होटेल व्यवसाय : लगानीअनुसार आम्दानी छैन

२०७५ माघ ३, बिहीबार २१:५० मा प्रकाशित

रीता लामा । घोराही । प्रदेश नं ५ को राजधानी बन्ने आसमा जिल्लामा ठुलो लगानीमा धेरै होटेल खुले तर अहिले अस्थायी राजधानी समेत दाङमा नभए पछि यहाँ खुलेका ठुला होटेल मारमा परेका छन । दाङमा तोकिने भनिएको स्थायी राजधानी बुटवलतिर सरेपछि यहाँका होटलमा हुने सामान्य चहलपहल पनि अहिले घटेको छ ।

SPONSORED

चार बर्ष पहिले भाडामा घर लिएर करिव रु दुई करोडको लगानीमा घोराहीको ‘मेनरोड’मा होटेल सिटी प्लाजा प्रालि सञ्चालनमा आएको थियो । घोराहीको मुख्य बजारमा रहेको सिटी प्लाजा हेर्दा आर्कषक र सेवा सुविधा राम्रो भए पनि भित्र चहलपहल कम छ । होटेल सञ्चालक कुलदीप न्यौपाने अहिले दाङमा ठुला होटेल चलाउन हम्मेहम्मे परिरहेको बताउनुहुन्छ ।
सरकारी तथा गैरसरकारी संस्थाले कहिलेकाहीँ गर्ने सभा, गोष्ठीले होटल जेनतेन चलिरहेको उनको भनाइ छ । ‘हामीले दाङ राजधानी हुन्छ भन्ने ठानेर ठुलो लगानीमा होटल खोल्यौँ, अहिले चलाउनै गाह्रो भएको छ,’ उनले भने, ‘यति धेरै लगानी गरेर आम्दानी गर्नु त परको कुरा, कर्मचारी पाल्नै मुस्किल छ ।’ पहिलेभन्दा पनि अहिले होटेलको आम्दानी खस्किँदै गएको उनको अनुभव छ ।
दाङमा पर्यटकीय स्थल धेरै भए पनि ती स्थानको प्रचारप्रसार नहुँदा सोचे जस्तो पर्यटक आउन सकेका छैनन् । प्रदेशको राजधानी नहुनु र भने जस्तो पर्यटक पनि जिल्लामा नआउँदा दाङका होटेल व्यवसायीहरूले लगानी अनुसार प्रतिफल प्राप्त गर्न नसकेको गुनासो गरिरहेका छन् । दाङमा सबैभन्दा ठुलो लगानीमा खुलेको भनिएको माला इन प्रालिका सञ्चालक समितिका अध्यक्ष ओविन्द्र महरा होटलको आम्दानीबाट बैङ्कको ब्याज तिर्न पनि मुस्किल भइरहेको बताउँछन् ।
बैङ्कबाट कर्जा लिएर सुरु गरिएको होटलबाट कर्मचारी पाल्न र बैङ्कको ब्याज तिर्न पनि नसकिएको गुनासो उनको छ । मासिक रु १६ लाख खर्च हुने होटेलमा आम्दानी निकै न्युन रहेको उनी बताउँछन् । ‘राजधानी बन्ने आसमा होटलमा लगानी गर्यौँ, राजधानी पनि आएन, आम्दानी पनि गर्न सकिएको छैन,’ उनले भने, ‘अहिले हामीले मासिक खर्च पनि आफ्नो गोजीबाट हालिरहेका छौँ ।’
होटल व्यवसायीहरुले आफ्नो व्यवसायमा करोडौँ लगानी गरिरहेको अवस्थामा सरकारले त्यसलाई प्रवद्र्धन गर्न नसकेको उनी बताउँछन् । पछि केही हुन्छ की भन्ने आशमा आफुहरुले जेनतेन होटल सञ्चालन गरिरहेको उनको भनाइ छ । दाङ देउखुरी होटेल व्यवसायी समितिका अध्यक्ष रुद्रबहादुर डाँगी पनि सरकारले वेवास्ता गर्दा होटेलमा गरेको लगानी डुब्ने अवस्थामा व्यवसायी पुगेको बताउँछन् ।
दाङ पर्यटनका हिसाबले सम्भावना बोकेको जिल्ला भए पनि सरकारको गतिलो नीति नहुँदा सबै क्षेत्र धरासायी बन्ने अवस्थामा पुगेको उनको भनाइ छ । ‘दाङमा पर्यटक भित्र्याउने थुप्रै क्षेत्रहरु छन्,’ उनले भने, ‘तर ती क्षेत्रको पुर्वाधार विकासमा समेत राज्यले चासो दिन सकेको छैन ।’ घोराहीमा करोड बढी लगानीका अन्य होटेलमा होटेल भिङ्ग्रेली भिलेज, थ्री स्टार, राप्ती सुपरलज, होटल माउन्ट भ्यू, होटेल ग्रीन भ्याली लगायका छन् ।
त्यस्तै तुलसीपुरको होटल एकान्त पनि करोड बढीको लगानीमा बनेको अनुमान गर्न सकिन्छ । लमहीमा देउखुरी दरबार होटल पनि ठूलो धनराशीमा बनेको होटल हो । यी होटलहरुमा विशेषगरी ‘भिआइपी’ (अति विशिष्ट पाहुना)लाई हुने सुविधाहरुको व्यवस्था गरिएको छ । तिनमा एसी, एटेच बाथरुम, प्याकेज सहितको खानाको व्यवस्था गरिएको पाइन्छ । दाङ देउखुरी होटल व्यवसायी समितिका अनुसार भिआइपी सुविधासहित अहिले घोराहीमा मात्रै एकै दिनमा एक हजार मान्छे राख्न सक्ने ठुला होटेलहरु सञ्चालनमा आइसकेका छन् ।
त्यस्तै तुलसीपुर र लमहीसहित जोडेर थप ५०० मानिस राख्नसक्ने क्षमता दाङका होटेलहरुमा छ । होटेल व्यवसायी समितिका अध्यक्ष डाँगीका अनुसार अहिले जिल्लाका होटेलहरुले सरकारलाई अन्तःशुल्क, घरेलु, व्यवसायिक, सरसफाइ र मदिरा कर लगायतका विभिन्न प्रकारका करहरु तिरिरहेका छन् । व्यवसायीले जति धेरै कर तिरे पनि सरकारको तर्फबाट कुनै पनि सेवा सुविधा आफुहरुले नपाएको अध्यक्ष डाँगीले बताए ।
‘विभिन्न वहानामा व्यवसायीहरुबाट कर असुली गरे पनि उनीहरुलाई भने जस्तो सेवा सुविधा दिइएको छैन,’ उनले गुनासो गरे । दाङमा अहिले ११ सय जति साना ठुला होटेलहरु दर्ता भएका छन । त्यसबाहेक सयौँ होटेलहरु बिना दर्ता सञ्चालन भएको बताइन्छ । सरकारी निकायले नियमित अनुगमन नगर्नु र कर छलीको उद्देश्यले साना होटेलहरु दर्ता बिना सञ्चालन भैरहेको स्वयं होटल व्यवसायीहरु बताउँछन् । रासस

SPONSORED

SPONSORED