सांकेतिक तस्बिर

तेजेन्द्र केसि बुटवल– प्रदेश पाँच सिमानाका दृष्टिकोणले भारतसँग नजिक मानिन्छ । यो प्रदेशका उद्योगमा पछिल्लो समय भारत बाहेकका अन्य देशहरूले लगानीलाई तीव्रता दिएका छन् । लगानी बढ्दै गएपछि प्रदेशमा ठूलठूला उद्योगहरू थपिने क्रम बढेको छ ।

चीन, भारत, जापान, अमेरिका, डेनमार्क र मलेसिया जस्ता देशबाट उद्योगमा लगानी बढेका छन् । चिनियाँ व्यावसायिक समूहले दीर्घकालीन लगानीमा जोड दिएका छन् । सिमेन्ट, हाइड्रोपावर र होटलहरूमा विदेशी लगानी बढेका छन् । भारतको लागानी यो प्रदेशका उद्योगमा पुरानै हो । उनीहरूले पनि विभिन्न क्षेत्रमा लगानी वृद्धि गरेका छन् ।

सरकारी तथ्याङ्कअनुसार यो प्रदेशमा आर्थिक वर्ष २०७४ र ७५ मा २ अर्ब ९१ करोड २९ लाख १० हजार ५ सय रूपैयाँ भारतीय लगानी भित्रिएको छ । त्यस्तै चीन मेनल्यान्ड (ताइवान र हङ्कङसमेत) ले १ अर्ब ३५ करोड १० लाख रूपैयाँ लगानी भित्र्याएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्याङ्कमा छ ।

प्रदेशका लागि चीनको लगानी यो हालसम्मकै उच्च हो । अन्य लगानी जापान, अमेरिका, डेनमार्क र मलेसिया जस्ता देशबाट आएका छन् ।

उद्योग मन्त्रालयको आर्थिक वर्ष २०७४–७५ मा मात्र ५ नम्बर प्रदेशमा ३३ अर्ब ८५ करोड २६ लाख ७० हजार रूपैयाँ बराबरको लगानी उद्योग क्षेत्रमा थपिएको छ । यो तथ्याङ्क २०७३–७४ को भन्दा ७० प्रतिशतले बढी हो । उद्योगमा लगानी बढ्नु सकारात्मक भएको र यसले उत्साह बढेको प्रदेश आयोग उपाध्यक्ष डा. प्रकाशचन्द्र श्रेष्ठले बताए । उनले भने ‘प्रदेश ५ मा विदेशी लगानी भित्र्याउने प्रदेश सरकारको रणनीति र उद्योगमन्त्री वातावरण बन्नुले विदेशी लगानीकर्ता आकर्षित बनेका छन्’,  उनले थपे, ‘उनीहरूलाई उद्योगमा लगानी गर्ने वातावरण, लगानीको सुरक्षा विषयमा प्रदेश सरकार गम्भीर छ ।’

सरकारी तथ्याङ्कमा आर्थिक वर्ष २०७४–७५ मा यो प्रदेशमा ५३ नयाँ उद्योगमा लगानीकर्ता बढेका छन् । यो प्रदेशमा आर्थिक वर्ष २०७३–७४ मा ४३ वटा नयाँ उद्योग दर्ता भएका थिए । उद्योगमा भएको लगानीमध्ये ४ अर्ब ३८ करोड २९ लाख १० हजार ३ सय रूपैयाँ (१२ दशमलव ९४ प्रतिशत) वैदेशिक लगानी छ ।

कस्ता उद्योगमा लगानी ?
उद्योगहरूले जहाँ मुनाफा सुनिश्चत हुन्छ यही ठाउँमा लगानी गर्ने हुन् । उद्योगबाट आफ्नो बजार, कच्चा पदार्थ आपूर्तिमा सहजता र बजेटले भ्याउँछ, त्यस्तैमा लगानी वृद्धि गर्दै उद्योग स्थापना गर्ने गरेका छन् । यसैका आधारमा लगानीकर्ताले सरकारले वर्गीकरण गरेको ठूला, मझौला र साना उद्योगमा लगानी गरिरहेका छन् । प्रदेशमा दर्ता भएका नयाँ उद्योगमध्ये १५ ठूला, २३ मझौला र १३ वटा साना उद्योग छन् । उद्योग ऐन २०४९ ले ३ करोड रूपैयाँ बराबरको अचल सम्पत्ति हुने उद्योगलाई साना उद्योगको रूपमा वर्गीकरण गरेको छ । ३ करोडदेखि १० करोड रूपैयाँसम्म अचल सम्पत्ति भएका उद्योग मझौला र त्योभन्दा माथिका सबै ठूला उद्योग हुने ऐनमा उल्लेख छ ।

