क्रिश्चियन धर्म प्रचार गर्न आयोजित समिटका लागि भीभीआइपीलाई बोलाउन प्रधानमन्त्री ओली, सभामुख महरा र मेरो महत्वपुर्ण भुमिका–माधव नेपाल

२०७५ मंसिर १८, मंगलवार १७:४५ मा प्रकाशित

मदर मुन राम्रो मान्छे हो, मैले आशीर्वाद लिएको हुँः माधवकुमार नेपाल

काठमाडौं, १८ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले एसिया समिटको विरोध गर्नेहरू आफैँ समाप्त हुने चेतावनी दिएका छन् ।

‘जनता जान्न चाहन्छन्’ टेलिभिजन कार्यक्रममा पत्रकार ऋषि धमलासँगको अन्तर्वार्ताका क्रममा नेता नेपालले क्रिश्चियन धर्म समर्थक संस्थाले गरेको समिटबाट देशलाई फाइदा भएको बताए ।

समिटका लागि भीभीआइपीलाई बोलाउन नेपाल सरकार, प्रधानमन्त्री केपी ओली, सभामुख कृष्णबहादुर महराको सहभागिता रहेको नेता नेपालले बताए । उनले भीभीआइपीहरूलाई आफूले पनि बोलाएको बताए ।

समिटको आयोजना गर्न महत्वपूर्ण भूमिका खेलेका एकनाथ ढकालकोसमेत नेता नेपालले बचाउ गरेका छन् । नेपाल आफैँ पनि ढकालको सहयोगमा देश विदेश घुम्ने गरेका नेता हुन् ।

समिटमा आएकी मदर मुनको पनि नेपालले खुलेर प्रशंसा गरे । अघिल्लो दिन सोही कार्यक्रममा नेकपाकै नेता भीम रावलले भने समिटको विरोध गरेका थिए । तर नेपालले भने रावलको तर्कप्रति असन्तुष्टि जनाए । नेकपाका नेता नेपालले आफू पनि समिटमा सहभागी भएर मदर मुनको आशीर्वाद लिएको स्वीकार गरेका छन् । ‘मदर मुनको आशीर्वाद लिएको हुँ । म क्रिश्चियन भएको छैन’, उनले भने ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ र झलनाथ खनालसहितका नेताहरूले क्रिश्चियन धर्मसम्बन्धी कार्यक्रम बहिष्कार नगरेको नेता नेपालले दाबी गरे । उनले कार्यक्रममा भएको खर्चबारे भन्न नमिल्ने बताए । ‘खर्च कति भयो भनेर खोज्ने हो भने संयुक्त राष्ट्रसंघसँग माग्नुस्’, उनले भने, ‘हामीसँग माग्ने होइन ।’