नेपाल संस्कृत विश्व विद्यालयले इतिहास र संस्कृतिको क्षेत्रमा भने जति पनि योगदान दिन सकेनः मुख्यमन्त्री पोख्रेल

२०७६ जेष्ठ २५, शनिबार २०:१७ मा प्रकाशित

घाेराही, २५ जेठ । मुख्यमन्त्री शंकर पोख्रेलले नेपाल संस्कृत विश्व विद्यालयले इतिहास र संस्कृतिको विषयमा भने जति योगदान दिन नसकेको गुनासो गर्नु भएको छ । इतिहास र संस्कारका विषयमा चासो राख्ने विश्वविद्यालयबाट नै यस क्षेत्रमा ध्यान पुग्न नसक्नु बिडम्बना भएको बताउनु भएको हो ।

संस्कृतका क्षेत्रमा हुनु पर्ने काम हुन नसक्नु निकै लज्जास्पद भएकाले यो अवस्था सुधार्नु पर्ने बेला आएको बताउनु भएको छ । प्रदेश ५ ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा तपोभूमि क्षेत्र रहेकाले यस क्षेत्रको अन्वेषण र अनुसन्धान गर्नु पर्ने भएकाले विश्व विद्यालयले यसको नेतृत्व गर्नु पर्ने बताउनु भयो ।

SPONSORED

आज घोराहीमा जागेश्वर ब्राहमणको स्मृतिग्रन्थ तथा जागेश्वर चरितम काव्यको लोकार्पण गर्दै उहाँले संस्कृतका विषयमा अनुसन्धान गरेर ठोस आधार बाहिर ल्याउन आग्रह गर्दै उहाँले प्रदेश सरकार यसका लागि जस्तो सुकै सहयोग गर्न तयार रहेको बताउनु भयो । परम्परा धान्ने नाउँमा परम्परा पनि गतिलो ढंगले धान्न नसक्नु आफैमा लापरवाहीको पराकाष्ठा भएको उहाँको तर्क थियो ।

जागेश्वर जस्ता इतिहासकार तथा संस्कृतका क्षेत्रमा योगदान दिनु भएका व्यक्तित्वका बारेमा जति प्रशंसा गरे पनि कम हुने भन्दै उहाँहरु जस्तै व्यक्तित्वहरुले देखाएको बाटो र योगदानबाट प्रेरणा लिएर केही गरेर देखाउन सरोकार निकायलाई उहाँको आग्रह थियो ।
उहाँले भन्नुभयो, ‘इतिहास डोर्याउने नाउँमा जेनतेन परम्परा धान्ने काम भइरहेको छ त्यो पनि काम चलाउ रुपमा, त्यही परम्परा धान्न नसेकेर थला पर्ने अवस्थामा पुगेको छ, यो कस्तो बिडम्बना हो ।’

SPONSORED

अरु थुप्रै जागेश्वर जन्माउन संस्कृत विश्व विद्यालय जाग्नु पर्ने बेला आएको उहाँको तर्क थियो । जागेश्वर ब्राहमण स्मृतिग्रन्थ प्रकाशन समितिका संयोजक प्राध्यापक डा. भागवत शर्माको अध्यक्षतामा भएको कार्यक्रममा एकराज शर्मा र नारायणप्रसाद शर्माले जागेश्वरको जीवनी बारे प्रकाश पार्नु भएको थियो भने प्राध्यापक लेखनाथ आचार्य र सह प्राध्यापक सरस्वती पोख्रेलले प्रकाशित काव्यको समीक्षा गर्नु भएको थियो ।