कुन जिल्ला कति उद्योग ? 
प्रदेश ५ का १२ जिल्लामध्ये तराईमा पर्ने रूपन्देही कपिलवस्तु, बाँके, नवलपरासी र दाङ जिल्ला उद्योग स्थापनमा लागि निकै राम्रा जिल्ला मानिन्छन् । अझ ठूला स्वदेशी र विदेशी उद्योगहरू  खुल्ने क्रममा रूपन्देही देशकै अग्रणी स्थानमा रहेको रूपन्देही उद्योग सङ्घ अध्यक्ष गणेश अधिकारीले बताए । आर्थिक वर्ष २०७३–७४ मा १५ वटा नयाँ उद्योग दर्ता भएकोमा पछि  रूपन्देहीमा १७ वटा नयाँ उद्योगको आगमन भएको छ । नयाँ दर्ता भएका उद्योगमध्ये ८ मझौला, ६ साना र ३ ठूला उद्योग छन् । रूपन्देहीमा पुरानाहरू पनि उस्तै मात्रा थिए । तर पछिल्लो समय  अन्तर्राष्ट्रिय विमानस्थल, लागनीमैत्री वातारण आदिले थपिएका छन् । नयाँ उद्योगहरूमा युनाइटेड क्लोजर्स प्रालिको ब्याटेरिज नेपाल प्रालि, श्रीनगर एग्रोटेक इन्डस्ट्रिज प्रालि, ब्रिज ग्लास इन्डस्ट्रिज प्रालि, बुद्ध रेडिमिक्स कङ्क्रिट प्रालि, गौरी स्टिल्स प्रालि, टाइगर प्यालेस रिसोर्ट प्रालि र शिवशक्ति प्रिन्ट एन्ड प्याकिङ इन्डस्ट्रिज मझौला उद्योग हुन् भने लुम्बिनी एम्युजमेन्ट एन्ड वाटर पार्क प्रालि, एटम फार्मास्युटिकल्स प्रालि र लाइका फार्मास्युटिकल्स प्रालि ठूला उद्योग हुन् ।
साना उद्योगका रूपमा बेलटेक्नो नेपाल प्रालि, भिभो मोबाइल नेपाल प्रालि शाखा ३, एसएचएल म्यानेजमेन्ट सर्भिसेज प्रालि, फिल्मस्मित नेपाल प्रालि, ग्रो वेल प्लास्टिक इन्नोभेसन प्रालि र मिनाक्षी पोलिमर्स नेपाल प्रालि रहेका छन् ।

यस्तै आर्थिक वर्ष २०७४–७५ मा नवलपरासीमा १३ उद्योग दर्ता भएका छन् । दर्ता भएका उद्योगमध्ये टियानी सिमेन्ट इन्डस्ट्रिज प्रालि, वरुण बेभरेज (नेपाल) प्रालि शाखा १, नेपाल जगदम्बा सिमेन्ट इन्डस्ट्रिज प्रालि, सिद्धि लक्ष्मी सिमेन्ट प्रालि, बीपीएस पेट्रोलियम नेपाल र सिद्धिविनायक स्टिल्स प्रालि ठूला उद्योग हुन् ।

जिल्लामा मझौला उद्योगमा सिजी फुड्स नेपाल प्रालि शाखा ३, सगरमाथा प्रिकास्ट सोलुसन प्रालि, सीजी प्रिन्ट एन्ड प्याकेजिङ प्रालि, सिटिजन फार्मास्युटिकल्स प्रालि र गोल्डेन हार्भेस्ट फर्म प्रालि रहेका छन् भने हाजीएपी वाधा एन्ड को कन्सट्रक्सन नेपाल र एभरेस्ट इरेक्टर्स प्रालि साना उद्योग हुन् ।

