दीपक जी.एम ” आर्जव ”

दिन सधँै एकनासको हुँदो रहेनछ । ती दिनहरु थिए जब म उनलाई प्रत्येक दिन देख्ने गर्दथे र उनको मुहार हेर्न भौतारिने गर्दथे । तर, समयसँगै उनको एक झल पाउन पनि गाह्रो हुँदै गयो । मन खिन्न हुन थाल्यो । सायद मनलाई थाम्न साह्रो भइसकेको थियो ।

राहुल मेरो अतिनै मिल्ने साथी । मेरो सुख दुःखमा हरपल साथ दिनुहुन्थ्यो । सायद् उहाँ जति मलाई अरु कसैले पनि बुझेको थिएन । म अनि राहुल सधैँ पूजाको घरको छेउमा रहेको गल्लीमा कहिले माथि त कहिले तल गर्दथ्यौं–केवल उनको एक झलकका लागि………….।
मन साह्रै व्याकुल हुने बेलाबेलामा, तर पनि आफूलाई सम्हाल्न नसकी म राहुलको साथ लिई उनको मुहार हेर्न भए पनि गल्ली धाउने गर्दथँे । शनिबारको दिन म राहुलको घरमा पुगँे र राहुलसँग सल्लाह गरी उहाँसँग पूजाको घरतिर लागँे । गल्ली हुँदै अलि माथि पुगेको मात्र थिएँ कि मैले पूजालाई छतमा दुई चुल्ठी बाट्दै गरेको देखेँ । ‘आहा ! कस्तो हसिलो मुहार अनि हसिलो पनि त्यही माथि दुई चुल्ठीमा कति सुहाएको’, यो सोच्दै म भने मख्ख परि हेरिरहेँ ।

समय सँगसँगै मेरो र उनको प्रेम सम्बन्ध बाँधिएको पनि दुई वर्ष भयो । उनीसँगको साथ मलाई अतिनै रमणीय लाग्दथ्यो । साँच्चै भन्नु पर्दा उनी मेरा लागि लक्की थिइन् । उनी मेरो जीवनमा आएदेखि हरेक थोक सकारात्मक भएका थिए र एउटा खुसाहाल जीवन मैले बिताइरहेको थिएँ । समय बित्दै गए ।
एकदिन उनको बिहे हुने पक्का भयो । मेरो हातमा केही थिएन । किनकी म आफैमा परिपक्व थिएन । त्यसैले म उनको बाटो छेकी बस्न सक्दैनथेँ । त्यही भएर म बाटोबाट पन्छिई उनलाई एउटा खुसाहाल जीवनको शुभकामना बाहेक केही दिन सक्दैनथेँ । आखिर त्यो दिन पनि आयो । र उनको विवाह सम्पन्न पनि भयो । म भने टाढैबाट उनलाई दाम्पत्य जीवनको सुखमय शुभकामना दिँदै गहभरि आँसु लिई फर्किएँ ।

घर पुगेपछि ढोका लगाई रुँदै आफूलाई धिक्कार्न थालेँ । सायद् मलाई जीवनको कुनै पनि औचित्य थिएन । त्यसैले एउटा पक्को निर्णय लिन सकेन । कति अभागी रहेछु म । उनी गएको हेर्नु बाहेक कुनै बिकल्प थिएन । जीवनको मोडमा मलाई नै किन एक्लो हुनुपर्छ । जसलाई आफ्नो सोचेको हुन्छु उसले नै साथ छोडेर जान्छ । तर, पनि यो पापी मनले उसलाई नै सबथोक ठानेको हुन्छ । जससामु आफ्नो व्यथा पोख्छु भन्छु ऊ नै टाढिएझंै लाग्छ । के उनलाई यो निरन्तर जीवन भोगाईमा केही क्षण मसँग बिताउँझंै लाग्दैन होला र…. । समय र परिस्थितिले नै हामी नजिकिन्छौं र टाढिन्छौ पनि । तर, पनि कुनै अभिलाषाको सिर्जना नै हामीमा छैन भने कसरी हामीले यसको उचित निवारण गर्न सक्छौं । कसैको जीवनका पानासँग जोडिन साह्रै नै सजिलो । तर, जब यो पानालाई डायरी माझबाट निष्कृय गराइन्छ तब जीवनको कुनै कुरा अपूर्ण भएझंै लाग्छ । तर, पनि केही क्षण पश्चात् फेरि जीवन रमझममा आफूलाई डुबाएर ती अतितका व्यथालाई व्यर्थैमा अंगालिए झंै लाग्छ । सायद् यही नै जीवनको उत्प्रेरक दृष्टिकोण हो । जसलाई नियाल्न अप्ठ्यारो छ छैन ।

