फरक पहिचानमा ‘सुजाता’

२०७५ पुष २२, आईतवार १२:२२ मा प्रकाशित

लिलाधर वलि

दाङ । बुवा कालिचरण चौधरी र आमा बिष्णु चौधरीको कोखबाट २४ वर्ष पहिले छोराका रुपमा जन्मीएका दिपेश चौधरी अहिले तेस्रो लिङ्गी सुजाता खड्का रुपमा चिनिन्छिन् ।

घरमा पहिलो सन्तानका रुपमा छोरो भएर जन्मीएका उनी छोरीको भुमिकामा देख्दा सुरुमा घरपरिवार नै अलमलमा परेका थिए । छोरोलाई के भयो किन यस्तो गर्छ भन्ने लगायतका कारणले बुवा आमालाई सुरुमा धेरै तनाव भएको थियो ।

घरको जेठोबाटो छोरो राम्रो बाटो लाग्ला भन्ने उमेरमा छोरीको फेशन गरेर हिड्न थालेपछि घर परिवार नै तनावमा थिए । तर १७ वर्षको उमेरमा ब्लु डायमण्ड सोसाईटीको सम्पर्कमा आएपछि उनले दिपेश नामलाई बदलिन र तेस्रो लिङ्गी सुजाताका रुपमा चिनिन थालिन् । तर घरपरिवारले स्वीकार गरेनन् । त्यसपछि उनले जीवनमा धेरै सघर्ष गर्नु परेको छ ।

हाल उनी ब्लु डायमण्ड सोसाईटीे दाङ शाखामा फिल्ड तथा रिपोटिङ अफिसरका रुपमा काम गर्दै आएकी छिन् । करिव १२ वर्षको उमेरमा विद्यालय पढ्दा अरु साथी हरुभन्दा आफुलाई फरक पाएकी उनले करिव १६ वर्षको उमेरमा २०६५ सालमा आफु तेस्रोलिङ्गी भएको थाहा पाइन् ।

घोराहीको पद्मोदय पब्लीक नमुना माध्यामिक विद्यालय भरतपुरमा अध्ययन गर्दै आफु जस्तै स्वभावका साथीहरुलाई छक्का, हिंजडा, नपुंशक जस्ता शब्दले होच्याउने गरेको सुनेकी उनले आफुले पनि उक्त समस्या झेल्नु परेको बताउछिन् ।

हरेक नागरिकहरुले समाजमा स्वतन्त्रता पूर्वक बाच्न पाउनुपर्ने अधिकार रहेकाले आफुहरु जस्तै तेस्रो लिङ्गीहरु समाजमा स्वतन्त्र रुपमा हिडडुल गर्न पाउनुपर्ने उनी बताउछिन् ।

तेस्रो लिङ्गी तथा समलिङगीहरुको हकहितका लागि लडिरहने उनले बताईन् । पश्चिम दाङको एक सामान्य चौधरी परिवारमा जन्मीएकी सुजताको जीवन भने घोराही नगरपालिकाको गैरागाउँमा बितेको बताउँछिन् ।

कक्षा पाँचसम्म घोराही उप-महानगरपालिका वडा नं. १७ मा रहेको प्राथमिक विद्यालयमा अध्ययन गरेकी उनले ६ कक्षादेखि घोराहीको पद्मोदय पब्लीक नमुना माध्यामिक विद्यालयबाट कक्षा १२ सम्म अध्ययन गरेकी हुन् ।

छोराका रूपमा जन्मीएका दिपेश अर्थात सुजाता बाल्यकालमा खासै दु.ख गर्न भने परेन । उनको परिवार पहिलो सन्तान छोरो जन्मीएकोमा खुशी थिए तर त्यो खुसी परिवारमा धेरै समय टिक्न पाएन । उनको उमेर बढ्दै जादा आफ्नो व्यवहार, अनुभूति र आनीबानीमा फरकपन देखिन थालेका कारण आमा बाबाले छोरा मान्छे भएर पनि किन यस्तो गर्छ भनेर गाली गर्ने गरेको उनले सम्झन्छिन् ।

केटा मान्छे भएपनि आफुमा छोरी मान्छेको स्वभाव देखिन थाल्यो रे, घरमा भएका दिदीहरुका कपडा लगाउथे, आमाको चुरा, पोतेसँगै कपडा लगाउन आफुलाई सानैदेखि मन लाग्ने र लगाउने गरेको सुनाउछीन् । जसकारण सुरुमा आफैलाई अनौठो महशुस हुन थालेको उनको अनुभव छ ।

