घोराहीमा एसिड हान्ने मिश्रलाई चार वर्ष कैद फैसला

२०७६ जेष्ठ २८, मंगलवार १८:३५ मा प्रकाशित

घोराही, २८ जेठ /

घोराहीमा एक किशोरी माथी एसिड प्रहार गरेको अभियोगमा एक जनालाई ४ बर्षपछि चार बर्ष कैद सजाय फैसला भएको छ । घोराही उपमहानगरपालिका १७ कि २द्द बर्षिया रिता चौधरी माथी एसिड प्रहार गर्ने नेपालगञ्ज उपमहानगरपालिका ६ का ३७ वर्षीय बद्रिविशाल मिश्रलाई चार वर्ष कैदको फैसला भएको हो ।

SPONSORED

 

दाङ देउखुरी जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले घोराही चौधरीमाथि एसिड प्रहार कसुरमा दोषी ठहर गर्दै मिश्रलाई चार वर्ष कैद, १ लाख जरिवाना र पीडितलाई १ लाख ४५ हजार रुपियाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने फैसला गरेको हो ।

 

SPONSORED

साथै अदालतले जरिवाना स्वरूपको १ लाख रुपैयाँ पनि पीडितलाई नै उपलब्ध गराउने फैसला गरेको श्रेस्तेदार धनीप्रसाद चपाँईले जानकारी दिनुभयो । उक्त घटनाका अन्य आरोपित घोराही १७ का २० वर्षीय विष्णु चौधरी र २८ वर्षीय सुनिल चौधरीलाई भने अदालतले सफाइ दिएको छ ।

 

२०७२ फागुन २७ गते साँझ पसलमै बसेको बेला रीता चौधरीमाथि एसिड प्रहार भएको थियो । एसिड प्रहारबाट पीडितको छाती तथा घाँटीको भाग जलेको थियो ।