सेन्टर मावि तुलसीपुरमा पढाइ मेला

२०७५ फाल्गुन २९, बुधबार २०:१९ मा प्रकाशित

उमा भण्डारी

तुलसीपुर, २९ फागुन ।
रमाइलो पढाइ र दिगो विकास अभियानअन्तर्गत सञ्चालन भएको राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ मेला कार्यक्रम तुलसीपुरमा भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनमा सञ्चालन गरिएको उक्त कार्यक्रम मंगलबार माध्यमिक विद्यालय तुलसीपुर सेन्टरमा भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिखतराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले दक्ष जनशक्तिको मुख्य पूर्वाधार कक्षा १ देखि कक्षा ३ सम्मको भएको बताएका थिए ।

SPONSORED

बालबालिकाको आधारभूत शिक्षालाई बलियो बनाउनका लागि राष्ट्रिय अभियानको रुपमा सञ्चालन भएको यो अभिायनलाई सबै मिलेर सफल बनाउनुपर्ने उनीहरुको भनाइ छ । राज्यले शिक्षा क्षेत्रमा गरेको लगानी उचित रुपमा प्रयोग नहुँदा अहिले पूर्वाधारहरु दिनप्रतिदिन कमजोर भईरहेको समेत बताए । दक्ष, सक्षम र उद्यमशील नागरिक उत्पादनका लागि विद्यालयको व्यवस्थापन समिति, शिक्षक व्यवस्थापन समितिहरुले आवश्यक पर्ने पूर्वाधार र प्रविधिको विकास गर्नुपर्ने बताए ।

यस्तै पढाइ र सिकाइको गुणस्तर तुलनात्मक रुपमा कमजोर भइरहेको कार्यक्रमका प्रमुख अतिथि एवं तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले बताए । ‘शिक्षा क्षेत्रको जग आधारभूत तहको शिक्षा भएकाले यसको आधार बलियो बनाउन अत्यावश्यक छ । यसका लागि पहिले विद्यार्थीहरुको पढाइ सुधार्नका लागि सर्वप्रथम शिक्षक जिम्मेवार बन्नु पर्दछ’ उनले भने ‘जग बलियो भयो भने घर बलियो हुन्छ, यसर्थ आजैबाट सबैजना बालबालिकाको भविष्यका लागि गम्भीर भएर लाग्नुपर्दछ ।’

जसका लागि प्रत्येक शिक्षकले शैक्षिक सामाग्री, पाठ्यपुस्तक, पाठ्यक्रमको उचित व्यवस्थापन गरी हरेक विद्यार्थीहरुको आवश्यकतालाई मध्यनजर गर्नुपर्ने उनले बताए । विद्यार्थीहरुलाई प्रमुख केन्द्रविन्दुमा राखेर पढाउने बानीको विकास भयो भने राज्यको लगानी खेर नजाने उनको भनाइ छ ।

SPONSORED

यस्तै विद्यार्थीहरुको क्षमताका आधारमा कमि, कमजोरी र सुधारलाई मूल्याङ्कन गरी सूचना र मनोरञ्जनको माध्यमबाट अध्ययन गर्ने गराउने वातावरणको व्यवस्था अनिवार्य भएको उनले बताए । बोल्ने, लेख्ने र पढ्ने बानीको विकास हुन नसक्दा यसले समाजमा प्रत्यक्ष रुपमा नकारात्मक असर पारिरहेको विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले बताए ।

कार्यक्रमको विषयवस्तुलाई प्रष्ट पार्दै उनले राष्ट्रिय तथ्याङ्क अनुसार आधारभूत तहको शिक्षाको गुणस्तर दिन प्रतिदिन घटिरहेको जानकारी दिए । यसलाई माथि उठाउनका लागि विद्यालय र घरपरिवारको वातावरण विद्यार्थीमैत्री बनाउनुपर्नेमा उनले जोड दिएका हुन् । कार्यक्रमका अवसरमा तुलसीपुर उपमहानगरपालिका उपप्रमुख माया आचार्य, वडा नम्बर ६ का वडा अध्यक्ष नवराज लामिछाने, नगर शिक्षा समिति संयोजक देवराज विक, शिक्षा शाखा प्रमुख मुकुन्द रिजाल, अमर मावि उरहरीका प्रधानाध्यापक पदमप्रसाद न्यौपानेलगायतले आधारभूत तहको पढाइ कमजोर भएकै कारण समग्र शिक्षामा प्रतिकूल असर परेको बताए ।

सरकारले जसरी प्रतिफल बढाउने उद्देश्यले लगानी गरेको छ । यसलाई सबैले बुझेर यसको उद्देश्य अुनसार अगाडि बढ्न अनिवार्य भएको बताएका थिए । उक्त अवसरमा कक्षा १ देखि कक्षा ३ सम्मका विद्यार्थीहरुको प्रत्यक्ष रुपमा बोलेर पढ्ने अभ्यास गराइएको थियो । यस्तै विद्यार्थीहरुद्वारा हस्तनिर्माण सामाग्रीहरुसमेत प्रदर्शन गरिएको थियो । विद्यालयकी शिक्षिका मेनका भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षिका रमा आचार्यले गरेकी थिइन् ।
प्रदेश टुडे राष्ट्रिय दैनिकबाट