दुर पहाडमा जन्मिएर
बन बुटी र कन्दमुल खाँदै शैशवकाल बिताएको
एक थान किशोर ।

जसलाई
कहिल्यै समस्या, अभाव र पीडाले छोडेनन ।
आफ्नै छाँया जस्तै साथ नछाड्ने दु:ख
आँखा खोल्न बित्तिकै नजर लाग्ने वेदना
सुख्खा बालुवामा छटपटाइरहेको माछाको जस्तै पीडा
यी यावत कुरा संधै संधै साथ रहे ।
र पनि
एक जवान
जीवनको सगरमाथा चढ्न कहिल्यै थाकेन ।

न भोक
न प्यास
न थकान
न आवेग
न संवेग
आफ्नै गतिमा
उ चढी रह्यो भविष्यको लेकाली
अगेनामा बसेका आफ्ना सुन्दर
बचराको भविष्य सम्झेर ।

उसलाई पनि हुँदोहो
आफ्ना बचरा संग संगै गुडमा बस्ने चाहा
उसलाई पनि हुँदोहो पिठ्युँमा बचरा बोकेर पारी क्षितिज पुग्ने चाहा

तर
त्याग्यो उस्ले आफ्ना निजी रहर
उसले आफ्नो निजी केही ठानेन
र त हिड्यो राष्ट्र सेवामा

पायो परिणाम
गोरखा दक्षिण बाहुको एक थान तक्मा
अनि
हिड्यो अझै अनवरत राष्ट्र सेवामा
सम्झ्यो मेरो सम्पत्ति यो सिंगो राष्ट्र
म राष्ट्र संरक्षणको एक सच्चा पहरेदार

बडेमानका तारे भिरको खोंचबाट जन्मिएको
कुशल छोरो
बिरामी हुँदा यार्सा र सिलाजित खाँदै
हुर्केको एक जवान
ढाँटछल गर्न कहिल्यै जानेन
सिदा सिदा हिड्यो आफ्नो बाटो

कहिले कौसी र मझेरीमा पल्टिदै
कहिले हुस्सु र कुहिरोमा मडारिदै
अनवरत – अनवरत
अनि चुम्यो
सफलताको अर्को चुचुरो
पायो जन सेवा श्री पदकको
अर्को आभुषण
र थप्यो अर्को उर्जा ।

अझै
अझै चुम्नुछ तिमिले
सफलताका सैयौं चुचुरा
जीवनको आफ्नो गोरेटो केही दुरी मात्र चढ्यौ
हजार माइल चढ्न अझै बाँकी छ ।

रुकुमेली
यो जन्मभुमिको कसम
तिमी अझै अगाडि बढ
राष्ट्र सेवामा ।
म छाती खोलेर गर्व गर्न सकु
तिम्रो नाबी गाडिएको माटो
यहि मेरो मातृभूमिको हो ।
तिमिले फेरेको पहिलो श्वास
यहि मेरो हावामा मडारिएको छ ।
तिम्रो पहिलो पदचापको छाप
यी मेरा पथ्थरमा अझै ताजै छन ।
तिमिले पिएको झरणाको पानी
अझै उस्तै कलकलाउदै छ ।
बढ तिमी अनवरत अगाडि
अझै चुम्नुछ
सफलताका हजारौं सगरमाथा ।
अझै फोड्नु छ
सफलताका लाखौं चुरे पहाड ।
अझै तर्नु छ सफलताका करोडौं नायल ।

@ केशरमान बुढाथोकी