घुम्न जाउँ तुलसीपुर’ अभियानको शुरु

२०७६ आश्विन २४, शुक्रबार १६:३० मा प्रकाशित

भ्रमण वर्ष २०२० लाई लक्षित गरेर तुलसीपुर उपमहानगरपालिकाले ‘घुम्न जाउँ तुलसीपुर’ अभियानको शुरुवात गरेको छ ।

तुलसीपुर उपमहानगरलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न उपमहानगरपालिकाले अभियानको शुरुवात गर्न लागेको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।

SPONSORED

तुलसीपुर उपमहानगरपालिकाले आरम्भ गरेको ‘घुम्न जाउँ तुलसीपुर अभियान’का लागि स्थानीय २ जना युवाहरुले देशका ५५ जिल्लामा मोटरसाईकल यात्रा गर्नेछन् ।

SPONSORED

SPONSORED

स्थानीय बसन्त भण्डारी र मनराज पुनले तुलसीपुरका पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि ५५ जिल्लामा मोटरसाईकल यात्रा गर्न लागेका हुन् । तुलसीपुरका पर्यटकीय क्षेत्रका बारेमा उपमहानगरपालिकाले तयार पारेको पुस्तिका समेत उनीहरुले विभिन्न ठाउँमा वितरण गर्नेछन् ।

उपमहानगरपालिकाले कार्यक्रमको आयोजना गरेर उनीहरुलाई विदाई गरेको छ । नगरप्रमुख पाण्डेले विदाई गर्दै देशभरका मानिसहरुलाई तुलसीपुरका पर्यटकीय क्षेत्रका वारेमा जानकारी गराउनका लागि आग्रह गरेका थिए । तुलसीपुरका प्राकृतिक, सांस्कृतिक र धार्मिक स्थलहरुको प्रचारप्रसार गरेर पर्यटक भित्र्याउन नगरप्रमुख पाण्डेले आग्रह गरे ।

उनले सांस्कृतिक, प्राकृतिक र ऐतिहासिक नगरका रुपमा तुलसीपुरलाई स्थापित गर्न विभिन्न योजना निर्माण गरिएको बताए । तुलसीपुर थारुहरुका राजा दंगिशरण थारुदेखि मल्ल  राजाहरुले राज्य गरेको स्थल रहेकाे इतिहास छ । धार्मिक मान्यता अनुसार सतिदेवीको अंग पतन भएको मालिका कालिका मन्दिरसँगै बबई सभ्यतासँग जोडिएको बबई नदीसमेत यहि स्थल भएर बहने हुँदा यसकाे गरिमा अझ बढी रहेको स्थानीय बताउँछन् ।

पर्यटकीय आकर्षणका केन्द्र भएर पनि उचित प्रचारप्रसार हुन नसक्दा यस क्षेत्रलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न नसकिएको भन्दै उपमहानगरपालिकाले अभियानको शुरुवात गरेको पनि नगरप्रमुख पाण्डेले बताए ।

उपमहानगरपालिकाले भ्रमण वर्षलाई लक्षित गरेर पम्प्लेट, पोस्टर र व्रोसर प्रकाशन, तुलसीपुरका पर्यटकीय क्षेत्रसँग सम्बन्धित विषयमा भिडियो तथा फोटो प्रतियोगिताका साथै तुलसीपुरलाई आधार बनाएर सिनेमा या वृत्तचित्र छायांकन गर्नेलाई अनुदान दिने समेत व्यवस्था गरेको छ ।

उपमहानगरपालिकाभित्र थारु, मगर र गुरुङ जातिको बाहुल्यता रहेको ठाउँमा होमस्टे सञ्चालनका लागि तयारीसमेत उपमहानगरपालिकाले गरिरहेको छ । नगर प्रमुख पाण्डेले भ्रमण वर्षलाई लक्षित गरेर १ लाख आन्तरिक र वाह्य पर्यटक भित्र्याउने लक्ष्य लिइएको समेत जानकारी दिए ।

उनले तुलसीपुरमा पर्यटनको प्रशस्त आधार रहेको भन्दै त्यसको प्रचारप्रसार आवश्यक रहेको कुरामा जोड दिए । माेटरसाइकल यात्रीद्वय भण्डारी र पुनले पूर्व पश्चिम महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्गका ५५ जिल्लाको भ्रमण गर्दै तुलसीपुरकाे पर्यटकीय क्षेत्रका बारेमा प्रचारप्रसार गर्ने तथा यहाँकाे बारेमा जानकारी दिने छन् । कार्यक्रममा सिंगापुरमा सम्पन्न एसिया प्यासिफिक फेसन एण्ड फ्रेण्डशीपकी बिजेता यान्शु श्रेष्ठलाई पनि उपमहानगरले सम्मान गरेको थियाे ।