नृत्य विधा पनि शिक्षाको एउटा पाटो हो

२०७५ माघ ९, बुधबार १४:२७ मा प्रकाशित

मंगला श्रेष्ठ, नृत्य प्रशिक्षक

वि.सं. २०२८ सालमा जन्मनुभएकी मंगला श्रेष्ठ ०३६ सालदेखि नृत्य क्षेत्रमा समर्पित भएर राष्ट्रियस्तरका प्रतियोगिताहरुमा गोल्डमेडल/शिल्ड र विभिन्न पदक गरी झण्डै दर्जन पुरस्कार प्राप्त गरिसक्नुभएको छ । पछिल्लो समय उहा नृत्य निर्देशक एवं प्रशिक्षकका रुपमा लोकनृत्य क्षेत्रमा योगदान पु¥याउदै आइरहनुभएको छ । लोकनृत्य र व्यक्तिगत जीवनसग सम्बन्धित रहेर उहासग गरिएको कुराकारनीको सारसंक्षेप यहा प्रस्तुत गरिएको छ । – सम्पादक

आजभोलि के मा व्यस्त हुनुहुन्छ ?

आजभोलि म पद्मोदय पब्लिक माध्यमिक विद्यालयमा अध्यापनमा व्यस्त छु । र, गोरखा इन्टरनेशल पब्लिक बोर्डिङ स्कूलमा नृत्यको कक्षा दिइरहेकी छु ।

नृत्य क्षेत्रतिर कसरी आउनुभयो ?

स्कूल पढ्दादेखि नै नृत्यतिर रहर जाग्यो । नौ वर्षको उमेरदेखि नृत्यमा लागें । त्यसैलाई पछ्याउँदा पछ्याउँदै आज यो अवस्थासम्म आइपुगेकी छु । र, अहिले पनि यसै क्षेत्रमा रहेर नृत्य प्रशिक्षण गराउँदै आइरहेकी छु ।

पारिवारिक साथ सहयोग कत्तिको पाउनुभयो ?

पारिवारिक साथ सहयोग राम्रै रह्यो । मेरो परिवार नै नृत्य र संगीत क्षेत्रको भएकाले मलाई सधै पूर्ण साथ र सहयोग मिल्यो ।

त्यो समयमा तपाइँका लागि यहाँसम्म आइपुग्न कत्तिको सजिलो थियो ?

साह्रै गाह्रो । हाम्रो समयमा नृत्य क्षेत्रलाई राम्रो मानिदैनथ्यो । गाउँ ठाउँमा नाच्ने र गाउने कुराहरुलाई सकारात्मक दृष्टिकोणले हेर्ने चलन थिएन । राष्ट्रियस्तरका प्रतियोगिताहरुमा मेडल र शिल्ड ल्याउन सके मात्रै राम्रो मानिन्थ्यो होइन भने राम्रो मानिदैनथ्यो । अहिले पनि नृत्य क्षेत्रलाई सकारात्मक दृष्टिले हेर्ने गरिदैन । तर अहिले भने केही विद्यालयहरुले नृत्यलाई शिक्षासँग जोडेकाले यसमा केही सुधार हुँदै गएको छ ।

नृत्य क्षेत्रमा लाग्दै गर्दा सम्झनलायक कुनै दुखद र सुखद क्षण ?

घरबाट राम्रै साथ सहयोग भएकाले दुखद क्षण त धेरै छैनन् । तर सानोमा एकपटक भने नृत्यमा भाग लिन रहर लागेको थियो । त्यतिबेला राजाको जन्मोत्सव हुँदै थियो । सायद म चौधरी समुदायकी छोरी भएर होला मलाई त्यसमा छनोट गरिएन । मलाई बाहि¥याएर आफ्नो मान्छेलाई राखियो । त्यतिबेला म निकै रोएकी थिएँ । चित्त धेरै दुखेको थियो । सम्झनालायक दुखद क्षण एउटा त्यही थियो ।

र, त्यो घटनाको दुई, तीन महिना लगत्तै सुर्खेतमै राजाको सवारीमा नृत्य देखाउने मौका पाएकी थिएँ । त्यति बेला निकै खुशी भएकी थिएँ । त्यो एउटा सम्झनालायक खुशीको क्षण थियो ।

नृत्य के हो ?

नृत्य एउटा मनभित्रबाट आउने कलाको विधा हो । जसलाई सिकेर मात्रै हुँदैन, भित्र मनदेखि आउनुपर्छ ।

वर्तमान समयमा नृत्य क्षेत्र कस्तो पाउनुहुन्छ ?

अहिले धेरै राम्रो छ । पहिलेको हेरी नृत्य विधालाई हेर्न दृष्टिकोणमा धेरै सुधार भएको छ । पछिल्लो पुस्ताले अभिभावहरुबाट धेरै साथ सहयोयसँगै अवसरहरु पाएका छन् । देशविदेश घुम्ने मौका पाएका छन् । नृत्य क्षेत्र व्यावसायिक क्षेत्रका रुपमा परिणत हुँदै गएको छ । यस क्षेत्रमै लागेर पनि जीवन निर्वाह गर्न सक्ने वातावरण सिर्जना हुँदै गएको छ ।

पश्चिमेली संस्कृतिको प्रभावले नृत्य क्षेत्रमा छाडापन भित्रिएको पाइन्छ नि ?