तर, पनि हेर्नकै निम्ति उसलाई मात्र मनको हेराई को साहारा लिनु पर्दो रहेछ ।कहिलेकाही आफूलाई देख्दा नै घृणा जागेर आउँछ । आफूमा कतिपय कुराहरु अपुग भएझंै लाग्छ । जीवनको लक्ष्य प्राप्तिमा एकपटक असफल त भइहालेँ । तर, अब फेरि उनको नजिक जान पनि गाह्रो महसुस गर्दैछु । आखिर संघर्षको के नै अर्थ रह्यो र । मलाई त केही पूर्ण हुन्छ जस्तो लाग्दैन । मात्र कल्पना गर्न सक्ने क्षमता……….. । हाँसो लागेर आउँछ कहिलेकाँही आफ्नो जीवनका पाना पल्टाउँदा, रुन पनि त सक्दैन…। के उनलाई आभाष होला त यी सबै थोकको । सक्दिन म उनलाई भन्न पनि । आफूसँग रहेको दुःख उनीसँग बाड्नु भनेको उनलाई चोट पु¥याउनु हो । उनलाई चोट दिएर म कसरी खुसी हुन सक्छु ।

म त उनलाई खुसी देख्न चाहान्छु न कि दुखी । सम्झना, माया, स्नेह इत्यादि मनका तृष्णाहरु जसको सुन्दर संसार हुन्छ । र यसमा रम्न रमणीय भावनाको आवश्यकता पर्दछ । सायद् अनुभवको संसारमा आफूलाई सिंगार्न आवश्यक पनि छ । तर, पनि कति गाह्रो हँुदो रहेछ एकअर्का विना जीउन । खुसी सधैँसँगै हुने भैदिने भए किन विवसताको कारण टाढिनु पर्दो हो र हामीलाई । सधँै एकाग्र भई नानाथरीका कुराहरु मात्र खेलिरहन्छन्–यो मनमा । उनको विवाह भएको पनि पाँच वर्ष बितिसकेछ । समय कति चाँडै बित्दो रहेछ । तीजको रमझम चारैतिर छाइसकेको थियो । बजारमा किनमेल बढ्दै गएको र बैंकहरुमा मानिसहरुको घुइचो बढ्दै थियो । बजारको चहलपहल देखेर रमाइलो लागिरहेको बेलामा एक्कासी मेरो आँखा पूजामाथि ठोक्कीन गयो । मनको ढुकढुकी बढ्न थाल्यो । अनि उनी माथिबाट नजर नै हटेन । साह्रै उत्साहित थिएँ–म । कि एक्कासी उनी अलप भइन् । मेरा नयनहरु उनलाई चारैतिर खोज्न थालेँ ।

 

तर, भेटाउन सकेन । कता गइहोलिन् भन्दै म नजिकैको अस्पतालभित्र छिरँे । तर, पनि उनको कुनै अत्तोपत्तो थिएन । मन क्षणभरमै व्याकुल अनि खिन्न भयो । निराश भएर म घरतिर फर्किएँ । दर खाने दिन पनि आयो । साथी सन्तोष अनि आशिषसँग म नाच हेर्न गुलरिया पुगेँ । नाचमा ठूलो घुइँचो थियो । जहाँ नाच्नलाई महिलाहरुको तछाडमछाड भइरहेको थियो । हामी पनि त्यस भीडलाई चिर्दै अगाडि बढ्यौं । जहाँ सुन्दर सुन्दर युवतीहरुको ताँती थियो । नाँच हेर्दै जाने क्रममा मेरो आँखा पुजाको आँखा संग जुध्यो । म मख्ख परी उनलाई हेरि रहे । घरी उनी यता घरी उता । सायद् भीडले गर्दा होला । उनलाई असजिलो भइरहेको थियो । मैले इशारा गर्दै उनलाई आफूतिर बोलाएँ । तर, उनी लजाउँदै शिर निहुराइन् । म भने उनलाई एकटकसँग हेरिरहेँ । केही समयपछि आफ्ना संगिनीहरुसँग खासखुस गर्दै उनी त्यो भीडबाट निस्किइन् । अनि उनी मेरो अघिअघि बाटो लागिन् ।

