ओली सरकार जनतामारा बन्दै गयाे- कांग्रेस नेता डा. संग्राैला

२०७५ चैत्र १४, बिहीबार २२:४२ मा प्रकाशित

घाेराही, चैत्र १४ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा नेपाल महिला संघकी पूर्व अध्यक्ष डा. डिला संग्रौलाले वर्तमान सरकार जनतामारा बन्दै गएको आरोप लगाउनु भएको छ । जनअपेक्षा अनुसारका कुनै पनि गतिलो काम गर्न नसकेको भन्दै उहाँले सरकारका हरेक गतिविधि भ्रष्टाचार उन्मुख रहेको बताउनु भयो ।

जनताको भावना विपरित भ्रष्टाचारलाई स्थागत गर्ने काममा सरकार तल्लीन रहेको बताउँदै उहाँले केन्द्रदेखि स्थानीय तहसम्म भ्रष्टाचार नियन्त्रण गर्न सरकार असफल बन्दै गएको आरोप थियो । नेपाल प्रेस युनियन दाङ शाखाले बिहीबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य डा. संग्रौलाले सरकार शान्ति ,समृद्धि र सुशासनका कुरा गर्ने तर व्यवहारमा आफै भ्रष्टाचारको दलदलमा फस्दै गएको बताउनु भयो ।

SPONSORED

सरकार व्यवहारमा सुशासनका कुरा गर्ने तर आफै भ्रष्टाचारमा संलग्न भईरहेकाले त्यसको विरुद्ध खवरदारी गर्न देशव्यापी जागरण अभियान चलाएको बताउनु भयो । नेता डा. संग्रौलाले वाइडबडी खरिद अनियमितता, ३३ किलो सुन काण्डका दोषीलाई कारवार्ही नगर्नु, वुढिगण्डकीको ठेक्का बिना टेण्डर दिनु तथा प्रधानमन्त्रीले एकलैटी रुपमा अधिकार आफूमाथि केन्द्रित गर्न खोज्नु सर्वसत्तावादको उपज भएको तर्क गर्नु भयो ।

त्यस्तै, निर्मला पन्तका हत्यारालाई सरकारले सिंह दरवारभित्रै संरक्षण गरेकाले बलात्कारपछि हत्या भएको आठ महिनासम्म पनि वास्तविक अपराधी पक्राउ पर्न नसकेको बताउनु भयो ।

यस्तै, उहाँले अब पार्टीको नेतृत्व गर्न महिलाहरु सक्षम भइसकेको बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘पार्टीमा भाग पुर्याउन महिलाहरु आएका होइनन्, अब नेपाली काग्रेसको नेतृत्व लिन समेत सक्षम भइसकेका छन ।’ त्यसैका लागि अहिले पार्टीभित्र महिलाहरुले निरन्तर संघर्ष गरिरहेकाले नेतृत्व वर्गले यसको सम्बोधन गर्ने तर्फ ध्यान दिनु पर्ने उहाँको आग्रह थियो । पत्रकार सम्मेलन प्रेस युनियन दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको थियो ।

SPONSORED