हाम्रो नेपाली संस्कमा धेरै असर त परिरहेका छ । तर अहिलेको पुस्तालाई उनीहरुको चाहना अनुसार भिन्नै विधाहरु छान्ने मौका दिनुपर्छ । त्यससँगै हामीले आफ्नो कला, संस्कृति र पहिचानलाई बिर्सनुहुँदैन । यसको संरक्षण र प्रवद्र्धनका लागि सबैले भूमिका निर्वाह गर्नुपर्छ ।

लोकनृत्य के हो ?

लोकनृत्य हाम्रो नेपालको संस्कृति र मौलिकता जोगाई राख्न लेक पाखाहरुमा नाच्ने नृत्यलाई लोकनृत्य भनिन्छ । जस्तो किपरापूर्वकालदेखि नै नाच्दै आइरहेको सोरठी, भुमे नाच, टप्पा र चौधरी जस्ता नाचहरु लोकनृत्यभित्र पर्दछन् । यस्ता नृत्यहरु हाम्रो देशको मौलिक चिनारी र पहिचान भएकाले यिनको संरक्षण गरिनु अति आवश्यक छ  ।

भित्रिदो पश्चिमेली संस्कारले लोकनृत्यहरुमा कस्तो प्रभाव पारेको छ ?

असर परिहेको छ । तर केही वर्षयता भने मेला महोत्सव, विद्यालय र सांस्कृतिक कार्यक्रमहरुमा लोकनृत्यहरुलाई प्राथमिकतामा राखिएको छ । पछिल्लो पुस्तालाई पनि लोकनृत्यबारे विद्यालयस्तरबाट सिकाउन थालिएको छ । यो सकारात्मक पक्ष हो । त्यसबाहेक, विवाह, पार्टीहरुमा भने पश्चिमेली नृत्यहरु मनोरञ्जनका लागि नाच्ने गरेको पाइन्छ ।

लोकनृत्य संरक्षण र प्रवद्र्धनका निम्ति के गर्नुपर्छ जस्तो लाग्छ ?

लोकनृत्यलाई संरक्षणका लागि शिक्षाबाट नै शुरुवात गरिनुपर्छ । शिक्षा नीतिमै नृत्यलाई पनि पाठ्यक्रममा समावेश गर्दै विद्यालयस्तरबाट अध्ययन गराइनु जरुरी छ । लोकनृत्यको जगेर्नाका निम्ति विद्यालयहरुमा नृत्य शिक्षकहरु राख्नुपर्छ । सरकारले यसलाई प्राथमिकतामा राखेर पाठ्यक्रमबाट पढाउन सके आउँदो पुस्तालाई लोक संस्कृतिबारे बुझाउन र सिकाउन सकिन्छ ।

नृत्य क्षेत्रमा आउने नयाँ पुस्तालाई तपाइँले दिने सन्देश के हो ?

नयाँ पुस्ताले हाम्रो परपूर्वकालदेखि चल्दै आएको लोकसंस्कृतिसँग सम्बन्धित नृत्यहरुलाई संरक्षण गर्र्न खोजबिन र पछ्याउदै जानुपर्छ । आफ्नो मौलिक चिनारीहरुलाई बिर्सनुहुँदैन । आफ्नो लोकसंस्कृतिलाई नबिर्सेर नृत्य क्षेत्रमा अगाडि बढ्न शुभकामना दिन चाहन्छु ।

अबको तपाइँको जीवन योजना ?

नृत्य क्षेत्रमा सानैदेखि लागेको हुनाले भित्री हृदयबाट लोकनृत्यको क्षेत्रमा केही गर्नुपर्छ भन्ने सोच बनाएको छु । त्यसैक्रममा विगत केही वर्षदेखि बालबालिकाहरुलाई लोकनृत्य सिकाउँदै आइरहेको छु । र, अहिले गोरखा विद्यालयमा लोकनृत्य शिक्षकका रुपमा प्रशिक्षण गराउदै आइरहेकी छु ।

अन्तमा छुटेका केही ?
नेपालको लोकसंस्कृतिलाई जगेर्ना गर्न सबैले भूमिका निर्वाह गर्नुपर्छ । अभिभावहरुले पनि नृत्यलाई नराम्रो दृष्टिकोणले नहेरिदिन आग्रह गर्दछु । नृत्य विधा पनि शिक्षाको एउटा पाटो हो । त्यसकारण आफ्ना बालबालिकाले नृत्यमा इच्छा गर्छन् भने उनीहरुलाई नरोकौं । बरु हौसला र प्रेरणा दिउँ । जसको कारणले भोलिका दिनमा उनीहरुले नृत्यका क्षेत्रबाट केही गरेर देखाउन सकून् ।