RaraNews

मनीष खड्का प्रकाशित : २०७५/३/७ गते
१२६७ पटक

रुकुम । बाँफिकोट गाउँपालिकालाई जातीय छुवाछुतमुक्त घोषणा गरिएको छ । आवश्यक सूचक पूरा गरेकाले मंगलबार बाँफिकोटलाई कर्णाली प्रदेशकै पहिलो जातीय सद्भावयुक्त तथा जातीय छुवाछुतमुक्त गाउँपालिका घोषणा गरिएको हो । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले बाँफिकोटलाई जातीय छुवाछुतमुक्त गाउँपालिका घोषणा गरेका हुन् । १० वटा वडा रहेको गाउँपालिकामा जातका आधारमा हुने भेदभाव ७० प्रतिशतभन्दा धेरै अन्त्य भएकाले जातीय छुवाछुतमुक्त घोषणा गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका क्षेत्रका सार्वजनिक धारा, कुवा, मठमन्दिर तथा अन्य सार्वजनिक स्थलमा जातीयताका आधारमा छुवाछुतजन्य व्यवहार हुन छाडेको छ । त्यस्तै अन्तर्जातीय विवाह सहज हुँदै गएको, चुलो, भान्सामा समेत छुवाछुत हुन छाडेको छ । गाउँपालिका क्षेत्रमा बालिघरे प्रथा उन्मूलन हुँदै जानुका साथै परम्परागत जातीय सीपमा आधारित कामलाई सम्मानका रूपमा हेर्ने परिपाटी विकास हुँदै गएकाले जातीय छुवाछुतमुक्त गाउँपालिका घोषणा गरिएको आयोजकको दाबी छ ।

जातीय भेदभाव नगर्ने  लिखित प्रतिबद्धता
घोषणा कार्यक्रमका अतिथि तथा सहभागीले अबदेखि जातकै आधारमा कोही कसैलाई कुनै पनि प्रकारको भेदभाव नगर्ने र जातीय सद्भाव अभिवृद्धि गर्न पहल गर्ने लिखित प्रतिबद्धतासमेत जनाएका छन् ।

यसअघि जिल्लाका साबिकका १९ वटा गाविसलाई जातीय छुवाछुतमुक्त तथा सद्भावयुक्त घोषणा गरिएको थियो । तर, राज्य पुनर्संरचनापछि साबिकका गाविस वडामा परिणत भई स्थानीय तह बनेपछि भने जातीय छुवाछुतमुक्त र सद्भावयुक्त घोषणा अभियान रोकिएको थियो । स्थानीय तहको निर्वाचन भई जनप्रतिनिधिले कार्यभार सम्हालेको एक वर्षपछि जिल्लामा बाँफिकोट गाउँपालिकाबाट अभियान पुनः सञ्चालनमा आएको छ ।

प्रतिकृया दिनुहोस्