सागर थापा

प्रदेश ५ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआइजी) पिताम्बर अधिकारीले चाडपर्वमा उछ्खल्न गतिविधि गर्ने छुट कसैलाई नहुने बताएका छन् । उनले तिहार छठ नेपालसम्बत जस्ता चाडपर्वको मौकामा संगठित अपराध गर्नेहरु कानुनी कठघरमा ल्याएरै छाड्ने ठोकुवा गरे । रिपोटर्स क्लव प्रदेश ५ को साक्षात्कार कार्यक्रममा बोल्दै उनले जनताको जनधनको सुरक्षाका लागि प्रहरी प्रशासन प्रतिबद्ध रहेको बताए । उनले सुरक्षाविना विकास सम्भव नभएको प्रष्ट गर्दै नेपाल प्रहरीले समग्र नागरिकको सहकार्य चाहेको बताए ।

‘पटका ल्याउन, बेच्न, पड्काउन केही गर्न पनि पाइँदैन, यो ५ दिनको अवधिमा २ लाख २७ हजार ५ सय १७ मूल्यको वरावरको पटका बरामद गरेका छौं ।’ पक्राउ परेकाहरुलाइ बिस्पोटक पदार्थ सम्बन्धि मुद्धा दर्ता भैसकेको उनले बताए ।

प्रदेश ५ मा ५० लाख जनसंख्याको लािग १० हजार प्रहरी मात्रै रहेको भन्दै यो संख्या थोरै भएकाले समयसापेक्ष बनाउनुपर्ने बताए । ‘शान्ति सुरक्षा र अपराध नियन्त्रणको काम र कर्तव्यमा कोहि पनि विचलित हुनुहुन्न, कहिकतै अवाञ्छित घटना हुन दिन्नौं’, उनले भने । प्रदेश न ५ मा ठूला व्यपारिक नाका रहेको भन्दै उनले सडकमा हुने अराजकता पनि रोक्ने प्रतिबद्धता जनाए ।

‘सीमा क्षेत्रबाट ठूला–ठूला ट्रक पनि छोप्यौं, ओभरलोड बोक्ने नियन्त्रणमा राखेका छौं, सडकमा कानुनको खिल्ली उठाउने कसैलाइ अधिकार छैन ।’ उनले प्रदेश ५ मा ट्राफिक व्यवस्थापनमा नयाँ ठोस योजनामा नयाँ नियम ल्याउँदै गरेको समेत जानकारी दिए । उपमहानगरहरुमा नो हर्न एरिया तोक्ने र स्पिड नियन्त्रण गर्ने अभियान केहि दिनमा शुरु हुने उनको भनाइ छ । ‘यो प्रदेशमा मुख्य गरि लागू औषध, सवारी दुर्घटना र महिला हिंसा सबैभन्दा चुनौतीको रुपमा छन्, हामीले यसलाई न्यूनिकरणतर्फ रणनीतिनै बनाएर लागेका छौं ।’