प्रहरीमा दुई डीआईजी थप्न चलखेल, धिरजप्रताप सिहपनि डिआइजीको दौडमा

२०७५ माघ २७, आईतवार ००:५९ मा प्रकाशित

काठमाडौं– गृह मन्त्रालयले नेपाल प्रहरीमा दुई डीआईजीको पद थप्ने तयारी गरेको छ । प्रहरीमा हाल एक डीआईजीको पद खाली रहेको छ ।

एकमात्र दरबन्दीमा बढुवा हुन चाहने आकांक्षीहरु धेरै भएसँगै मन्त्रालयका सचिव प्रेम कुमार राईको चाहनामा विशेष पद सिर्जना गरेर डिआईजी पद थप गर्ने तयारी भएको बताइएको छ ।

नेपाल प्रहरीमा अहिले २४ जना डिआईजी कार्यरत छन् । कार्तिक १० गते काभ्रेको मण्डन देउपुर नगरपालिका–६ मा जीप दुर्घटनामा परेर डीआईजी सुशील भण्डारीको मृत्यु भएपछि उक्त पद अहिले खाली रहेको छ ।

भण्डारीको स्थानमा डीआईजी बढुवा गर्ने तयारी भइरहेको बेला गृहसचिव राई उक्त अवसरको सदुपयोग गर्दै विशेष पद सिर्जना गर्न लागिपरेका हुन् ।

प्रधानमन्त्री केपी ओली समेतले आफ्ना मान्छेलाई बढुवा गर्नुपर्ने भन्दै विशेष पद सिर्जना गर्नेगरी प्रस्ताव तयार गर्न गृह–सचिव राइलाई निर्देशन दिएको प्रधानमन्त्री निकट एक नेताले जानकारी दिएका छन् ।

प्रहरीमा अहिले कार्यरत २४ जना डिआईजीहरु सवैले क्रियाशिल भूमिका पाएका छैनन् । डिआईजीको संख्या बढाउँदा साधन, स्रोत र थप आर्थिक व्ययभार समेत बढ्छ ।
को–को छन् प्रतिस्पर्धी ?
नेपाल प्रहरीमा अहिले खाली रहेको एक सिटमा डिआईजी बढुवा हुनका लागि एसएसपीहरु धिरजप्रताप सिह, गणेश ऐर, विरेन्द्र श्रेष्ठ, घनश्याम अर्याल, बसन्त पन्त, विश्वराज पोखरेल, उत्तम सुवेदि लागी परेका छन ।

आईजीपी सर्वेन्द्र खनाल डिआइजिमा आफू निकट सिहलाई ल्याउन लागि परेका छन । त्यस्तै  कल्याण शाखामा कार्यरत एसएसपी गणेश ऐर पनि डिआईजी बन्ने दौडमा छन । पछिल्लो ब्याचका धिरजप्रताप सिह र विश्वराज पोखरेल बिच पनि तीब्र प्रतिस्पर्धा रहेको बताइएको छ ।
सत्तापक्षका केही नेताको दवावमा सिह र पोखरेल र बीचको प्रतिस्पर्धा चुलिएको बताइएको छ ।

डीआईजीको संख्या थप गर्न लागिएकोबारे जिज्ञासामा गृहसचिव राईले अनभिज्ञता जनाए ।

‘थाहा छैन’ उनल भने, ‘आफू–आफैं बढाउने हुन् मलाई त्यसबारे थाह भएन ।’