई अस्फाल्ट प्रविधिको ठेक्का प्रणालीमार्फत कालोपत्रे हुन्छ भनेर नै उपभोक्ता समिति ढुक्क भएर बसेको देखिन्छ’ छानबिन समितिका सदस्य पाण्डेले भने ‘अमुक ठेकेदारसँग उपभोक्ता समितिको कतै संलग्नता नभएको पुष्टि हुन्छ ।’

उपभोक्ता समितिसँग सम्झौता गरी दोस्रो व्यक्ति, ठेकेदारमार्फत काम भएको भए घोराही उपमहानगरपालिकाको कुनै पदाधिकारी, प्रमुख प्रशासकीय अधिकृत, पूर्वाधार महाशाखा प्रमुखसमेत अनभिज्ञ रहेको पाइएको उनले बताएका थिए ।

‘सडकको कार्य गर्दा अस्फाल्ट पिचका लागि एअर कम्पोसर मेसिन, पेभर मेसिन, पेनुमेटिक रोलरजस्ता महत्वपूर्ण उपकरण हुन तर उल्लेखित मेसिन कुनै प्रयोग भएको देखिदैन’ उनले प्रतिवेदनमा देखिएको बारेमा जानकारी गराउँदै भने ।

सम्झौता र ईष्टिमेटमा राखिएको कम्पोजर बाहेकको रकम २० लाख ८१ हजार । ९ सय १ रुपैयाँ ३७ पैसा मोटामोटी भुक्तानी र कमप्रेसर मेसिनको कूल स्टिमेट भएको रकम पनि कुल बजेटमा कट्टा गर्नुपर्ने देखिएको उनले बताएका थिए ।

यस विषयमा बुझ्दा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले छानबिन समितिको प्रतिवेदन अझै आई नसकेको बताए । प्रतिवेदन आउँदा वित्तिकै सार्वजनिक गरिने र कार्यान्वयनमा लाग्ने उनको भनाई थियो ।

गत आर्थिक वर्षको लागि छुटयाइएको बजेट भएकाले आगामी बजेट अनुसार नै घोराहीका सडक पुनः निर्माण गरिने उनले बताए । ‘यो आर्थिक वर्षमा पनि सडकको लागि बजेट छुटयाएका छाँै, असोज–कार्तिक महिनाबाट काम शुरु हुन्छ’ उनले भने ।

सडक निर्माणको विषयमा भने ठेकेदारको काम अनुसारको भुक्तानी दिइने उनले बताए । ‘सडकको गुणस्तरको विषयमा प्रतिवेदनले बताउँला, त्यो अझै आई पुगेको छैन्’ उनले भने ‘ठेकेदारको जस्तो काम देखिन्छ, उस्तै भुक्तानी हुन्छ ।’