सक्राम ब्यारेक अब ‘क्रान्ति संग्रहालय’

२०७६ श्रावण २७, सोमबार २१:४० मा प्रकाशित

सक्राम ब्यारेक अब ‘क्रान्ति संग्रहालय’
सक्राम ब्यारेक क्षेत्र। तस्बिर : गोपाल शर्मा

गोपाल शर्मा

SPONSORED

संग्रहालय निर्माणका लागि १० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। नगर प्रमुख पाण्डेले यस वर्ष डीपीआर गरिने बताए। तुलसीपुरले संग्रहालयका लागि बजेटसमेत विनियोजन गरेको उनले जानकारी दिए। तुलसीपुर उपमहानगरले सक्रामस्थित ब्यारेक क्षेत्रलाई पर्यटकीय स्थलका रूपमा विकास गर्न लागेको हो।

SPONSORED

शान्ति प्रक्रियापछि भएको सेना समायोजनसँगै खाली भएको सक्राम ब्यारेक संरक्षण र प्रयोग नहुँदा जीर्ण बन्दै गएका बेला यसको संरक्षण गर्न उपमहानगरले क्रान्ति संग्रहालयका रूपमा विकास गर्ने गरी योजना ल्याएको पाण्डेले बताए। ठूलो धनराशि खर्च गरेर निर्माण भएका ब्यारेकभित्रका संरचनाको प्रयोग र त्यसले देखाउने ऐतिहासिकतालाई संरक्षण र जगेर्ना गर्न क्रान्ति संग्रहालयको अवधारणा ल्याएको नगर प्रमुख पाण्डेको भनाइ छ।

SPONSORED

०७६÷७७का नगरको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सक्राम ब्यारेकलाई क्रान्ति संग्रहालय बनाउने योजना अघि सारिएको हो। ब्यारेकका संरचना प्रयोगविहीन अवस्थामा हुँदा जीर्ण भन्दै गएका छन्। सेना समायोजनपछि सक्राम ब्यारेक क्षेत्र आन्तरिक पर्यटकको केन्द्रसमेत बन्दै गएको छ। अहिले पनि दैनिकजसो आन्तरिक पर्यटक सक्राम पुग्ने गरेका छन्। ‘अब सक्राम क्रान्तिको अध्ययन थलोका रूपमा विकास हुनेछ,’ नगर प्रमुख पाण्डेले भने, ‘सक्राम ब्यारेक क्रान्ति संग्रहालयका रूपमा नेपालकै पहिलो संग्रहालय बन्नेछ।’

प्रयोगविहीन पूर्वाधार

तुलसीपुर उपमहानगरपालिका–१९ सक्रामस्थित लडाकु ब्यारेक प्रयोगविहीनजस्तै अवस्थामा छ। सरकारी लगानीमा शिविरका लागि निर्माण गरिएका करोडौंका पूर्वाधार प्रयोगमा आउन सकेका छैनन्। लामो समयदेखि उपयोगविहीन भएपछि लडाकु शिविर क्षेत्रका पूर्वाधार र संरचना जीर्ण बन्दै गएको छ। संविधानसभा दोस्रो निर्वाचनपछि पूर्वमाओवादी लडाकुलाई समायोजन गरिएको थियो। लडाकु नेपाली सेनामा समायोजन भएपछि उनीहरू बस्दै आएका संरचना पूर्णरूपमा प्रयोगमा आउन नसक्दा ती संरचना प्रयोगममा आउन सकेका छैनन्। एक ब्रिगेडका ५ सय ३४ लडाकु बस्ने गरी तयार पारिएका पूर्वाधार अहिले जीर्ण बनेका छन्। ब्यारेकमा प्रयोग भएका एक क्षेत्रका २÷४ वटा पूर्वाधार मात्रै शिविरको सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीले केही समय अघिसम्म प्रयोग गरेको भए पनि सशस्त्रले पनि ब्यारेक छाडिसकेको छ।

तत्कालीन अवस्थामा ब्यारेक निर्माणका लागि राज्यले ४ करोड खर्च गरेको दीर्घ स्मृति ब्रिगेड सक्राम (माओवादी लडाकु ब्यारेक सक्राम)का ब्रिगेड सहायक कमान्डर सविन पोखरेलले जानकारी दिए। उनले ब्यारेककै लागि राज्यले विद्युत्, खानेपानी र सडकमा समेत थप लगानी गरेको बताए। ब्यारेकको पूर्वाधार निर्माणमा मात्रै ४ करोड रुपैयाँ लगानी भएको र सडक र विद्युत् निर्माणमा त्यसभन्दा पनि बढी रकम खर्च भएको उनले बताए। पोखरेलले तत्कालीन अवस्थामा सक्राममा ५ सय ३४ जनाको ब्रिगेड बस्दै आएको थियो। ०६३ देखि ०६८ चैत २७ गतेसम्म लडाकु शिविरमा रहेको र समायोजन भएपछि शिविर राज्यलाई हस्तान्तरण गरिएको उनले बताए। शिविरको स्वामित्व तुलसीपुर उपमहानगरलाई हस्तान्तरण गरिएको छ।

तत्कालीन ब्रिगेड सहायक कमान्डर पोखरेलले ब्यारेकलाई राज्यले सदुपयोग गर्दै प्रयोजनमा ल्याउनुपर्ने बताए। उनले भने, ‘नगरले ल्याएको क्रान्ति संग्रहालयको योजना स्वागतयोग्य छ। हामीले त पहिलेदेखि नै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण थलो सक्राम बनाऊँ भनिरहेका छौं, त्यो अझै उत्तम हुन सक्छ।’ राज्यको लगानीलाई राज्यले नै संरक्षण गर्नुपर्ने भन्दै उनले त्यसलाई जीर्ण हुनबाट बचाउनुपर्नेमा जोड दिए।

सबै संरचना प्रयोगमा आउन नसकेपछि जीर्ण बन्दै गएको शिविर सुरक्षाका लागि बसेका सशस्त्र प्रहरी बेस क्याम्पका प्रहरी निरीक्षक वेदबहादुर खड्काले बताए। उनले १० बिघामा रहेको ब्यारेकभित्रका सबै संरचना सशस्त्रले पनि प्रयोग गर्न नसकेको अवस्थामा नगरलाई हस्तान्तरण गरेर सशस्त्र टोली फर्किएको बताए। लामाखोला महिला सामुदायिक वन क्षेत्र, नर्सरी र केही खेत ब्यारेकका लागि प्रयोग भएको छ। सबै संरचना प्रयोगमा आउन नसकेपछि जीर्ण बन्दै गएका हुन्।