राम्रीको मोड काट्न २५ गतेसम्म अधिकांश समय सडक बन्द, तालिका हेर्नुहाेस्

२०७६ बैशाख ६, शुक्रबार २०:५२ मा प्रकाशित

घाेराही, ६ बैशाख । राप्ती लाेकमार्ग शनिबारदेखि बैशाख २५ गतेसम्म दिनभर बन्द हुने भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ स्थित राम्रीको मोड काट्ने कार्य भइरहेको हुँदा शनिबारदेखि उक्त राजमार्ग अधिकांस समय बन्द हुने भएको छ ।

राम्री मोड काट्ने जिम्मा लिएको उज्ज्वल निर्माण सेवाका दिपक न्यौपानेले कटिङको काम हुँदा सम्भावित जोखिमका कारण सडक खण्ड आंशिक रुपमा सञ्चालन गरिने जानकारी दिए ।

SPONSORED

न्यौपानेका अनुसार शनिबार बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म र राति १ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडक खण्ड बन्द गरिने भएको छ । गलत रोड इञ्जिनियरिङले गर्दा राम्रीको मोडबाट पटक–पटक सवारी दुर्घटना हुने गरेको प्रदेश प्रहरीको निष्कर्षपछि राम्रीको मोड काट्न टेण्डर आह्वान गरिएको थियो ।

SPONSORED

साे ठाउँमा पुस ६ गते भएको बस दुर्घटनामा परी घोराहीमा अध्यनरत १९ विद्यार्थी, २ शिक्षक र चालक, सहचालक गरी २३ जनाको मृत्यु भएपछि प्रहरीले त्यो बारे बुझ्न छानबीन समिति गठन गरेको थियो ।

SPONSORED

५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका एसएसपी नरबहादुर केसीको संयोजकत्वमा गठित छानबीन समितिले आफ्नो प्रतिवेदनमा गलत रोड इञ्जिनियरिङले गर्दा राम्रीमा पटक–पटक दुर्घटना हुने गरेको निष्कर्ष निकाल्दै त्यहाँको ढिस्को काट्न सुझाएको थियो । गत चैतमा पनि त्यहीँ ना ६ ख ५४१४ नम्बरको ट्रक खसेको थियो ।