विमानस्थलमै सड्यो नुन, हुम्लाका जनता अलिनाे खान बाध्य !

२०७४ माघ ६, शनिबार ०७:३९ मा प्रकाशित

नर्जन तामाङ
हुम्ला, ६ माघ । नेपाल सरकारले हुम्ली जनताको लागि सहुलियत दरमा उपलब्ध गराएको नुन सुर्खेत र जुम्लामा अलपत्र परेको छ । ठेकेदारले समयमै हवाई ढुवानी गर्न नसकेपछि साल्ट ट्रेडिङ्ग कर्पोरेसनबाट ठेक्कामा लिएको नुन सुर्खेत र जुम्लाको विमानस्थलमा अलपत्र परेको हो ।

नुन समयमै ढुवानी गर्न नसक्दा विमानस्थलमा सडेको पाइएको छ । विमानस्थल बाहिर रहेका नुनका बोरा च्यातिएर घाम, पानीले गर्दा सडेको अवस्थामा रहेको छ । आर्थिक वर्ष २०७३/०७४ मा ढुवानी गरिनु पर्ने नुन जिल्लामा नपुग्दै काम नलाग्ने अवस्थामा पुग्नु ठेकेदारको चरम लापरवाहीले भएको स्थानीयको आरोप रहेको छ ।

SPONSORED

निर कार्गो सर्भिसकी सञ्चालक निर्मला महतका श्रीमान् तेजबहादुर महतले हुम्लाको लागि ४ हजार क्वीन्टल नुन, ८ हजार १५ रुपैयाँ प्रति क्वीन्टल ठेक्कामा लिएको तर समयमा ढुवानी गर्न नसक्दा बेवारिसे अवस्थामा रहेको पाईएको छ । ठेकेदारले अहिलेसम्म २ हजार क्वीन्टल नुन मात्र जिल्लामा ढुवानी गरेको साल्ट ट्रेडिङ्ग कर्पोरेसन हुम्लाका प्रमुख राजबहादुर लामाले जानकारी दिएका छन् ।

SPONSORED

नेपाल सरकारले हुम्ला लगायत अन्य दुर्गम जिल्लामा सहुलियत दरमा भानु ब्राण्डको नुन विक्री वितरण गर्दै आएको छ । साल्ट ट्रेडिङ्ग कर्पोरेसनले हुम्लामा प्रति किलो नुनको ९ रुपैयाँमा विक्री गर्ने गरेको छ । सहुलियत दरमा उपलब्ध हुने नुन हुम्लाका ४ स्थान श्रीनगर, सर्केगाड, हिल्सा र सिमिकोटबाट विक्री वितरण हुने गरेको छ ।

SPONSORED

नुनको आयोडिन ल्याबमा परिक्षण गरी साल्ट्र ट्रेडिङ्ग फिर्ता लिने
२ हजार क्वीन्टल नुन ढुवानी भईसकेको र बाँकी २ हजार क्वीन्टललाई ल्याब परिक्षण गरी फिर्ता लिनको लागि कर्पोरेसन तयार भएको नेपाल साल्ट ट्रेडिङ्ग, क्षेत्रीय कार्यालय, नेपालगञ्जका प्रमुख मनोज चौधरीले जानकारी दिएका छन् ।

ठेकेदारले नुन कार्यालयबाट किनेर लगिसकेको तर हुम्लामा पुगेपछि मात्र सोको ढुवानी दाबी गर्न सक्ने प्रावधान भएको चौधरीले बताए । आयोडिन युक्त नुनको समयावधी २ वर्षको हुने र आयोडिन उडेर नगएमा यसको पुःन प्रयोग गर्न मिल्ने समेत चौधरीको भनाईको रहेको छ ।

हुम्लामा सर्वसाधारणलाई नुनको समस्या
नेपाल सरकारले हरेक वर्ष हवाई र स्थलमार्गबाट नुनको ढुवानी गर्ने गरेको भएतापनि नुनका ठेकेदारले बेलैमा ढुवानी गर्न नसक्दा उपभोक्तालाई समस्या पर्ने गरेको छ । ठेकेदारले आफ्नो फाईदा अनुकुल काम गर्ने गरेको र सर्वसाधरणलाई नुनको जहिले पनि अभाव हुने गरेको स्थानियबासीहरुको गुनासो रहेको छ ।

हुम्लाको नुन जुम्ला र नेपालगञ्जमा बेवारिसे हुनु तर हुम्लीले चाहेको नुन प्राप्त गर्न नसक्नु दुर्भाग्य रहेको चंखेली गाउँपालिका-१ का तिलक बोहोराले बताए ।

१८ दिन लगाएर चीनको ताक्लाकोटबाट नुन ल्याउन बाध्य

सरकारले दिने सहुलियत दरको नुन समयमै नपाउँदा १८ दिन लगाएर भेडाबाख्रामा बोकाएर चीनको ताक्लाकोट जानु पर्ने बाध्यता यहाँका स्थानीयलाई छ । सर्केगाड गाउँपालिका वडा नं. ८ का कल बहादुर ऐडी भन्छन्– ‘भेडा बाख्रा, बस्तुभाउ पालेको छु, नुन धेरै चाहिन्छ, तर नजिक रहेको वितरण केन्द्र सर्केगाडमा कहिले नुन आउँछ र वितरण हुन्छ थाहा हुँदैन ।’

                                                                                           नयाँ पत्रिकाबाट