‘प्रदेश सरकारका कानुनले व्यवसायमा असर पर्छ’

२०७५ मंसिर १८, मंगलवार २०:०५ मा प्रकाशित

विकास डाँगी |
दाङ : तुलसीपुर राप्ती अंचलको सदरमुकाम हो। यही तुलसीपुरमा २०४९ सालमा यहाँका व्यापारीको हकहितका लागि तुलसीपुर उद्योग वाणिज्य संघको स्थापना भएको हो। तुलसीपुर सबै किसिमले केन्द्रविन्दु मानिन्छ। तुलसीपुर मुख्य गरी व्यापारी दृष्टिकोणले केन्द्रविन्दु मानिन्छ। यहाँ दाङलगायत सल्यान, रुकुम, रोल्पा र अन्य जिल्लाका मानिसहरू आवतजावत गर्ने भएकाले पनि तुलसीपुरलाई दाङको केन्द्रविन्दुको रूपमा हेरिएको छ। तुलसीपुरमा टरिगाउँ विमास्थल, विभिन्न ठाउँमा पर्यटकीयस्थल पनि छन्। उत्तरमा पहाडी जिल्ला, दक्षिणमा बाँके र पश्चिममा सुर्खेत जाने सडकसँग जोडिएको तुलसीपुरमा साना, मझौला र ठूला उद्योगहरू संचालन भएका छन्। तुलसीपुरमा अहिले करिब दुई हजार व्यापारीहरूले आआफ्ना व्यापार व्यवसाय गर्दै आएका छन्। यहाँ खाद्य, कृषि, सिमेन्टलगायत ठूला उद्योगहरू संचालनमा छन्। तर केही वर्ष पहिले यहाँ व्यापार व्यवसाय गर्ने अवस्था नभएको यहाँका व्यापारीहरूले बताउँछन्। जति बेला देशमा सशस्त्र द्वन्द्व थियो, त्यो समयमा यहाँका व्यापारीहरूले धेरै सास्ती भोगेका थिए। अहिले देश स‌ंघीयतामा गएपछि तुलसीपुरमा उद्योगी व्यवसायीको अवस्था के छ? के कस्ता किसिमका उद्योगहरू संचालनमा आएका छन्? यस्तै विषयमा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावत (वीरु)सँग विकास डाँगीले गरेको कुराकानी प्रस्तुत छ। देश स‌ंघीयता जानु अगाडि र पछाडि यहाँको व्यवसाय कस्तो छ?
देश स‌ंघीयतामा जानुभन्दा पहिले यहाँको व्यावसायिक अवस्था निकै नाजुक थियो। जति बेला देशमा सशस्त्र द्वन्द्व थियो, त्यति बेला यहाँ साना, मझौला र ठूला उद्योगहरूको वृद्धि पनि हुन सकेको थिएन। त्यसैगरी व्यापारीहरूको पनि मर्ने न बाँच्ने अवस्था थियो। जब २०६२/०६३ को जनआन्दोलपछि देशमा शान्ति भयो, त्यसपछि यहाँ उद्योगहरू फस्टाउँदै गएका छन्। अझ भन्नुपर्दा जब २०७२ मा संविधान आयो, त्यसमा व्यवसायीहरूको हकहितबारे समेत उल्लेख भयो। त्यसले गर्दा पहिलेको तुलनामा अहिले यहाँ व्यापारी व्यवसायीहरू थपिँदै गएका छन्। तर देश स‌ंघीयतामा गए पनि अझै स‌ंघीयता टिक्ने कि नटिक्ने भन्ने विज्ञहरूले भन्दै आएका छन्। देशको आयस्रोतले थाम्ने कि नथाम्ने भन्ने पनि छ। त्यसको प्रत्यक्ष वा अप्रत्यक्ष निजी स्रोतहरूलाई असर परेको छ। अहिले यहाँ ठूलाठूला उद्योगहरू पनि संचालन भइरहेका छन् भने निकट भविष्यमै अन्य उद्योगहरू पनि संचालनमा आउँदै छन्।
यहाँको उद्योग व्यवसायमा लगानीको अवस्था कस्तो छ? समस्या के कस्ता छन्?
हामी राप्तीबासी भाग्यमानी मान्नुपर्छ। प्रकृतिले अत्यन्त साथ दिएको छ किनभने यहाँ जुनसुकै उद्योग संचालन गर्नका लागि जमिन र पुँजी आवश्यक पर्छ। उद्योगका लागि यहाँ प्रशस्त जमिन छ। यहाँ कृषि उद्योग, कपडा उद्योग, चप्पल उद्योग, पर्यटन उद्योगलगायत अन्य उद्योगहरूको संभावना छ। त्यसैगरी हामीले तुलसीपुर उद्योग वाणिज्य संघको अगुवाइमा नेपाल उद्योग वाणिज्य संघ, सम्बन्धित मन्त्रालहरूसँग पनि यहाँका उद्योगी व्यवसायीहरूको समस्याका बारेमा जानकारी गराएका छौँ। उद्योगीहरूलाई दोहोरो कर प्रणाली, यस क्षेत्रमा उद्योग स्थापना गर्नका लागी नेपाल सरकार र प्रदेश सरकारले बनाएको झन्झटिला नियम कानुनहरूका कारण यस क्षेत्र आउन लागेका उद्योगहरू स‌ंघीयताको झन्झटिलो कारणले गर्दा पलायन हुन सक्ने समस्या छ।
तुलसीपुरको सुरक्षाको अवस्थालाई लिएर विभिन्न चर्चा हुने गर्छ, कस्तो छ यहाँको सुरक्षा अवस्था?
