कविता: माननीयज्यू अब त अति भएन र ?

स्वाभिमान आचार्य

बोल्न लेख्न पाइएन
राजा को एकछत्र राज भो
जनता पिल्सिए गरिबी बढ्यो
यसरी हुँदैन न्यायको लागि लड्नुपर्छ भनियो
सुन्दर भविष्यको खोजीमा आमा बुवाको पुस्ता लड्यो
क्रान्ति ल्याइएनछ भनियो
बहुदल त आयो तर विचरा जनता , अह जस्ताको तेस्तै

SPONSORED

भोको भोकै रह्यो , तिमी चाँही माननीय भएछौ
गरिबको झुपडी उस्तै रह्यो , तिमीलाई सिंहदरबारमा कोठा खाली गरिएछ
सुकुम्बासीको त्रिपाल चुडियो, तिमीले चाहिँ जग्गा पायौं रे
युवा वेरोजगार नै रहे , सरकारी उद्योग बन्द गरिए
बहुदल त आयो तर विचरा जनता अह जस्ताको तेस्तै

SPONSORED

सत्ता शासन तिमीसँग थियो , संसद बनेउ मन्त्री पनि बनेछौ
वर्षै बितेछन, विकास अगाडि बढेन, भ्रष्ट्राचार मौलाएछ , बेथिति बढेछन्
तिमी त जनताकै प्रतिनिधि , मात्र पुस्ता ले तिमीमा खोट खोजेन
आफ्नो असक्षमता लुकायौं , राजाले काम गर्न दिएन भनियो
फेरि क्रान्तिको ढोल पिटायौ , नाबालक म पनि सडकमा ओर्लिए
गणतन्त्र पनि आयो , तर बिचरा जनता अह जस्ताको तेस्तै

SPONSORED

राजा हटे तिमी सत्तामा पुगेउ
बेवास्ता तिमीले भनेअनुसार नै भयो, हामी आशावादी भयौं
सांसदको संख्या बढ्यो, हामी चुप रह्यौ
मन्त्री थपिए , हामी बोलेनौ
लावालस्कर विदेश भ्रमणमा निस्किए , हामी नदेखे झैँ गर्यौ
सोचेउ, हाम्रै प्रतिनिधि हो , गर्न खोज्दै त होला

कमिसनका हल्ला आए, हामीले पत्याएनौं
तिम्रो सवारीमा बाटो खाली गरियो, हामीले जाम देखेकै हो
तिमीले आश्वासन दिइरह्यौ , हामीले नतिजा कुरिरहेकै छौ
तिमी पार्टीको राजनीतिमा अल्मलिरहन्छौ , हामीले समय दिएकै छौ
सोच्यौ हाम्रै प्रतिनिधि त हो , गर्न खोज्दै त होला ्

अब त काण्डैकाण्ड सुनिन थाले, विश्वास धर्मराउन थाल्यो
योजना अगाडि सार्छौ, कार्यान्वयन लर्बराउन थाल्यो
सिंहदरबारको आँखाबाट तिमीले काम भएको देख्छौ, हामी दिनहुँ थप समस्या झेल्छौ
तिमीले धुलो नियन्त्रण हुन्छ भन्यौं, म दैनिक क्यान्सर निल्छु
तिमी सिन्डिकेट अन्त्य भयो भन्छौ, म गाडीमा झुण्डिन विवस छु
तिमीले कालोबजारी अन्त्य हुन्छ भन्थ्यौं , म दैनिक महंगीको मार मा छु
तिमीले शिक्षा शुलभ हुन्छ भन्यौं , हामी चर्को फी तिर्न बाध्य छौ
तिमीले स्वास्थ्य सेवा शुलभ हुन्छ भन्थ्यौं , हामी चर्को मूल्य तिर्न बाध्य छौ
तिमीले रोजगारी सिर्जना हुन्छ भन्थ्यौं , हामी खाडीको तातो घाममा विदेशिन बाध्य छौ
तिमीले सहज व्यवसायी अगाडि बढ्नुसु भन्थ्यौ , हामी चर्को ब्याजको मारमा छौ
माननीयज्यू अब त अति भएन र ?

फेरि पनि मेरो प्रतिनिधि तिमी नै हो
माननीयज्यू अब होशियार
आन्दोलन गर्न तिमीले नै सिकाएका छौं
व्यवस्था फाल्न तिमीले नै सिकाएका छौं
अब तिमीलाई आश्वासन बाँडेर बस्ने छुट छैन
काम होस् माननीयज्यू
नत्र अबको क्रान्ति तिमीविरुद्ध हुनेछ, होशियार