स्वर्गद्वारी आश्रमको जमिनमा व्यक्तिको रजाई, आश्रमको जमिन कम मुल्यमा भाडामा लिएर बढी मूल्यमा भाडा लगाएको रहस्य

दाङ। जग्गा स्वर्गद्वारी आश्रमको । जग्गा भाडामा दिनुपर्ने पनि आश्रमले नै हो । कमाई पनि आश्रमले लिनुपर्ने हो । तर घोराहीको रतनपुरमा रहेको स्वर्गद्वारी आश्रमको जग्गामा अरुको रजाई चलेको छ । आश्रमले थोरै भाडा पाएको छ तर त्यो भन्दा झण्डै दुई गुणा बढी भाडा व्यक्तिले असुल गरेको पाइएको छ ।
घोराही उपमहानगरपालिका—१४ मा रहेको कित्ता नं। ४८६ र ४८७ लाई भाडामा लगाउनका लागि आश्रमले खोलेको टेण्डरमा कसैको पनि निवेदन नपरेपछि पछि एकजना व्यक्तिले चलखेल गरेर बढी मूल्यमा व्यवसायीलाई भाडामा लगाएको खुलेको छ । दुईवटा कित्ता मध्य एक बिगाहा १६ धुर रहेको कित्ता नं। ४८७ को जमिनबाट आश्रमले मासिक प्रतिकट्ठा तीन हजार पाँच सय पाउने गरी सर्त भएको तर हाल व्यवसायीले आठ हजार पाँच सयमा भाडामा ल्याएको जानकारी प्राप्त भएको छ ।
पहिलो पक्षका रुपमा रहेको आश्रमको उक्त जग्गामा घोराही बजारका ग्रिल व्यवसायीलाई राख्ने भनिएको थियो । सोही प्रयोजनका लागि घोराही उपमहानगरपालिका वडा नं। १४ले भाडामा लियो । स्थानीयको विरोध अनि व्यवसायीको असहमति भएपछि उक्त जमिनलाई वडाले टोल विकास संस्थालाई दियो । टोल विकास संस्थाबाट एक जना व्यक्तिले विचौलियाका रुपमा भूमिका खेलेर त्यहि जमिनलाई प्रतिकट्ठा मासिक आठ हजार पाँच सयमा भाडा लगाएका छन् ।

घोराही तुलसीपुर सडकको पूर्व र पश्चिम तर्फको दुईवटै कित्ता जमिनबाट आश्रमले थोरै भाडा पाउने तर चौथो ब्यक्तिले कमाउने गरेको रहस्य खुलेको छ । आश्रमको नाममा रहेको उक्त जग्गालाई बजारीकरणका लागि घोराही उपमहानगरपालिका—१४ ले जिम्मा लिएको भएपनि टोल बिकास सस्था मार्फत् चौथो ब्यक्तिले मुनाफा लिने गरेको पाइएको छ ।
आश्रमले जग्गा भाडामा दिनका लागि केही महिना पहिले सूचना प्रकाशन गरे पनि कुनै पनि निबेदन नआएपछि वडा कार्यालयले गत जेठ महिनामा वडा कार्यालयले झिंगौरा टोल बिकास सस्थालाई जिम्मा दिने निर्णय गरेको थियो । आश्रमले जमिन भाडामा दिने भनेर टेण्डर आह्वान गर्दा एक जना व्यवसायीले टेण्डर भर्न खोज्दा पनि पाएका थिएनन् । टेण्डर नपरेको भनेपछि घोराहीको वडा नं। १४ ले उक्त जमिनलाई ग्रिल व्यवसायीलाई व्यवस्थित गर्ने योजना बनाएको थियो । ग्रिल व्यवसायीले बस्न नमानेपछि वडाले झिंगौरा टोल बिकास सँस्थालाई मासिक दुई सय ५० रुपैया बढीमा दिएको थियो । टोल विकास संस्थाले वडा कार्यालयसंग संझौता गरेर लिएको उक्त जमिनलाई टोलले भने विना सँझौता व्यक्तिलाई दिएको र अनाधिकृत व्यक्तिले संझौता गरेर व्यवसायीलाई भाडा दिएका छन् ।
घोराही उपमहानगरपालिका—१४ क्षेत्रभित्र रहेको जग्गामा ग्रील ब्यबसायीलाई ब्यबस्थापन गर्ने गरी तयारी गरिए पनि त्यो सफल हुन सकेको छैन । वडाले ग्रिल व्यवसायीलाई राख्ने भनेपनि त्यो काम हुन सकेको छैन । तर टोल विकास संस्थाबाट जिम्मेवारी लिएका स्वर्गद्वारी आश्रमका मोही समेत रहेका सोही ठाउँ निवासी लिला चौधरीले जिम्मा दिएर घोराहीकै अटो ब्यबसायी बिपीन श्रेष्ठलाई जमिन भाडामा लगाएका छन् । आश्रमले तीन हजार पाँच सय मात्र पाउने जमिनका लागि श्रेष्ठले मानिस आठ हजार पाँच सय तिर्नुपर्ने भएको छ । यसबाट व्यक्ति मोटाउने खेल भएको छ भने आश्रमलाई घाटा लागेको छ ।

