नेपालमा धर्म परिवर्तनको कारुणिक चित्र : एक हातमा बाइबल, अर्कामा डलर

२०७६ बैशाख ११, बुधबार २२:०३ मा प्रकाशित

एसीया प्यासिफिक समिटपछि क्रिश्चियनको चलखेल बढ्यो

काठमाडौं, ११ वैशाख । नेपालमा धर्म परिवर्तनको प्रचारका लागि विदेशीको घुसपैठ ठूलो आँकडामा हुन थालेका तथ्यहरू खुल्न थालेका छन् ।

SPONSORED

अघिल्लो बर्षको मध्यतिर क्रिश्चियन धर्म प्रचारका लागि एसीया प्यासिफिक क्षेत्रका राष्ट्र र सरकार प्रमूख नै बोलाएर गरिएको सम्मेलन सरकारको सुरक्षा घेरामा नै भएपछि क्रिश्चियन धर्म प्रचारकको घुसपैठ बढेको हो ।

SPONSORED

सम्मेलनको केही दिनमा नै एक अस्ट्रेलियन नागरिकलाई धर्म प्रचार गरेका कारण पक्राउ गरी फर्काइएको थियो । संस्थागत रूपमा नै धर्म प्रचार र धर्मान्तरणका लागि प्रेरित गर्ने अन्य पनि पक्राउ पर्न थालेका छन् ।

SPONSORED

खासगरी काठमाडौंसहित पश्चिम नेपालका गाउँमा यस्ता समूहको सक्रियता रहेको पछिल्ला विवरणहरूले देखाउन थालेको छ । गरिब, विपन्न परिवारमा सहयोगका नाममा बाइबलका किताबसहित प्रचारकहरू पक्राउ परेका छन् ।

क्रिश्चियन धर्मको प्रचार गरेको अभियोगमा दाङ प्रहरीले मंगलबार दुई विदेशीसहित पाँच जनालाई पक्राउ गरेको हो । घोराहीको होटेल डोकोबाट अमेरिकी महिला सिनक्वान्टा ओलिएना मे, भारतीय नागरिक गौरव श्रीवास्तवका साथै क्रिश्चियन समाजका महासचिव पोखराका डिल्लीराम पौडेल, संखुवासभाका कुन्साङ तामाङ र गाडी चालक नेपालगञ्जका प्रमोद काफ्ले पक्राउ परेको दाङ प्रहरीले जानकारी दिएको छ ।

उनीहरूको साथबाट बा१३प ३१९६ स्कर्पियो गाडी, कार्टुनभरी बाइबल, रकम राखिएका खाम, दमको उपचारका क्रममा वाफ दिने मेसिन, ल्यापटप, पेनड्राइभलगायतका सामग्री जफत गरिएको जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले बताए ।

पक्राउ परेकामध्ये अमेरिकी महिलाबाहेक तीन नेपाली र एक भारतीयलाई मुलुकी अपराध संहिता ऐनको दफा १५८ विपरीत धर्म परिवर्तन गराएको अभियोगमा मुद्दा चलाएको प्रहरी पाण्डेले जानकारी दिए । अमेरिकी महिलालाई भिसा रद्द गरी सम्बन्धित देशमा फिर्ता पठाउन अध्यागमन कार्यालय काठमाडौंलाई पत्राचार गरिएको छ ।

होटेलमा बस्ने, गाउँमा पुगेर धर्म प्रचार गर्ने र मानिसहरूलाई आर्थिक तथा उपचारको प्रलोभन देखाएर धर्म परिवर्तन गराउने गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको थियो ।

कतिपय गैर सरकारी संस्थाले कार्यक्रम र सहयोगका नाममा ग्रामिण बस्तीलाई प्रभावित बनाउने गरेको पनि पाइएको छ । नेपाल धर्म निरपेक्ष घोषणा भएपछि क्रिश्चियन धर्म प्रचार खुलेआम हुने गरेको छ ।