मैले उनलाई नजिकैको होटलमा छिरेको देखेँ र म पनि छिरेँ–उही होटेलमा । उनी चिसो खाँदै थिइन् । म नजिकै गएर उनको छेउमा बसँे । अनी मुस्कुराउँदै सोधँे । ‘के छ पुजा ?’ उनले शिर हल्लाउँदै ठिक छ भनिन् । यसै क्रममा हामीबीच कुराकानीको शिलशिला अगाडि बढ्यो । निकै बेरसम्म उनीसँग जीवनका मिठामिठा गफ गर्दै समय बितेको थाहै भएन । एक्कासी उनले ला… रात परिसक्यो । म जान अबेर हुन्छ अब जान्छु भन्दै उठिन् । एकछिन बस न भन्दै मैले उनलाई नजान आग्रह गरँे । तर, उनी ढिपी गरिरहिन् । र मोवाइल झिक्दै फोन हानिन् । उताबाट फोन नउठेपछि उनी झन् आत्तिइन् । र घर जान ढिलो भैसक्यो । अनि आठ पनि बजिसकेछ भन्न थालिन् । म पु¥याइदिन्छु नआत्तिऊ पूजा भनेर सान्त्वना दिएँ । तर, उनी हैन भैगो म गैहाल्छु भन्न थालिन् । धेरैबेरको करपछि बल्ल उनले सहमत जनाइन् । मैले बाइक स्टाट गरेँ उनी मेरो पछाडि बसिन् र हामी अघि बढ्यांै । नाच हेर्न जाऊँ अम्बापुरतिर भन्दै हामी उतै लाग्यौं । मन्दिरको छेवैमा नाच भइरहेको रहेछ । एकछिन हामी त्यही नाच हेर्दै रमाइलो गर्न थाल्यौं ।

पूजा त झन् नाँच्न पो थालिन् । साह्रै मिजासिली किसिमकी पूजा । साथै आज उनको रुपको वर्णन गर्न सक्ने क्षमता पनि थिएन ममा । साक्षात् स्वर्गकी अप्सरा झैं….। घडी हेर्दा रातको नौ बजिसकेको थियो । हामी त्यहाँबाट निस्किएर भरतपुरतिर लाग्यौं । जहाँ मेरा आफन्तीहरु बस्दथे । भरतपुरको उकालो चढ्न मात्र के लागेको थिएँ कि एक्कासी अगाडिबाट एउटा बाइक आयो र हेलो दीपक भन्दै सम्बोधन ग¥यो । म बाइक रोकेर यसो फर्किएर हेर्दा किरणलाई देखेँ । ओहो दोस्ती के छ भनेर हात मिलाएँ । हामीलाई देखेर किरणले कहाँबाट आएको भनेर प्रश्न गरे । उनको प्रश्नको जवाफमा मैले नाँच हेरेर फर्किएको र अब आन्टिकोमा जान लागेको आज उतै बस्ने हो भन्ने जानकारी दिएँ । मेरो जवाफ भूइमा खस्न नपाउँदै किरणले एकाएक पूजालाई सम्बोधन गर्र्दै ‘घर जाने हैन पूजा…. कहाँ हराको तिमी । अनि मोवाइल किन अफ छ तिम्रो….!’, भन्ने प्रश्न गरे ।

म भने अचम्म मान्दै किरणलाई सोधेँ, ‘के तिमीले पूजालाई चिन्छौं ?’ मेरो प्रश्नको जवाफमा उनले पूजा आफ्नी श्रीमती भएको जानकारी गराए । उनको कुराले म झसंग हुँदै छाँगाबाट खसेंझैं भएँ र केही बोल्न पनि सकिनँ । आफूलाई भुल्दै गएँ । जमिन भासिएझैं भयो । भाउन्न छुटेर आयो । उभिएको ठाउँमै थचक्क बसूँझैं भयो । त्यसपछि के भयो थाहा पाइन ।