‘घरको काम गर्नुपर्ने भएकाले सानैदेखि घरमा भाँडा माझ्ने, लुगा धुने लगायतका काममा सहयोग गर्थेँ । दिदीको ड्रेस लगाउने, लिपिस्टिक लगाउने रहर लाग्थ्यो र त्यस्तै गर्थेँ ।

उनी भन्छिन्– ‘अहिले बच्चै छ, ठूलो भएपछि आफैँ त्यस्तो सोच हराउँछ भन्ने ठान्थे । परिवारले उमेर बढ्दै जाँदा मेरो व्यवहार केटा मान्छेकै जस्तो हुने आशा गरेका रहेछन । तर, मेरो व्यवहारमा परिवर्तन आएन । बरु, ममा केटीहरूको हाउभाउ नै बढी झल्किन थाल्यो ।’

‘सुरुमा मलाई मात्र किन यस्तो हुन्छ होला जस्तो लाग्ने गरेको थियो तर पछि १२ वर्षको उमेरमा मेरो जस्तो स्वभाव हुनेलाई तेस्रो लिङ्गी भन्ने थाहा पाँए र १६ वर्षको उमेरमा आफुहरु जस्तै तेस्रो लिङ्गी तथा समलिङगीहरुको क्षेत्रमा काम गर्ने संस्था ब्लु डायमण्ड सोसाईटीको सम्पर्कमा आएपछि धेरै कुरा थाहा पाए’ सुजाताले भनिन्– ‘सुरुदेखि नै मलाई म अरू केटाभन्दा फरक छु भन्ने लाग्थ्यो । १२ वर्षको हुँदा मैले त्यस्तो महसुस गरें ।’

केटा मान्छेका रूपमा जन्मिएकाले समाजले मलाई पुरुषकै व्यवहार गर्थ्यो । तर, मलाई कहिले पनि केटा मान्छे हुँ भन्ने महसुस नै हुँदैनथ्यो । टीनएजमा पुगेपछि जुन परिवर्तन आउनुपर्थ्यो, त्यो आएन । विपरीत लिङ्गप्रति आकर्षित हुनुपर्नेमा मलाई केटाहरू मन पर्न थाले ।’

मेरो फरक व्यवहारले गर्दा होला सायद मलार्ई समाजले, साथीहरूले सधैँ नकारात्मक दृष्टिकोणले हेर्न थाले । त्यसैले म कसैसँग पनि कुरा गर्न सक्दैनथेँ । केटाका रूपमा जन्मिएको मैले केटा नै मन पर्छ भनेर कसलाई र कसरी भन्ने ? लाज र समाजको डरका कारण कसैलाई भन्न सकिन ।

परिवार, साथीभाई र समाजले मलाई ‘छोरा मान्छे’ भन्दा मलाई नमज्जा लाग्थ्यो । कतिबेला त ‘यो संसारमा म मात्रै यस्तो सोच्ने हुँ कि’ जस्तो लागेर साह्रै दिक्क लाग्ने गरेको उनले बताइन् ।

सायद यो संस्था (ब्लु डायमन्ड सोसाइटी) मा नआएको भए म एउटा कुण्ठाको जीवन बाँचिरहेको हुन्थेँ होला । सोसाइटीमा आइसकेपछि मेरो जीवन नै पूर्ण रूपले फेरियो । आत्मसम्मानको जीवन बाँच्न सिकेँ, बोल्न सिकेँ, नयाँ–नयाँ कुराहरू सिकेँ र अहिले आफु जस्तै साथीहरुको हकअधिकारको लागि काम गरिरहेको उनी बताउछिन ।

आफ्नो पहिचनामा आएँ । म केटी हुँ । केटी नै थिएँ । केटी नै रहनेछु । त्यसपछि मलाई ड्रेस चेन्ज गर्नुपर्छ भन्ने लाग्यो । सुरु-सुरुमा त केटीको कपडा लगाएर हिँड्ने आँट नै आएन । बिस्तारै-बिस्तारै लेडिज कपडा लगाउन सुरु गरेँ ।

मैले लेडिज कपडा लगाउन सुरु गरेपछि घरपरिवारले नराम्रो मान्नुभयो उनी भन्छिन–‘तलाई जे गर्न मन छ गर, तर केटीको कपडा लगाएर नहिड भनेर बुबाआमाले भन्नुहुन्थ्यो, बाहिर नजा घरमा बस भनेर सुरुमा धेरै दवाफ दिनुभयो ।’ तर विस्तारै विस्तारै घरपरिवार पनि सहमत हुनुभयो र अहिले सहजरुपमा लिनुभएको छ ।

