RaraNews

छुवाछूत गर्नेलाई उन्मुक्ति दिइने छैन – प्रधानमन्त्रि

जातीय छुवाछूत र भेदभावविरुद्ध दृढतापूर्वक उभिन आहृवान

जागरण मिडिया प्रकाशित : २०७५/२/२१ गते
५७८० पटक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जातिय भेदभाव तथा छुवाछूत गर्नेलाई उन्मुक्ति नदिइने बताउनु भएको छ । छुवाछूत एक सामाजिक र नैतिक भ्रष्टाचार तथा मानवीय गरिमा विरुद्धको अपराध भएकाले त्यस्तो गर्नेलाई कुनै पनि हालतमा उन्मुक्ती नदिइने प्रधानमन्त्रिओलीको भनाई छ ।

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा शुभकामना दिनु हंदै उहाँले हरेक नेपालीलाई जातीय छुवाछुत र भेदभावविरुद्ध दृढतापूर्वक उभिन आहृवान समेत गर्नुभयो । नेपाली एक भएर लागेमा छुवाछूत प्रथा पनि विगतका दास प्रथा, सतीप्रथा, कमैया प्रथाजस्तै सधैंको लागि समाप्त हुनेमा बिस्वाश ब्यक्त गर्नुभयो ।

शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले ‘राज्यको कानून, सभ्य समाज, मानवता र आधुनिक राष्ट्रका लागि जातीय छुवाछुत गम्भीर चुनौती भएको उल्लेख गर्नुभयो ।

नेपालको नयां संविधानमा दलितको हक अन्तर्गत दलित समुदायको सशक्तीकरण, प्रतिनिधित्व र सहभागिताका लागि विशेष व्यवस्थाको प्रत्याभूति गरेको बताउदै प्रधानमन्त्री ओली स्थानीय तहको निर्वाचनबाट दलित समुदायको प्रतिनिधित्व २२ प्रतिशत पुगेको जानकारी गराउनुभयो ।

२०६८ जेठ २१ गते आजकै दिन नेपाललाई जातीय भेदभाव तथा छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको थियो । त्यसकै अवसरमा हरेक बर्ष जेठ २१ गते जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस भनेर मनाउँदै आइएको छ ।

तर, छुवाछूत मुक्त राष्ट्र घोषणा गरिएके देशमा गाँउ देखि राजधानीसम्म जता ततै चर्को जातिय विभेदका साथै छुवाछूत कायमै छ । सामान्य दलित ब्यक्तीदेखि दलित नेता तथा संसादहरुले समेत जातिय विभेद र छुवाछूत खेप्दै आइरहेका छन् ।

प्रतिकृया दिनुहोस्