प्रादेशिक अस्पतालबाट प्रसूति सेवा लिनेको संख्या बढ्दै

२०७६ बैशाख ११, बुधबार २१:५२ मा प्रकाशित

यमकला भुसाल
दाङ, बैशाख ११ ।
दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट ९ महिनाको अवधिमा २ हजार बढी महिलाले प्रसूति सेवा लिएका छन् । अस्पतालका मेडिकल रेकर्डर दुर्गा रेग्मीले चालु आर्थिक वर्ष २०७५÷०७६ को साउनदेखि चैत मसान्तसम्म ९ महिनाको अवधिमा प्रादेशिक अस्पतालबाट २ हजार २ सय २६ जना महिलाले प्रसुति सेवा लिएको जानकारी दिए ।

ति मध्ये १ हजार ७ सय ५३ जना महिलाले साधारण प्रसूति सेवा लिएका छन् भने २ सय ९८ जनाले जटिल र १ सय ७५ जना महिलाले अप्रसेनबाट प्रसूति सेवा लिएका छन् । उनका अनुसार आर्थिक वर्ष २०७३÷०७४ मा अस्पतालबाट १ हजार ६ सय ६७ जना महिलाले प्रसूति सेवा लिएका थिए भने २०७४÷०७५ मा २ हजार ५६ जना महिलाले प्रसूति सेवा लिएका थिए ।

SPONSORED

तर विगतका वर्षहरुको तुलनामा यस वर्ष प्रादेशिक अस्पतालबाट प्रसूति सेवा लिनेको संख्या दोब्बरले बढेको छ । प्रसूति सेवा लिनेहरुमा १६ वर्षदेखि ४५ बर्षसम्मका महिलाहरु रहेको र २० वर्षदेखि माथिका महिलाहरु धेरै मात्रामा रहेको रेग्मीले जानकारी दिए । अहिले प्रादेशिक अस्पतालमा जिल्लाको तुलसीपुर, घोराही, लमहीसँगै सल्यान, रोल्पा, रुकुमलगायतका जिल्लाहरुबाट प्रसूति सेवा लिन आउने गरेको उनले बताए ।

SPONSORED

उनका अनुसार बिगतको तुलनामा अहिले ग्रामीण क्षेत्रबाट प्रसूति सेवा लिन आउने महिलाहरुको संख्या पनि बढेको छ । अस्पतालले अहिले नियमित जाँच गराएका महिलालाई यातायात खर्चबाफत १ हजार तथा सुत्केरी प्रोत्साहन भत्ता ८ सय दिने गरेको र तुलसीपुर उपमहानगरपालिकाको थप गरी ५ हजार प्रोत्साहन भत्ता दिन थालेपछि अस्पतालमा गएर प्रसूति सेवा लिनको संख्या बढेको उनले बताए ।

SPONSORED