सवारी दुर्घटना मुद्दामा कठोर बन्दै प्रहरी, जसको गल्ती उसैलाई मुद्दा

२०७६ श्रावण ६, सोमबार ११:४५ मा प्रकाशित

दाङ– चितवनबाट जन्ती बोकेर कोहलपुर जाँदै गरेको स्कार्पियो जीप २०७५ मंसिर २७ गते रिहार नजिकै बससँग ठोक्नि पुग्यो।

उक्त दुर्घटनामा स्कार्पिओमा सवार दुलाहका आमा, बुवा र आफन्त गरी ६ जनाको मृत्यु भयो। बस चालकको लापरबाहीले दुर्घटना भएको भन्दै मृतकका आफन्तले प्रहरीमा उजुरी दिए।

तर दुर्घटनाको अनुसन्धान गर्दै जाँदा बसको नभई स्कार्पियोका चालककाे गल्ती देखियाे। प्रहरी नियन्त्रणमा रहेका बस चालकलाई छाडेर  स्कार्पियोका चालकमाथि सवारी ज्यान मुद्दा दर्ता गरेर प्रहरीले कारबाही प्रकृया अगाडि बढायो।

SPONSORED

यस्तै गत वैशाख पहिलाे साता तीन जना चढेको मोटरसाईकल रोकिराखेको ट्रकको पछाडीबाट ठाेक्किएर दुर्घटना भयाे। उक्त दुर्घटनामा मोटरसाइकलमा सवार एक जनाकाे मृत्यु  र दुई जना घाइते भए।

SPONSORED

उक्त घटनामा ट्रकले अगाडीबाट ठक्कर दिएको हो भन्दै विमाको रकम दावी गर्न प्रहरीलाई दबाब आयो। तर यो घटनामा प्रहरीले मोटरसाईकलमा सवार व्यक्तिहरुकै गल्ती रहेको भन्दै ट्रक चालकलाई मुद्दा दर्ता गरिएन।

SPONSORED

घाईतेको उपचार घर परिवारले आफै गर्नु पर्‍यो।

वडा प्रहरी कार्यालय लमहीले पूर्व पश्चिम राजमार्गमा हुने सवारी दुर्घटनाको यथार्थ छानविन गरेर जसको गल्ती छ उसैलाई कारबाही गर्ने अभियान चलाएको छ।

यी दुई घटनाले पनि प्रहरीले अनुसन्धानबाट जसकाे गल्ती छ उसैलाई सवारी मुद्दा दर्ता गरेर कारबाही प्रकृया थालेको देखिएको छ। विगतमा ठूलो सवारी साधनलाई दोषी देखाएर घटनामा साना सवारी साधनका चालकलाई उन्मुक्ति दिने गरिन्थ्याे।

तर अहिले घटनाको अनुसन्धानबाट जो दोषी हुन्छ उसैमाथी मुद्दा दर्ता गरेर कारबाही गर्न थालिएको छ। वडा प्रहरी कार्यालय लमहीले एक वर्षमा सवारी ज्यान सम्बन्धी नाै ओटा मुद्दा दर्ता गरेको छ।

‘गल्ती गर्ने सानो सवारीसाधन होस् या ठूलो उसलाई कानुन अनुसार कारबाही हुन्छ’, वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले भने, ‘ठूलो र सानो सवारी साधन एकआपसमा जुधेमा ठूलो सवारी साधनको गल्ती देख्ने परम्परा थियो। अब त्यो परम्परा तोडेका छौँ। जसको गल्ती हुन्छ उसैलाई कारबाही गछौँ र गरेका पनि छौँ।’