जहाँ मानिसहरूको आवतजावत बढी हुन्छ, त्यहाँ सुरक्षाको चुनौती आउँछ। त्यसैगरी यो व्यापारिक केन्द्र पनि हो। त्यसैले यहाँ सुरक्षा चुनौती हुन सक्छ। तर हिजोको दिनहरूमा छिटपुट घटनाहरू पनि भएका हुन्। व्यापारीहरूको अपहरण गरी हत्यासमेत भएको थियो। त्यस्तै, चन्दा आतंक पनि उतिकै थियो। तर पछिल्लो समय प्रदेश प्रहरी कार्यालय, १९ नम्बर बाहिनी अड्डा, सशस्त्र प्रहरीको बेस क्याम्प, इलाका प्रहरी कार्यालय जस्ता तुलसीपुरमा सुरक्षा सम्यन्त्र छन्, त्यसैले अहिले उद्योगीहरूलाई राम्रो अवस्था छ। व्यापारीहरूले धेरै नाफा लिने र कालोबजारी गरी समान बेच्ने गर्छन् भन्ने आरोप लाग्छ नि?
उपभोक्ताले दूधको पैसा तिरेपछि दूध पाउनुपर्‍यो, तेलको पैसा तिरेपछि तेल पाउनुपर्ने हो भन्ने मेरो मान्यता छ। व्यवसाय भनेपछि नाफामुखी त हुन्छ नै, नाफा नखाई व्यवसाय गर्न त सकिँदैन तर व्यवसायीहरूले सामाजिक सेवा पनि गरिराखेका छौँ। उपभोक्ताहरूको ख्याल गरेर व्यापारीले काम गर्नुपर्छ। तर यो कालोबजारी, मिसावट जस्ता कुराहरूको अन्त्य गर्नका लागि मेरो विचारमा पहिलो जिम्मा उद्योगी व्यवसायीको हो। नेपाल सरकारले पनि एउटा पारदर्शी नियम ल्याउनुपर्छ। त्यसमा पनि उपभोक्ताहरू पनि जागरुक भए यो जिरो नभए पनि कमी हुन सक्छ।
देश स‌ंघीयतामा गएपछि उद्योग व्यापारमा लगानीको अवस्था कस्तो छ?
पछिल्लो समयमा देशमा शान्तिले पूर्णता पाएपछि उद्योग व्यापारहरू फस्टाउँदै गएका छन् तर संघीय सरकार, प्रदेश सरकारले बनाएका झन्झटिला नियम कानुनले उद्योगी व्यवसायीहरूलाई असर पर्ने देखिन्छ। कुनै प्रदेशबाट अर्काे प्रदेशमा जानका लागि दोहोरो कर प्रणालीले गर्दा पनि पलाउनै लागेका उद्योगहरू नफुल्दै सुक्न सक्छन्।
अहिले व्यापारीहरूले दोहोरो करको मार खेपेका छन् भन्ने छ, तपाईंलाई के लाग्छ?
नेपाल क्षेत्रफलको हिसाबले सानो देश छ। यहाँ ठूलाठूला उद्योगहरूको विकास हुन सकेको छैन। नेपाल कृषिप्रधान देश हो तर ९५ प्रतिशत खाद्यहरू छिमिकी मुलकबाट आउने गर्छ। त्यसैले यहाँ करको दायरा खुकुलो बनाउनुपर्‍यो। अनावश्यक कुराहरूमा कर लगाउनुभएन। उपभोक्ताहरूसँग प्रत्यक्ष जोडिएका त्यस्ता सामानहरूमा छुट दिनुपर्‍यो तर व्यवसायीहरूले तिरेको कर सही ठाउँमा सदुपयोग हुनुपर्‍यो। त्यो भयो भने हामी व्यवसायीहरूले कर तिर्न कुनै आपत्ति हुँदैन।
तुलसीपुरको उद्योग व्यवसायको भविष्य कस्तो देख्नुभएको छ तपाईंले?
तुलसीपुर एउटा दाङकै व्यापारिक केन्द्र हो। यहाँबाट जिल्लाबाहिर जाने र आउने बाटो पनि यही भएकाले यहाँको भविष्य सुन्दर छ। पहिलेको तुलनामा बजार पनि व्यवस्थित हुँदै छ। व्यापार व्यवसाय पनि बढ्दै छन्। त्यस कारण तुलसीपुरको भविष्य उज्ज्वल नै छ जस्तो मलाई लाग्छ।