१८ असोज, बुटवल । धराहरा चढ्न र देख्न नपाएकाहरुलाई लक्ष्य गर्दै बुटवलमा २२ लाख लागतमा धरहरा ठड्याइएको छ ।

बुटवल–१० मा रहेको बुटवल मण्डपमा २२ लाखको लागतमा काठमाडौंको सुन्धारामा (भूकम्पअघि ) रहेको धरहराको झल्को दिनेगरी सेतो रङको अस्थायी धरहरा स्थापना गरिएको हो ।

उद्योग व्यापार संघ बुटवलको आयोजनामा असोज १९ देखि २८ सम्म सञ्चालन हुन लागेको तेस्रो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेलाका लागि सो धरहरा स्थापना गरिएको हो ।

धरहरामा एकपटकमा ५० जना चढ्न मिल्ने र चढ्नेहरु कुनै दुर्घटना चोटपटक लागेमा निःशुल्क उपचारसहित बीमाको व्यबस्था मिलाइएको छ ।

मेलाको गेटलाई रानीपोखरीको मन्दिरको आकारमा बनाइएको प्रदर्शनी मूल आयोजक समितिका संयोजक तथा संघका अध्यक्ष प्रवीणबहादुर पाठकले बताए ।

जिल्ला समन्वय समिति रुपन्देही र बुटवल उपमहानगरपालिका प्रबद्र्धकको रुपमा रहेका छन् । प्रर्दशनीमा ४ लाखभन्दा बढीलाई अवलोकन गर्ने र २० करोडको कारोवार हुने आयोजकको अपेक्षा रहेको संघका पूर्वअध्यक्ष एवं मेलाका संरक्षक खिमनारायण पराजुलीले बताए ।

दशैंको मुखमा सञ्चालन गर्न लागिएको प्रदर्शनी तथा व्यापार मेलाको तयारी पूरा भएको छ । मेलामा जुम्लाको आलु, मार्सी चामल, कालो चामल, कदकनाथ जातको कालो कुखुराको मासु तथा अण्डा, मार्फाको स्याउसहितको दशैं सस्तो बजार पनि सञ्चालन हुनेछ ।

नजिकिदै गरेको दशैको लागि सामान खरिद गर्न अन्यत्र धाउनु पर्ने वाध्यता हटाउन प्रर्दशनी स्थलमै दशैं बजार सञ्चालन गर्ने निर्णय भएको आयोजकको भनाइ छ ।

मेलामा साल्ट टेडिङको चिनी तथा नुन, दुग्धजन्य पदार्थ, खाद्यान्न, उच्च पहाडी क्षेत्रमा उत्पादन भएका फापर, उपभोक्ताहरुलाई लक्षित गरी उपलब्ध हुनेछन् ।

कुटिर साना तथा घरेलु उद्योगलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रदर्शनीमा विभिन्न ८ प्याभिलियन राखिएको छ ।

४ सयभन्दा बढी स्टल रहने प्रदर्शनीलाई विगतको भन्दा बढी आकर्षक बनाउन धरहरा, रानीपोखरी स्वरुपको प्रवेशद्धार लोपोन्मुख चर्खे रोटेपिङ, लिङ्गेपिङ , चिल्ड्रेन पार्कसहित फन पार्कसमेत निर्माण गरिएको छ ।