विद्यालयको नियम – ढिलो आए घर फिर्ता (भिडियोसहीत)

२०७५ फाल्गुन २९, बुधबार २०:१६ मा प्रकाशित

सामान्यतया सामुदायिक विद्यालयमा बिहान दश बजेदेखि चार बजेसम्म पढाइ हुन्छ । तर सबै शिक्षक र विद्यार्थीले समयको पालना गर्दैनन् । दाङको एउटा विद्यालयले ढिला आउने शिक्षक र विद्यार्थीलाई कारबाहीस्वरुप घर फिर्ता पठाउने नियम लागू गरेको छ ।

SPONSORED

दाङको घोराहीमा रहेको शुभप्रभात माध्यमिक विद्यालयको मुख्य गेट दश बज्नेवित्तिकै बन्द हुन्छ । १० बजेपछि आउने विद्यार्थी र शिक्षक विद्यालय परिसरमा छिर्न पाउँदैनन् । विद्यालयले दुई महिनाअघि दश बजे विद्यालय आउनै पर्ने नियम लागू गर्दा सुरुका दिनमा धेरै विद्यार्थी र शिक्षक कारबाहीस्वरुप घर फर्किन वाध्य भए । तर अहिले सबै समयमै आउन थालेका छन् । शिक्षक र विद्यार्थी दुवै नियमितरुपमा समयमै आउन थालेपछि शिक्षाको स्तर सुधार भएको विद्यालयको दाबी छ । विद्यालयले लागू गरेको नियमलाई अभिभावकले पनि सकारात्मकरुपमा लिएका छन् । सामुदायिक विद्यालयमा दिनप्रतिदिन खस्कादो शैक्षिकस्तर सुधारका लागि यस्ता उपाय सहयोगी हुने देखिन्छ ।