दहीमाछो सरकार ! दहीमाछो !!
आखाका नानीभरी पानी रहुन्जेल
हियमा एक घुट्को सम्झनाको दुःख बोकेर
पटुकीमा अलिकति फाको
जसमा मिसिएको छ,बुढौलीसम्मको पसिना
अलिकति सेतो रंग,उत्ताना हात्केला र याचनाका लोरी गीतहरुको जीवन रेखा छ दै छ सम्पति जस्तो ।
बर्षै देखी पूर्वी छितिजले
बोक्दै ल्याएको अतृप्त याद
स्वयम देखिएपछि आगनीमा
गदगद भएकै हुन स्वप्नील अनुहारहरु
त्यही दिन हो
हावाको धर्सो समेत नछिर्ने गरी जोडिएका मुटुहरु
र त्यही दिनबाट खोलीएका हुन
हृदयका बन्द झ्याल ढोकाहरु
ती ढोकाबाट
कति छिरेछिरे बाघका नङग्रा जस्ता औलाहरु
र,कोतरी गए एसेलु गालाहरू
यी गालाका कुलाबाट
बगेको पानी जस्तै देखीने आशुले
किन कहिल्यै नभेटाएको होला सागर ।
ती ढोकाबाट
कति छिरेछिरे झुसिलकीरे जुगे पैतलाहरू
र कुल्चिएर गए पुतलीका जम्मै आखाहरु
यि आखाबाट जीवनको हरियो रंगले
किन नभेटाएको होला बसन्त ?
किन सधै बगाई मात्र रहन्छ साउन ?
ती झ्यालबाट
पत्तै नपाई उडि आए एकहुल गिद्ध जस्ता लाग्ने कोइलीहरू
र छोडिगए बचेरा बनाउन अबोध फुलहरू
बोलीमा लोरी मिलाउदैमा बिते
चल्ला कोरलेर यामहरु
आकासबाट तारा खसेझै खसे
ओजस्वी मुस्कानका टुक्रा
तारा खस्दा सबथोक बिर्सेर
सम्झेकै हो एकथोक मुटू भित्रबाट
खस्नु /झर्नु र हराउनु
कहिल्यै पनि सम्झनु / मनपरेको पाउनुसंग
किन एकाकार नहुदो रहेछ ??
ती झ्यालबाट
पत्तै नदिएर खसेको हो
धुवाको एकमुस्लो वर्तमान
जसमा मिसिएर मरे जीवनका आसिमित परिभाषाहरू
धुवा छिचोलेर कति पल्ट हो कति
रातो रूमालमा बाधेर हातबाट टुटि गएको चुरा
आखा चिम्ममममम गरेर / चुमेर ओठले / टासेर आफ्नै निधारमा
सम्झिनु सम्झियो प्रिय मान्छेको नाम
चुराको ज्योतिषी किन कहिल्यै नलागेको होला ???
टुट्नु / फुट्नु र भाचिनु
दुई आत्मा जोडिनुको भबिष्यवाणी
कहिल्यै नहुदोरहे छ ।
दहीमाछो भगवान ! दहिमाछो !!
मन्दिरमा घण्टी बजाउदै मूर्ति पूज्नेले
कति सम्झियो सम्झियो आफ्ना प्रिय नामहरू
आरन स्वयम नपुगेपछि मन्दिरमा
एक्ला तमाम याचनाहरू बालुवामा पानी जस्तै हुदारहेछन ।
बाटो किनारको कर्कलाको पातमा अडिएको
पानी हेर्दै बित्यो यत्रो जीन्दगानी
अब त हावाको एक झोक्कामा
खै के भन्न सकिएला र ??
देशले दिएको बृद्ध भत्ताले मात्र बाच्न नसकिदो रहेछ बारी
त्यो बेला मेरो चेलो जोस प्रीत सिहले आत्महत्या गर्दा
कहा जुम्रा मार्दै थियो ??
न्याय / समानता / स्वतन्त्रता
पत्रिकाको हेडलाईनमा छापिनु मात्र मानवता कदापि होइन
कुनै बेला मेरी कैशी कोलिणको
नाक कान र स्तन काटिदा
कहा मरेको थियो
इज्जत / स्वाभिमान र मातृत्व
मन्दिरमा पुजिनु मात्र महानता हुदै होइन
दहिमाछो सरकार ! दहिमाछो !!
इज्जत जोगाउनु भनेको स्तन चढाउनु होइन
स्वाभिमान बचाउनु भनेको नाक काटिनु होइन
आत्महत्या गर्नु भनेको बलिदान गर्नु होइन
मलाई यो देश मेरै हो भन्न मन छ
तर यो देशले बर्खाको भेलमा मुणो फालेझै
किन किनार लगाईरहेछ मेरा पहिचान र स्वत्रन्त्रता ।