सोही आर्थिक वर्षमा कपिलवस्तुमा ७ नयाँ उद्योग दर्ता भएका छन् । तीमध्ये कपिलवस्तु सिमेन्ट उद्योग प्रालि, आईएमएस सिमेन्ट प्रालि र कृष्णराज सिमेन्ट इन्डस्ट्रिज प्रालि ठूला उद्योग हुन् भने हिमाल कङ्क्रिट प्रालि, पी एन्ड पी स्टिल्स र कामख्या स्टिल प्रालि मझौला उद्योग हुन् । जिल्लामा साना उद्योगका रूपमा शीतला फुड प्रोडक्ट प्रालि मात्र दर्ता भएको छ ।

बाँके जिल्लामा ७ नयाँ उद्योग दर्ता भएका छन् । जिल्लामा दर्ता भएका उद्योगमध्ये जय अम्बे स्टिल्स एक मात्र ठूलो उद्योग हो । जिल्लामा दर्ता भएका मझौला उद्योगमध्ये सगरमाथा स्टिल्स इन्डस्ट्रिज प्रालि, नेपाल वेलहोप एग्रिटेक प्रालि शाखा २, वर्ष रिसाइक्लिङ इन्डस्ट्रिज प्रालि र विकास फ्लोर मिल प्रालि रहेका छन् भने भीभो मोबाइल नेपाल प्रालि शाखा ५ र गोल्डेन गेमिङ इन्टरनेसन प्रालि साना उद्योग हुन् ।

आर्थिक वर्ष २०७४–७५ मा बर्दिया जिल्लामा ३ साना उद्योग मात्र दर्ता भएको तथ्याङ्क मन्त्रालयले दिएको छ । तथ्याङ्क अनुसार बर्दिया होमस्टे प्रालि, राइनो लज बर्दिया प्रालि, एडिबल इन्डस्ट्रिज प्रालि दर्ता भएका छन् ।

दाङमा आर्थिक वर्ष २०७४–७५ मा ३ नयाँ उद्योग दर्ता भएका छन् । ती उद्योगमध्ये घोराही सिमेन्ट इन्डस्ट्रिज प्रालि र अरुण सिमेन्ट इन्डस्ट्रिज प्रालि ठूला उद्योग हुन् भने लिडिया डिजाइन प्रालि सानो उद्योग हो ।
पाल्पामा शक्ति मिनरल्स प्रालि र आरोग्य भवन वर्क प्रालि गरी २ मझौला उद्योग दर्ता भएका छन् भने गुल्मीमा एक मात्र मझैला कम्पनीका रूपमा झिलिमिली हाइड्रो पावर कम्पनी दर्ता भएको छ ।
दुई जिल्लामा एउटै उद्योग दर्ता भएन

प्रदेश ५ जसरी ठूला उद्योगका लागि रोजाइको स्थान बनेको छ, त्यसैगरी एउटै नयाँ उद्योग दर्ता नभएका जिल्लाहरू पनि छन् । गुल्मी र पाल्पामा कुनै पनि नयाँ उद्योग दर्ता भएका छैनन् । यी जिल्लामा पुराना साना केही उद्योगहरू रहे पनि नयाँ दर्ता  नभएका हुन् । पहाडी जिल्लामा साना उद्योगहरू रहे पनि अन्य सम्भावना पनि रहेको अर्थशास्त्री तथा बुटवल बहुमुखी क्यापसका प्राध्यापक डा. बाबुराम ज्ञवालीले बताए । उनले भने, ‘ती ठाउँमा उत्पादनका लागि बजार, कच्चा पदार्थ आदि हेरेर पनि साना उद्योग खोल्न सकिन्छ ।

नयाँ थपिएका लगानीमध्ये सबैभन्दा धेरै उत्पादन क्षेत्रको उद्योगमा लगानी भएको छ । उत्पादन क्षेत्रमा ३७ वटा नयाँ उद्योग दर्ता भएका छन् । प्रदेशमा ऊर्जा, कृषि र पशुपालन क्षेत्रका उद्योगमा तुलनात्मक रूपमा कम लगानी भएको तथ्याङ्कले देखाउँछ । आर्थिक वर्ष २०७४–७५ मा ती क्षेत्रमा २ वटा मात्र उद्योग दर्ता भएका छन् । पर्यटन क्षेत्रमा ६, सेवा क्षेत्रमा ६ होटल नयाँ उद्योग दर्ता भएका छन् । अन्य उद्योगहरू पनि दर्ताको  तयारीमा रहेको उद्योग बताएका छन् ।