केटीको ड्रेसअप र मेकअप गरेर हिँड्न थालेपछि त धेरै मान्छेहरू झुक्किए । हेर्दा पनि राम्री केटी जस्तै भएकाले धेरैले प्रेम  प्रस्ताव राखेको उनी बताउछिन् । कतिपयले केटी भनेर झुक्किएर प्रेम प्रस्ताव गर्छन, कतिले थाहा पाएरै । त्यस्तो प्रस्ताव राख्ने कति जनालाई त मैले ‘म तेस्रोलिङगी मान्छे हो’ भनेर स्पष्ट बताउने गरेको बताईन् ।

त्यसपछि कतिपयले  नपत्याएर नम्वर माग्ने र भेट् गरम भन्ने गरेको सुनाईन् । कतिपय केटा त अचम्म पर्दै तर्सिन्छन् । कतिले भने थाहा पाएर नै मलाई प्रेम प्रस्ताव राख्ने गरेका छन् । मैले अस्वीकार गर्दै आएको छु उनले भनिन् ।

धेरै तेस्रो लिङ्गी यौन व्यवसायमा संलग्न भएपनि आफुलाई यो पेशा कार्य मन नपर्ने उनी बताउछिन् । समाजमा तेस्रो लिङ्गी यौन व्यवसायमा मात्र लाग्ने गरेको नाकारात्मक कुराहरुलाई आफुले बदल्न चाहेको बताउछिन् ।

उनले भनिन् ‘सडकमा भेटिने सबै तेस्रो लिङ्गी, समलिङ्गी यौन व्यवसायका लागि मात्रै जादैनन् । तेस्रोलिङ्गी, समलिङ्गी भन्ने बित्तिकै हाम्रो समाजले छाडा, उच्छृङ्खल सोच्छ । त्यस्तो होइन । हाम्रो पनि त इज्जत छ । समाज छ, घर-परिवार छ । हामीपनि सम्मानजनक जीवन बाँच्न चाहन्छौँ नि । तर, मलाई व्यक्तिगत रूपमा भने त्यस्तो समस्या कहिल्यै आएन । घर-परिवारले मलाई धेरै सपोर्ट गरेको छ ।’

मोडल बन्ने चाहना छ

तेस्रो लिङ्गी सुजाता मोडल बन्न चाहन्छिन् । त्यही रुपमा आफुले शारीरिक बनावट बनाउन थालेको बताउँछिन् । सानैदेखि नाच्न मन लाग्थ्यो र गाउँसँगै विद्यालयमा हुने कार्यक्रममा सारी चोली लगाएर नाच्ने गर्थे । मलाई म्युजिक भिडियोसँगै म्याग्जीनहरुका लागि फोटो सुट गर्ने रहर छ ।

उनी २०७० सालमा कपिलवस्तुमा भएको मिस, मिसेज एण्ड जेण्डर पिज प्रतियोगितामा थर्ड जेण्डरको समेत उपाधि पाएको बताउछिन् ।

प्रेम प्रस्तावको ओईरो

कुनै कार्यक्रममा सहभागी वा फेसबुकमा फोटो देख्दा मलाई सबैले केटी नै भन्छन् । तर स्वर सुनेपछि भने म (केटी) नभएको उनीहरुले थाहा पाउँछन् । फेसबुक माध्यमबाट धेरै केटाहरुले प्रेम प्रस्ताव राख्ने गरेको उनले बताईन् ।

एक जनासँग त लामो समयसम्म प्रेम चलेपनि अन्त्यमा आफुबाट बच्चा नहुने र घरपरिवारले आफुलाई स्वीकार नगर्दा विवाह हुन नसकेको उनको अनुभव छ ।

‘उसैले धेरै माया गर्थ्यो तर घर परिवार समाजका कारण उसले विवाह गर्न सकेन’ उनले भनिन् ‘त्यसपछि पनि तिमीलाई माया गर्छु भन्ने धेरै केटाहरु आएका छन्, तर म प्रेम गर्ने गरेको छैन ’ करिव तीन–चारपटक लभमा परे, तर धेरै टिकेन ।’

त्यसपछि कसैसँग प्रेम गरेको छैन । एउटा राम्रो केटाको खोजीमा छु । कसैले आफ्नो भावना बुझ्छ भने उसँग विवाह गर्ने चाहना छ । तर त्यो भन्दा पहिले यौनाङ्ग परिवर्तन गर्ने उनले बताईन् ।

अहिले सुजाता जस्ता समलिङ्गी तथा तेस्रो लिङगीहरु राप्तीका पाँच जिल्लामा करिव दई हजार रहेको उनी बताउँछिन्। अधिकांश समलिङ्गी तथा तेस्रो लिङगीहरु उनीहरुलाई घरपरिवार र समाजले हेर्ने गतल दृष्टिकोणका कारण खुल्न नचाहेको बताउँछन् ।