दाङ, असोज ५ । मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुका लागि आवास निर्माण सहयोगार्थ घोराहीमा जारी महायज्ञमा करिव ५ लाख दान संकलन भएको छ । महायज्ञको पाँचांै दिनसम्म करिव ५ लाख दान संकलन भएको आयोजक मूल समितिले जानकारी दिएको छ ।

घोराही उपमहानगरपालिका वडानम्वर–३ मा प्रेरणाका लागि अभियान दाङले निर्माण गरिरहेको मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुको आवासका लागि सहयोगार्थ आयोजना गरिएको ‘श्रीराम कथा धनधान्याञ्चल नवाह ज्ञान महायज्ञ–२०७५’ को पाँचांै दिनसम्ममा ४ लाख ७८ हजार ७ सय १२ रुपैया दान संकलन भएको लेखा समितिले जानकारी दिएको छ ।

सिद्धि विनायक संत्सग सेवा समिति दाङको आयोजनामा भएको महायज्ञमा शुक्रबार घोराही–१७ निवासी कुलराज घिमिरे र सुष्मा रेग्मी घिमिरेले ५१ हजार १ सय ५५ रुपैया दान गर्नुभएको छ । स्वर्गीय बुबा भोलाप्रसाद शर्मा र स्वर्गीय आमा कृष्णदेवि घिमिरेको स्मृतिमा घिमिरे परिवारले सो रकम दान गरेको हो । शुक्रबार १ लाख २५ हजार १ सय ८८ रुपैया दान संकलन भएको छ ।

‘श्रीराम कथा धनधान्याञ्चल नवाह ज्ञान महायज्ञ–२०७५’ सबैभन्दा धेरै घोराही–१५ का डा. शास्त्री मोतिलाल डाँगी र उहाँको जीवनसंगीनी रमीला डाँगीले १ लाख १ हजार १ सय ११ रुपैया दान दान गर्नुभएको छ । यस्तै घोराही–१५ का माधव पन्थी र डा. जनार्दन पन्थीले ५१ हजार ५ रुपैया र घोराही–१७ का अनन्तराज घिमिरेले ५१ हजार रुपैया दान गर्नुभएको छ ।

महायज्ञमा १ सय ८ किलोको लड्डु प्रदर्शनमा राखिएको छ भने १ हजार ८ शालिग्राम परिक्रमा गर्ने कार्यक्रम पनि रहेको छ । यसका साथै २ हजार ५ सयमा तुलादान गर्ने अवसरको पनि व्यवस्था रहेको महायज्ञ आयोजक मूल समितिका संयोजक रुपा वलीले जानकारी दिनुभएको छ ।