दाङमा २० हजार परीक्षार्थी,लोकसेवाको परीक्षामा ठूलो संख्यामा प्रहरी परिचालन

२०७६ श्रावण ४, शनिबार २०:०२ मा प्रकाशित

शरद रेग्मी
दाङ, साउन ४ ।
दाङमा शुक्रबारदेखि सुरु भएको लोकसेवा आयोगको परीक्षामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्लाका विभिन्न स्थानमा गरि झण्डै २० हजार परीक्षार्थी परीक्षामा सामेल छन् । दाङको तुलसीपुरमा परीक्षा केन्द्र तोकिएको छ । परीक्षा शान्ति पूर्णरुपमा सम्पन्न गर्नको लागि प्रहरीले सम्पूर्ण शक्ति तुलसीपुर क्षेत्रमा केन्द्रित गरेको छ ।

प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, ईलाका प्रहरी प्रमुख, सशस्त्र प्रहरी तुलसीपुरको सुरक्षा अधिकारी आफै पनि परीक्षाको अनुगमनमा खटिएका छन् । काठमाडौँमा शुक्रबार बेलुकीमा लोक सेवा विज्ञापनको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरूको फोटो जलाइएको हुँदा प्रशासनले थप कडाइ गरेको हो । विरोधमा उत्रनेहरुले लोक सेवा आयोगले समावेशी सिद्धान्त विपरीत स्थानीय तहमा विज्ञापन खुलाएको भन्दै त्यसको विरोध गरिरहेका छन् ।

SPONSORED

काठमाडौँंमा तराई मधेश राष्ट्रिय परिषद्ले विरोध प्रदर्शन गरेको छ । पाँच सय ५५ स्थानीय तहका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसका आधारमा आयोगले जेठ १५ गते नौ हजारभन्दा बढी पदका लागि विज्ञापन खुलाएको थियो । उक्त विज्ञापन संविधानले सुनिश्चित गरेको समावेशी सिद्धान्तविपरीत रहेको भन्दै फिर्ता लिन दबाबमूलक कार्यक्रम गरिँदै आएको छ ।

SPONSORED

प्रदर्शनकारीले भृकुटीमण्डपदेखि सुरू गरेका ¥याली शहीदगेट, असन हुँदै बांगेमुढासम्म पुगेको थियो । त्यस्तै परिस्थिति दाङमा सिर्जना हुन नपावस् भनेर प्रहरीले पूर्व तयारी स्वरुप ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ । सर्वसाधारण मानिहरु भने त्यति ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी शैक्षिक संस्थामा पुगेको देखेर आश्चर्यमा पर्ने गरेका छन् ।

SPONSORED

दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले परीक्षालाई ब्यबस्थित र मर्यादित बनाउन जिल्लाको सबै सुरक्षा सम्यन्त्रलाई परिचालन गरिएको जानकारी दिए । परीक्षा केन्द्रदेखि बास बस्ने स्थानसम्मको सुरक्षा ब्यबस्थापन गर्न समेत स्थानीय प्रहरी प्रमुखहरुलाई निर्देशन दिएको प्रजिअ रिजालले बताए । उनले परीक्षामा अवरोध गर्ने जोकोहिलाई पनि तत्काल नियन्त्रणमा लिन निर्देशन दिएको बताए ।
जिल्लाको हकमा भने जनजातिको अवरोध सिर्जना हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै परीक्षा तोकिएका शैक्षिक संस्थाहरुमा ठूलो सुरक्षाकर्मी परिचालन गरिएको छ ।

तुलसीपुरमा होटेलको अभाव

एकैपटक बिसौँ हजार परीक्षार्थी दाङको तुलसीपुरमा आएपछि होटेलको अभाव भएको छ । पर्याप्त मात्रामा होटेल नहुँदा लोकसेवाको परीक्षा दिन आएका परीक्षार्थीहरुमध्य कतिपयले कोठा होटेलको अभावमा आफूहरु घोराही, लमही, भालुवाङसम्म कोठा भाडा लिएर बस्न बाध्य भएको बताएका छन् । तर कतिपयले भने आफन्तकोमा बसेको तथा कति धर्मशालामा बास बसेको बताएका छन् ।

लोकसेवा आयोग कार्यालय तुलसीपुरका प्रमुख दुर्गाप्रसाद पराजुलीले शनिवार दुईवटा सेसनमा परीक्ष ाहुन लागेको बताए । तुलसीपुरका क्षेत्रका ७७ वटा विद्यालयमा परीक्षा केन्द्र तोकिएको उनले बताए । लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी नियुक्ति गर्न विभिन्न पदका लागि गरिएको विज्ञापन अनुसार अधिकृत, नासु र खरदार पदका सबै परीक्षाहरू सञ्चालन गरेको हो ।