किन आकर्षित भए विदेशी लगानीकर्ता ?
अर्थविद् तथा उद्योगीहरूका अनुसार प्रदेशको उद्योगमा लगानी बढ्नुको कारण लगानीकर्ताले उद्योगमा आफ्नो लगानी सुरक्षित देख्नु हो । रूपन्देही उद्योग सङ्घका अध्यक्ष गणेश अधिकारीले देशमा राजनीतिक गतिरोध हटेकाले लगानीकर्ताले आफ्नो लगानी सुरक्षित हुने ठानेर लगानी गरेको बताए । प्रदेश आयोग उपाध्यक्ष श्रेष्ठका अनुसार लगानीमैत्री ऐनहरू, विशेष आर्थिक क्षेत्र (सेज) तथा औद्योगिक क्षेत्रको विकासमा निकै चासो देखाएको पाइएकाले लगानीकर्ता उद्योगमा लगानी गर्न सकारात्मक भएका हुन् ।

अझै बढ्ने अनुमान
‘अन्य प्रदेशको तुलना प्रदेश ५ लगानीमैत्री बनाउन प्रदेश सरकारले  करमा छुट, दर्ता  प्रक्रिया सहज, भौतिकपूर्वधार निर्माणमा ध्यान दिँदा उद्योगहरू बढ्ने सक्ने सम्भावना रहेको नेपाल राष्ट्र बैङ्क गर्भनर चिरञ्जीवी  नेपालले बुटवल भएको एक कार्यक्रमा भनेका थिए । यो प्रदेश देशकैमध्ये भाग पनि पर्छ । अर्कोतिर विमानस्थल निमार्ण र लुम्बिनी आदिले पनि लगानी कर्ताहरूलाई आकर्षित गरेको छ । औद्योगिक विकासमा प्रदेश सरकार उदार हुन सके प्रदेशको उद्योगमा लगानी अझै बढ्न सक्ने अर्थविद्हरू बताउँछन् ।

प्रदेश सरकारले उद्योगमा लगानी बढाउन र आइसकेका लगानीको सुरक्षा प्रत्याभूतिका लागि औद्योगिक नीति ल्याउनुपर्ने विश्लेषक तथा आर्थिक क्षेत्रका जानकार बैकुण्ठ पाण्डेले बताए ।

औद्योगिक व्यवसाय ऐन २०७३ पारित भइसकेको, औद्योगिक सुरक्षा बल गठन भएको, निर्यातमा नगद अनुदान नीति आएको, नेपाल व्यापार एकीकृत रणनीति, वैदेशिक लगानी नीति, गुणस्तर ऐन, लघु उद्यमसम्बन्धी व्यवस्था, औद्योगिक पूर्वाधार विकास कार्यक्रम र बौद्धिक सम्पत्ति नीतिजस्ता नीतिगत व्यवस्थाका कारणले पनि उद्योगमा लगानीकर्ता आकर्षित भएको उद्योग वाणिज्य महासङ्घका ५ नम्बरका अध्यक्ष गुणनिधि तिवारीले बताए ।

बन्दै दुई औद्योगिक क्षेत्र
यो प्रदेशमा सरकारले पनि नयाँ उद्योगहरू खोल्न  दुईवटा औद्योगिक क्षेत्र स्थापनाको तयारी गरेको छ । जसका लागि रूपन्देहीको मोतिपुर  औद्योगिक क्षेत्र र बाँकेको  नौवस्ता औद्योगिक क्षेत्रको डीपीआर तयार भएको छ  । विस्तृत अध्ययन प्रतिवेदन अनुसार एक हजारभन्दा धेरै उद्योग खोल्न सक्ने क्षमताका  औद्योगिक क्षेत्र निमार्ण गर्न थालिएको हो ।

जसअनुसार रूपन्देहीको मोतीपुरमा प्रादेशिक औद्योगिक क्षेत्रमा ८ सय १३ बिगाह जग्गामा ५४४ प्लट बन्ने छन् । यस्तै बाँकेको बैजनाथमा  बन्ने नौवस्ता औद्योगिक क्षेत्र परियोजनामा ३ सय ३८ विगाहा जग्गा रहेको छ । आगामी पाँचभित्र निर्माण पूरा गर्ने लक्ष्य राखिएको औद्योगिक  क्षेत्रका लागि कुल ८ अर्ब सात करोड खर्च हुने अनुमान छ । उक्त औद्योगिक क्षेत्रभित्र उद्योग खोल्न तीन सय ५० उद्योगीले आवेदन दिइसकेका छन् ।