पर्यटक तान्न ‘होमस्टे’

२०७५ मंसिर १९, बुधबार १४:३३ मा प्रकाशित

लिलाधर वली

दाङ । राप्ती गाउँपालिकाले पर्यटन प्रवद्र्धन र स्थानीयको आयस्तर बढाउन गाउँपालिका भित्र होमस्टेको सञ्चालनको तयारी गरेको छ । गाउँपालिकाले ३ वडामा होमस्टे सञ्चालनमा ल्याउने तयारी गरेको हो । अहिले वडा नं ६ को वगरापुरमा होमस्टे सञ्चालनमा आइसकेको छ ।

गाउँपालिकाले मंसिर ११ बाट गते वडा नं ६ मा थारु होमस्टे सञ्चालनमा ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगतप्रसाद भुसालले बताए । यस आर्थिक वर्ष भित्र वडा नं १ र २ मा पनि होमस्टे सञ्चालनको लागि तयारी भएको भुसालले बताए ।

वडा नं १ र २ मा मगर समुदायको वस्ती बढी रहेकाले मगर होमस्टे सञ्चालन गर्ने तयारी गाउँपालिकाले गरेको प्रमुख प्रशासकिय अधिकृत भुसालले बताए । अहिले वडा नं ६ मा ४ घरबाट होमस्टे सञ्चालन गरीएको र यसलाई बढाउदै लगिने गाउँपालिकाले जनाएको छ ।

होमस्टे सञ्चालन भए पछि आन्तरीक तथा वाहिय पर्यटकहरुको सङख्या वृद्धि हुने समेत गाउँपालिकाले अपेक्षा गरेको छ । ‘होम स्टेले संस्कृति संरक्षणमा महत्वपुर्ण भुमिका खेल्ने छ’ अधिकृत भुसालले भने ‘ यसले लोप हुन लागेको संस्कृति संरक्षण र संस्कृति प्रवद्र्धन, भेषभुसा संरक्षण गर्ने समेत सहयोग मिल्ने छ ।’ पर्यटकहरुको संख्या बढे संगै स्थानियबासीन्दाहरुको आर्थिक रुपमा समेत परिवर्तन आउने प्रमुख प्रशासकीय अधिकृत भुसालले दावी गरे ।

त्यसै गरी स्थानिय बासीन्दाहरुलाई वाहृय वातावरणसंग मानसिक रुपमा जोडिन सहज हुने छ । यसले स्थानिय बासीन्दाहरुले अन्य स्थानका बारेमा समेत जानकारी लिन सक्नेछन् भने होमस्टे भएपछि बाहिर बाट आउने मानिसहरुसंग जोडिएर अगाडि बढ्न सहयोग मिल्ने छ ।

गाउँपालिकाको वडा नं ६ मा सञ्चालनमा ल्याएको थारु होमस्टेमा पुग्ने पर्यटकले थारु समुदायमा खाइने खाना खान पाउने तथा बास बस्न समेत पाउने भएका छन् ।

थारु समुदायको कला संस्कृतिसंग रमाउन समेत पाउने प्रमुख प्रशासकिय अधिकृत भुसालले बताए । त्यसैगरि थारु समुदायका संस्कृति, तथा भेषभुसाका बारेमा जानकारी लिन सक्ने छन् । स्थानिय खाद्यन्नको समेत संरक्षण हुने छ ।

होमस्टे सञ्चालन गर्नेका लागि गाउँपालिकाले स्थानिय बासीन्दाहरुलाई तालिम समेत दिएको थियो । होमस्टेमा आवश्यक पर्ने सरसफाई, जीवनस्तर, होमस्टे पुग्नेलाई गरीने व्यवहार, लगाएतका विषयमा तालिम दिएको गाउँपालिकाले जनाएको छ ।

होमस्टे सञ्चालन गर्ने स्थानका स्थानिय बासीन्दाहरुलाई अध्ययनका लागि अवलोकन समेत गराइएको थियो । वडा नं ६ मा सञ्चालनमा ल्याएको थारु होमस्टेले सञ्चालनमा ल्याएपछि स्थानिय बासीन्दाहरुमा उत्साह बढेको वडा नं ६ का वडा सचिव मंगलप्रसाद चौधरीले बताए ।

४ घरबाट सुरु भएको होमस्टेलाइ बढाउने तयारी समेत स्थानिय बासीन्दाहरुले गरेको उनको भनाइ छ । होमस्टे दिर्घकालीन रुपमा सञ्चालन गर्नेका लागि वडा कार्यालय तथा स्थानिय बासीन्दाहरु सहकार्य गरेर अगाडि बढ्ने स्थानियले बताएका छन् ।

अहिले सञ्चालनमा ल्याएको थारु होम स्टेले थारु समुदायको कला, संस्कृति, भेषभुसा, तथा संस्कारलाई समेत जोगाइ राख्न सहयोग मिल्ने वडा सचिव चौधरीले बताए ।

पुराना होमस्टे सुनसान

विगतमा जिल्लामा सञ्चालन भएका होमस्टे सुनसान नै छन् । साविक सौडियार गाविसको सिसहनिया र लक्ष्मीपुर गाविसको सवारीकोटमा होमस्टे सञ्चालन भएका थिए । तर ति दुबै होमस्टे सुनसान नै छन् ।

सवारीकोटमा मगर ग्रामको रुपमा होम स्टे सञ्चालन भएको थियो भने सौडियारमा थारु ग्रामको रुपमा होम स्टे सञ्चालन भएको थियो । सञ्चालन भएको केही समयसम्म होमस्टे चलपनि त्यसको केही वर्षभित्र बन्द भएका छन् । आजभोली ति होमस्टेमा खासै पर्यटक जाने गरेका छैनन् ।

मगर ग्राममा आन्तरिक पर्यटक पिकनिक खान गएपनि थारु ग्राममा भने कोही जाने गरेका छैनन् । विगतमा ति होमस्टे सञ्चालनको लागि साविक जिल्ला विकास समितिले बजेट समेत दिने गरेको थियो ।

नयाँ संरचनासँगै अब ति सबै स्थानीयतहमा गएका छन् । होमस्टेमा भौतिक पुर्वाधारको अभाव, खानेपानीसँगै अन्य पुर्वाधारको विकास हुन नसक्दा होमस्टे सञ्चालनमा समस्या भएको स्थानीयले बताएका छन् ।

जिल्ला समन्वय समितिका नासु तथा संस्कृति विद्ध डा. गोविन्द आचार्यले पुर्वाधारको अभावको कारण विगतमा जिल्लामा सञ्चालन भएका होमस्टे आजभोली बन्द भएको बताए ।

जिल्लामा पर्यटन प्रवद्र्धन र कला संस्कृतिको संरक्षणमा सहयोग पुर्याउन साविक जिल्ला विकास समितिले केही रकम सहयोग गरेर दुइ ठाउँमा होमस्टे सञ्चालनको काम भएको थियो । तर ति होमस्टे अपेक्षा अनुसार चल्न सकेनन उनले भने ।