आश्रमको जमिन भाडामा लगाउने बारेमा टेण्डर आह्वान भएपछि वडा नं। १४ को पहलमा छलफल गरिएको थियो । वडास्तरको सर्बपक्षीय छलफलमा उक्त जग्गामा ग्रिल व्यवसायीलाई राख्ने निर्णय भएको थियो । पछि ग्रिल व्यवसायीहरु जान नमानेको कुरा आयो । ग्रिल व्यवसायीहरुले सडकको नजिकको भएको, विद्युतको समस्या हुने, आफ्नो घरमा उद्योग चलाइरहेकाले अनेत्र जान समस्या हुने बताएपछि वडा कार्यालयले जमिनको व्यवस्थापन गर्ने जिम्मेवारी टोल विकास संस्थालाई दिएको थियो । वडाध्यक्ष शक्तिराम डाँगीका अनुसार टोल विकास संस्थासंग ग्रिल व्यवसायीका लागि अनेत्र जमिन खोज्ने बारेमा छलफल भएको िथयो । हाल व्यवसायीलाई भाडामा दिइएको जमिनबाट आउने थोरै भएपनि रकम टोल विकास संस्थाको खातामा जाने र आश्रमकै अनेत्रको जमिन ग्रिल व्यवसायीका लागि व्यवस्थापन गर्ने निर्णय भएको डाँगीले जानकारी दिनुभयो । टोल विकास संस्थाले व्यक्तिलाई दिएर व्यक्तिले चर्को भाडा उठाएको बारमो भने आफूलाई थाहा नभएको डाँगीले बताउनुभयो ।
वडामा भएको छलफलले तीन हजार सात सय ५० रुपैयाका दरले टोल विकास संस्थालाई लिजमा दिने र टोलले हरेक महिना वडामा राजश्व बुझाउने सर्त भएको थियो । यसका बारेमा झिंगौरा टोल विकास संस्थाका अध्यक्ष बलबहादुर चौधरीसंग सम्पर्क राख्दा जमिनको व्यवस्थापन गर्ने जिम्मेवारी लिलाराम चौधरीलाई दिएको बताउनुभयो । टोल विकास संस्थाले लिलारामसंग सँझौता गरेको वा नगरेको भन्ने बारेमा भने अध्यक्ष चौधरीले केही खुलाउनुभएको छैन ।
टोल बिकास संस्थाले लिलारामलाई जमिनको भाडा उठाउने जिम्मा दिएको वा व्यक्तिसंग सँझौता गर्ने अधिकार समेत दिएको भन्ने बारेमा टोल विकास संस्थाले केही पनि बताएको छैन । तर आश्रमको जमिनमा व्यक्ति हावी भइदिंदा जमिनको भाडा बापतको रकम पाउनबाट स्वर्गद्वारी आश्रम बञ्चित भएको छ ।
यद्यपी चौधरीले ब्यबसायी बिपिन श्रेष्ठलाई मासिक प्रतिकट्टा आठ हजार पाँच रुपैया तिर्ने गरी लिजमा लिने गरी सम्झौता गर्नुभएको छ । सँझौता पत्रमा लिलाराम चौधरीसंग साउन १ गतेदेखि लागु हुने गरी सम्झौता भएको छ । चौधरीले उक्त जग्गा अर्को ब्यवसायिलाई १५ बर्षसम्मका लागि दिने सम्झौता गर्नुभएको छ भने प्रत्येक दुई बर्षमा दश प्रतिशतका दरले रकम बृद्धि गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।
टोल बिकास सस्थाका अध्यक्ष बलबहादुर चौधरीले लिलाराम चौधरी र टोल बिकास संस्थाबीच सम्झौता भएको बताउनुभएको छ । तर कति रकममा टोल बिकास सस्थाले चौधरीसंग सम्झौता गरेको छ भन्ने बारेमा स्पष्ट नपार्दा यो विषय रहस्यमय बनेको छ । आश्रमको जग्गा वडा हुँदै टोल बिकास सँस्थाबाट ब्यक्ति हुँदै व्यवसायीमा गएर सम्झौता भएको देखिएको छ ।
यता घोराही उपमहानगरपालिका—१४ का वडाध्यक्ष शक्तिराम डाँगीले जग्गालाई ब्यबस्थापनका लागि वडाले जिम्मा लिएर टोल बिकास संस्थालाई दिएको भन्दै अरु के भइरहेको छ भन्ने बारेमा केही जानकारी नभएको जानकारी दिनुभएको छ । जग्गा भाडामा दिने र उक्त क्षेत्रमा बजार ब्यबस्थापनका लागि पहल गरेको भन्दै वडाध्यक्ष डाँगीले हाल वडाले बहाल कर र मालपोत बापतको कर उठाउने जानकारी दिनुभयो । यस विषयमा थप जिज्ञाशा राख्नका लागि पटक–पटक फोन गर्दा पनि घोराही १४ का वडा अध्यक्ष शक्तिराम डाँगि फोन सम्पर्कमा आउनु भएन् । उहालाई ९८५७८१५०१४ मा डाँगिलाई धेरै पटक फोन गर्दा उहाको मोवाइल फोन उठाउनु भएन् । उहा यस वारेमा बुझ्न खोज्दा सम्पर्कमा नआउन खोजेपछि उहाँप्रति आंशका गर्न यसले वल पुर्याएको छ । प्रेमबहादुर राम्जा राप्ती पोष्ट राष्ट्रिय दैनिकबाट