स्थानीय निकायका उमेदवारकै खर्च विवरण बुझाउन बाँकी

२०७४ पुष १९, बुधबार ०७:४७ मा प्रकाशित

महराको २१ लाख र पोखरेलको १५ लाख खर्च

प्रेमबहादुर राम्जा
दाङ, १९ पुस । स्थानीय तहमा उमेदवार बनेका सात सय भन्दा बढीले निर्वाचनको खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाएका छैनन् । निर्बाचन सम्पन्न भएको छ महिनाभन्दा बढी वितीसक्दा अहिलेसम्म सात सय १५ जनाले निर्बाचन खर्च नबुझाएको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको हो ।

SPONSORED

गत असार १४ गते भएको निर्बाचनमा दुई हजार तीन सय ८२ जना उमेदवार बनेका थिए । त्यसमध्ये एक हजार छ सय ६७ जनाले निर्वाचन खर्च विवरण पेश गरेको जिल्ला निर्बाचन कार्यालय दाङले जनाएको छ । खर्च विवरण नबुझाउनेमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका दलका नेताहरु रहेका छन् ।

SPONSORED

निर्बाचन सम्पन्न भएको ३५ दिनमा खर्च बिबरण बुझाउनुपर्ने ब्यबस्था भए पनि छ महिनासम्म सात सय १५ जनाले खर्च बिबरण नबुझाएको जिल्ला निर्बाचन कार्यालय दाङले जनाएको छ । जिल्ला निर्वाचन कार्यालय दाङका अनुसार नेपाली काँग्रेसका ९६, नेकपा एमालेका एक सय ५९, नेकपा माओवादी केन्द्रका दुई सय ४ जना, राप्रपाका ९६ जनाले खर्च विवरण बुझाउन बाँकी रहेको छ ।

SPONSORED

त्यसैगरी संघीय समाजबादी फोरमका १५, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका ४०, नेकपा मालेका १, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १, नयाँ शक्ति पार्टीका २९ र स्वतन्त्र रुपमा उमेदवार बनेका ७४ जनाले खर्च विवरण पेश गर्न बाँकी रहेको जिल्ला निर्वाचन कार्यालय दाङका प्रमुख विजयकुमार कार्कीले जानकारी दिनुभएको छ ।

खर्च विवरण नबुझाएकाहरुका लागि निर्बाचन आयोगले सुचना प्रकाशन गर्ने र त्यति गर्दा पनि खर्च विवरण नबुझाएमा नियम अनुसार कारबाही स्वरुप जरिवाना गर्ने नियम रहेको प्रमुख कार्कीको भनाई रहेको छ ।

दाङमा स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले पाँच सय २०, नेकपा एमालेले पाँच सय १८, नेकपा माओवादी केन्द्रले पाँच सय १८, राप्रपाले दुई सय ७६, राष्ट्रिय जनमोर्चाले एक सय ९८ जनाले उमेदवार उठाएका थिए । त्यसैगरी संघीय समाजबादीले ३५, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले ८८, नेकपा मालेले २१, राष्ट्रिय जनमुक्ति पार्टीले ८०, नयाँ शक्ति पार्टीले ८६, संघीय लोकतान्त्रिक मञ्चले १३, राष्ट्रिय जनजागरण पार्टी नेपालले ६ र परिवार दलले २ उमेदवार बनाएको थियो । यस्तै स्वतन्त्र रुपमा ८६ जनाले उमेदवार बनेका थिए ।

यता गत मंसिर २१ गते भएको प्रतिनीधिसभा सदस्यका लागि उमेदवार बन्नुभएका नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको निर्वाचन खर्च २१ लाख रहेको छ । जिल्ला निर्वाचन कार्यालयमा बुझाएको खर्च विवरणमा महराको खर्च २१ लाख २८ हजार रहेको छ । गाडी, घोषणा पत्र, ईन्धनलगायतका क्षेत्रमा उक्त रकम खर्च भएको उल्लेख गरिएको छ ।

त्यसैगरी नेकपा एमालेका नेता शंकर पोखरेलको निर्वाचन खर्च १५ लाख रहेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रदेशसभा सदस्यका उमेदवार बनेका पोखरेलले निर्वाचनमा १५ लाख खर्च भएको विवरण जिल्ला निर्वाचन कार्यालयमा पेश गर्नुभएको छ । उहाँले पनि गाडी, ईन्धन, घोषणा पत्र, प्रचारमा उक्त रकम खर्च भएको उल्लेख गर्नुभएको छ ।

जिल्ला निर्वाचन कार्यालयमा प्रतिनीधिसभा तर्फका चार जना र प्रदेशसभा तर्फका पाँच जनाले निर्वाचनको खर्च विवरण पेश गरेका छन् । प्रतिनीधि र प्रदेशसभा सदस्यका लागि उमेदवार बनेका ८१ जनामध्ये नौँ जनाले खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको हो ।

जिल्ला निर्वाचन कार्यालय दाङका अनुसार अहिलेसम्म प्रतिनीधिसभा सदस्य तर्फ उमेदवार बनेका नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा, नेपाली काँग्रेसका उमेदवार राजु खनाल, राष्ट्रिय जनमोर्चाका गणेशप्रसाद आचार्य र राष्ट्रिय जनमुक्ति पार्टीका ठाकुर रोकाले खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाउनुभएको हो ।

यस्तै प्रदेशसभा सदस्य तर्फ नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेल, नेकपा माओवादी केन्द्रका ईन्द्रजित चौधरी, राष्ट्रिय जनमोर्चाका खडानन्द खनाल, टीकाबहादुर विक र नयाँ शक्तिकी पद्मा बानियाले खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ । अझै ७२ जनाले खर्च विवरण बुझाउन बाँकी रहेको छ । निर्वाचन नियम अनुसार प्रतिनीधि सभा सदस्यका उमेदवारले २५ लाख र प्रदेशसभा सदस्यका उमेदवारले १५ लाख खर्च गर्न पाउने ब्यबस्था रहेको छ ।                                                राप्ती पोष्टबाट