बढ्दै मानव ओसारपसार,पीडितहरु मुद्दा दर्ता र दलालको नाम भन्न चाहँदैनन्

२०७५ चैत्र २९, शुक्रबार १७:३६ मा प्रकाशित

अमृता अनमोल

बुटवल — तिलोत्तमा नगरपालिका टिकुलीगढकी राधा थापा भारतीय बाटो हुँदै ओमन जाँदै थिइन् । फागुन १० मा बेलहिया प्रहरीको निगरानीमा उनी परिन् । उद्धार गरेर प्रहरी कार्यालयको महिला तथा बालबालिका सेलमा पठाइयो । तर, राधाले पठाउने दलालको नाम बताइनन् । मुद्दा दर्ता गर्न पनि मानिनन् ।

SPONSORED

विदेश जान्न भनेर घर फर्किन् । तिनै राधा फागुन १६ मा भारतीय बाटो हुँदै पुनः ओमनका लागि दिल्ली गइन् । ‘तर, अझै ओमन पुगेकी छैनन्,’ राधाकी आफन्ती सीता रानामगरले भनिन्, ‘केही दिन भन्दै दलालले दिल्लीमै रोकेर राखेको छ रे !’ हेटौंडाका रामप्रसाद लामिछानेले कमाएर ६० हजार दिए हुने भन्दै उनलाई विदेश पठाएका थिए । रामप्रसादलाई घरपरिवारले पनि राम्ररी चिनेको छैन ।

रोजगारीका नाममा यहाँ अवैध ओसारपसार र बेचबिखन गर्ने क्रम बढ्दो छ । धेरै पैसा कमाउने लोभ देखाएर विदेश लैजाने नाममा अलपत्र पर्ने बढेपछि पछिल्लो समय प्रहरीले सीमा क्षेत्रमा निगरानी बढाएको हो । अवैध रूपमा विदेश जाँदै गरेका महिलालाई प्रहरीले पक्राउ पनि गरेको छ । तर, अधिकांश महिलाले उजुरी दर्ता गराएका छैनन् । पटक–पटक काउन्सिलिङ गर्दा पनि उजुरी दिन र दलालको नाम बताउन नमानेपछि प्रहरीले त्यस्ता महिलालाई त्यत्तिकै छोड्ने गरेको हो ।

चितवनको रत्ननगर नगरपालिकाकी पार्वती विक र शोभा विकलाई पनि माघ १३ मा बेलहियामा आफन्त नेपालका सहजकर्ताले फेला पारे । नागरिकता र राहदानीबिना भारतीय बाटो हुँदै दुबई जान हिंडेका उनीहरूलाई प्रहरीको जिम्मा लगाइयो । उनीहरूलाई छिमेकी दिलमाया विकले दुबई पठाउँदै थिइन् । तर, राजीखुसी जान लागेको भन्दै मुद्दा दर्ता गर्न मानेनन् । प्रहरीले तीन दिनसम्म राखेर परामर्श गर्दा पनि उजुरी नदिएपछि घर पुर्‍याइदियो । ती महिला पनि अहिले अर्को बाटो हुँदै दुबई पुगेका छन् ।

SPONSORED

प्रहरीले चार वर्षयता बेचबिखन तथा अवैध ओसारपसारको शंकामा १ हजार ३ सय ९४ को उद्धार गरेको छ । तर, चार वर्षमा ९४ मात्रै मुद्दा दर्ता भएका छन् । तथ्यांकअनुसार चालु वर्षको फागुन मसान्तसम्म मात्रै रोजगारीका नाममा अवैध ओसारपसार र बेचबिखनको जोखिममा रहेका २ सय ५३ लाई प्रहरीले सीमा क्षेत्रबाट उद्धार गरेको छ । त्यसमध्ये नौ जनाले मात्रै मुद्दा दर्ता गराए ।

गत आवमा जोखिममा परेका ४ सय ७६ लाई सीमा क्षेत्रबाट उद्दार गरिएको थियो । त्यसमध्ये ३८ जनाले मुद्दा दर्ता गराएका थिए । आव ०७३/७४ मा ५ सय १६ को उद्धार भएको थियो । २८ ले मात्रै मुद्दा दर्ता गराए । आव ०७२/७३ मा १ सय १३ जनालाई सीमा क्षेत्रबाट फर्काइएको थियो । तर, उक्त वर्षमा पनि बेचबिखनका १९ वटा मात्रै मुद्दा दर्ता भए ।

रूपन्देही प्रहरी प्रमुख हृदय थापाले पीडितले दलाल नबताउँदा प्रमाण जुटाउन र मुद्दा प्रक्रियामा जान नसकेको बताए । बेचबिखन तथा ओसारपसारमा आफन्तको संलग्नता हुने भएकाले पनि आरोपीलाई पक्राउ गर्न र मुद्दा प्रक्रियामा लैजान समस्या हुने उनले जनाए ।

प्रहरी अनुसन्धानअनुसार अवैध ओसारपसार तथा बेचबिखनका अधिकांश घटनामा युवतीलाई सीमा कटाउन लगाएर अभियुक्त पहिल्यै सीमा काटने गरेका छन् । यस्तोमा धेरैले दलालको सक्कली परिचय बताउन सक्दैनन् । बताउन सक्नेले पनि आफू अप्ठ्यारोमा पर्ने भन्दै बोल्दैनन् ।

प्रहरीको महिला तथा बालबालिका केन्द्रकी असई मीना आचार्यले पहिचान नखुल्ने भएकाले पक्राउ गर्न र कारबाही प्रक्रिया अघि बढाउन पनि नसकिएको बताइन् । ‘रोजगारका नाममा हुने अवैध बेचबिखनका पीडितले पीडा नभोग्दासम्म बुझ्दैनन् । त्यसैले दलाल बताउन र मुद्दा दर्ता गर्न मान्दैनन्,’ उनले भनिन्, ‘उपाय नलागेपछि प्रहरी पनित्यत्तिकै छोड्न बाध्य हुन्छ ।’

सीमा क्षेत्रमा प्रहरीसहित पाँचवटा सामाजिक संस्थाले निगरानी केन्द्र खोलेका छन् । बुटवल र भैरहवा बसपार्क परिसरमा पनि यस्ता केन्द्र छन् । उनीहरूले अवैध ओसारपसार तथा बेचबिखनको निगरानी गर्छन् ।