धर्म प्रचारका लागि नेपाल भ्रमण अथवा अन्य विशेष कामको भिसा लिएर आएका विदेशीको सक्रियता बलियो देखिन्छ । उनीहरू एक हातमा बाइबल र अर्को हातमा डलर बोकेर नेपाली गाउँ छिर्ने गरेका अध्ययनहरूले पुष्टि गरेको छ ।

गृह मन्त्रालयले दुई जापानी नागरिकलाई धर्म प्रचार गरेको आरोपमा देश निकाला गरेको थियो । इसाई धर्म प्रचारमा संलग्न मोरिता मासाहिरो र हासिमोतो युकारीलाई नेपाल प्रवेशमा पाँच वर्ष प्रतिबन्ध समेत लगाएको थियो । उनीहरू विद्यार्थी भिसामा नेपाल बस्दै आएका थिए ।

कास्कीको पोखरा फूलबारीस्थित शिवशक्ति क्याम्पसमा शिक्षाशास्त्र संकाय अध्ययन गर्न उनीहरूले भिसा लिएका थिए । विद्यार्थी भिसा लिएर धर्मप्रचार गरेकाले निकालिएको थियो ।

विभिन्न धार्मिक आस्थामा रहेका गरिबलाई सहयोगका नाममा यसरी धार्मिक प्रचार हुने गरेको छ । यो गाउँमा मात्र सीमित नभएर कारागारमा रहेको कैदीबन्दीमा पनि पुगिसकेका केही तथ्य अघि छन् ।

वीरेन्द्रनगर–१ स्थित अनुग्रह चर्चका केही ‘विश्वासी’ले  जिल्ला कारागारमा पुगेर कैदी–बन्दीका लागि खाद्यान्न सहयोग गर्दै धर्म प्रचारको केन्द्र बनाएका थिए ।

शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका सहयोग प्रदान गर्ने नाममा कारागारभित्रैबाट उनीले सयौं अनुयायी जन्माएको दाबी गरिएको थियो । कारागार प्रशासनले विरामी कैदी–बन्दीलाई अस्पताल पुराएर उपचार गराउनुको सट्टा पाष्टरहरू बोलाएर ‘प्रार्थना’ गर्न लगाउने गरेको छ ।  कारागार प्रशासनले पुस्तकालय, सीपमूलक तालिम, खाद्यान्न सहयोग, भौतिक संरचना निर्माणलगायतका नाममा काठमाडौंदेखि पोखरासम्मका चर्चका ‘पाष्टर’ र ‘अनुयायी’ लाई कारागारभित्र निर्वाध प्रवेश दिन्छ ।

‘सहयोग’ र ‘प्रेम’बाट कैदी–बन्दीको जीवन परिवर्तन गर्ने भन्दै उनीहरू जेलभित्रै धर्मप्रचार गर्छन्। कैदी–बन्दीलाई प्रार्थना गर्न लगाउँछन् । जेलभित्र सजाय भुक्तान गरिरहेका कैदी–बन्दी मात्रै होइन् उनीहरूका परिवार र सन्तान खोज्दै प्रभुका अनुयायीहरू घरैसम्म पुग्छन्। त्यहाँ पनि आर्थिक, खाद्यान्न, शैक्षिकलगायत सहयोगको नाममा आफ्नो सञ्जाल विस्तार गरिरहेका छन् ।

अन्य भन्दा क्रिश्चियन धर्म प्रचारकको बाक्लो उपस्थिति र प्रभावमा धर्म परिवर्तन गर्नेको संख्या बढ्न थालेको पनि बताइन्छ । सरकारले केहीलाई पक्राउ गरे पनि राज्यको प्रशासनिक केन्द्रमा प्रभाव जमाउनेको आडमा धर्मान्तर भइरहेको भन्दै विरोध पनि भएका छन् ।

एसीया प्यासिफिक समिटमा धर्म प्रचार भएको भन्दै सत्तारुढ नेकपाका नेता भिम रावलले नै विरोध गरेका थिए । तर, सरकारले त्यसको बचाऊ गरी पुरस्कार नै थापेको थियो ।