पाण्डव शर्मा
घोराही । गत वर्ष मंसिरको महिना । संघीय संसद् तथा प्रदेश सभा सदस्यका निर्वाचनको प्रचारप्रसार भइरहेको थियो । निर्वाचन आउनुभन्दा पहिले उम्मेदवारहरु प्रचार प्रसारमा गाउँगाउँमा घरदैलो गर्दै हिडेका थिए ।

हालका संघीय संसद्का सभामुख कृष्णबहादुर महरा दाङ निर्वाचन क्षेत्र नं २ का प्रत्यक्षतर्फका उम्मेदवार थिए । हरेक टोलमा उम्मेदवार महरा बोल्नुभन्दा पहिले स्थानीयहरुलाई बोल्न दिइन्थ्यो । त्यतिबेला स्थानीयहरुले आफ्नो क्षेत्रको विकास लगायत विभिन्न मागहरु राख्थे ।
साथ साथै अधिकाशं मतदाताहरुले महरा तर्फ हेर्दै भन्ने गर्दथे–‘तपाईलाई जिताउन त मन छ तर, तपाईलाई जिताए पछि अर्को निर्वाचन नआउँदासम्म अनुहार देख्नै पाइदैन, हामीले तपाईलाई किन भोट हाल्ने ।’

मतदाताहरु बोलिसकेपछि महराको बोल्ने पालो आउँथ्यो । त्यसपछि उनले मुलुकको समग्र अवस्था र आफ्ना भावि योजनाहरु प्रस्तुत गर्दै भन्ने गर्दथे–‘मलाई फर्केर आउँदैन भन्ने आरोप लागेको छ, अब निर्वाचित भए भने तपाईहरु आँफै भन्नुहुने छ, महरा कति धेरै हाम्रो गाउँ घरमा आएको हो, हैरान भयो भनेर ।’

त्यस्तै भएको छ आज भोली । महरा निर्वाचित भएको एक वर्ष पूरा भएको छ । यस बीचमा उनी कुनै पनि महिना गृह जिल्ला दाङ नआएको रेकर्ड छैन ।

उनी अहिले प्रत्यक महिना दाङ आउने गर्छन् । अनि गाउँगाउँमा गएर मतदाताका गुनासाहरु सुन्ने गर्छन् । महरा फेरी तीन दिनका लागि भोली दाङ आउँदैछन् ।

महरा तीन दिनको समयमा बिभिन्न औपचारीक कार्यक्रमहरुमा सहभागि हुने नेकपाका केन्द्रीय सदस्य एवं सभामुख कृष्णबहादुर महरा र मुख्यमन्त्री शंकर पोखरेलका तत्कालिन चुनावी कमाण्डर हेमराज शर्मा ‘डायमण्ड’ ले जानकारी दिए । यस अबधिमा महरा मतदाताहरुको कुरा सुन्न विभिन्न ठाउँमा पुग्ने शर्माले जानकारी दिए ।

२०६४ सालमा संविधानसभा सदस्य हुँदा संविधान निर्माणको काममा बढी ध्यान केन्द्रित गर्नु पर्ने भएकाले जनताको घरमा जान नपाइएको उनले बताउने गरेका थिए ।

महरा सभामुख निर्वाचित भएपछि दाङको विकासमा निकै ध्यान दिने गरेका छन् । उनकै पहला दाङमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्न सफल भएको छ । त्यसैगरी मदन भण्डारी मार्ग तथा घोराही देखि रक्षाचौर आँखा अस्पताल पुग्ने बाटो कालोपत्रेमा बजेट पार्न सफल भएका छन् ।

त्यसैगरी नारायणपुरमा प्रस्ताव गरिएको अन्तराष्र्टिय स्तरको विमानस्थल बनाउनका लागि रातो कितावमा पार्न सफल भएका छन् । त्यसैगरी यहाँको शैक्षिक, स्वास्थ्य संस्था तथा पूर्वाधार निर्माणमा ध्यान दिइरहेका छन् ।