अपहरण आरोपमा पक्राउ परेकालाई छुटाउन सांसदहरुले नै दिए दवाव

२०७५ चैत्र २९, शुक्रबार १७:२९ मा प्रकाशित

बुटवल २९ , चैत

लुम्बिनी सांस्कृतिक नगरपालिका ११, मोगलहाकी १८ वर्षीय ममता चौहान अपहरण आरोपमा पक्राउ परेकाहरुलाई छुटाउन सांसदहरुले दवाव दिएको पीडित परिवारले गुनासो गरेका छन् ।

SPONSORED

शारीरिक तथा मानसिक रुपमा अशक्त चौहानलाई चैत २० गते राति अज्ञात समूहले अपहरण गरी घरदेखि करिब एक किलोमिटर टाढा खेतमा लगेर छाडेका थिए । घटना लगत्तै प्रहरीले गोरु तस्कर भनेर चिनिने चौहानको घरछेउकै मोविन मुसलमान, लौटन भनेर चिनिने हरिराम हरिजन, चन्द्रिका पासी, बह्रमानन्द हरिजनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

मोविनलाई छुटाउन प्रदेश सभा सदस्य फकरुद्दिन खां र वसिउद्दिन खांले दवाद दिइरहेको पारिवारिक स्रोतले दावी गरेको छ । मोविनले लामो समयदेखि लुम्बिनी क्षेत्रमा गोरु तस्करी गर्दै आएका थिए । गोरु तस्कर बढेको भन्दै पत्रकार विन्दुकुमारले घटना अघि समाचार लेखेका थिए । समाचार लेखेको भन्दै आफुमाथी आक्रमण गर्ने, पारिवारिक इज्जत लुट्ने लगायतका धम्की आइरहेको विन्दुले बताए । समाचार प्रकाशित भएको चार दिनपछि उनकी छोरी ममतालाई अपहरण गरी खेतबारीमा लगेर छाडिएको हो ।

SPONSORED

पक्राउ परेका चारैजनालाई अहिले इलाका प्रहरी कार्यालय लुम्बिनीले थुनामा राखेर अनुसन्धान गरिरहेको छ । आफ्नी छोरी अपहरणमा परेपछि पत्रकार विन्दुले रुपन्देही प्रहरीमा निवेदन दिएका थिए । प्रहरीले पक्राउ परेकाहरुमाथि गालीगलौज र अपहरण मुद्दामा अनुसन्धान गरिरहेको प्रहरी प्रमुख एसपी हृदय थापाले जानकारी दिए । सांसद फकरुद्दिनले आफूले कसैलाई पनि छुटाउन दवाव नदिएको दावी गरे ।