RaraNews

जागरण मिडिया प्रकाशित : २०८०/८/१३ गते
४०३ पटक

काठमाडौं । विस्तृत शान्ति सम्झौता भएको १७ वर्ष पूरा भएपनि द्धन्द्धपीडितले न्याय पाउन नसकेको सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

जुरी नेपाल र एम्नेस्टी इन्टरनेसन नेपालको आयोजनामा भएको संक्रमणकालिन न्याय प्रक्रियाका १७ ; निकास कहिले विषयक अन्तरक्रियात्मक कार्यक्रमका सहभागीले संक्रमणकालिन न्याय प्रक्रियालाई छिटो छरितो रुपमा टुङ्गोमा लगाउनुपर्ने बताउनुभएको थियो ।

एम्नेस्टी इन्टरनेसनका कार्यकारी निर्देशक निजनरन थपलियाले संक्रमणकालिन मुद्धा छिटो समाधान नभएमा यो मुद्धा नै विर्सेने सम्भावना रहेको बताउनुभयो । द्धन्द्धको सुरुवात हुनुभन्दा अघिका मानवअधिकार उल्लंघनका घटनामा सरकार पक्ष जवाफदेही नदेखिएकोले यो संक्रमणकालिन मुद्धा हल गर्न सबै सचेत हुन आवश्यक रहेको उहाँले बताउनुभयो । राज्यले पीडितलाई थकाउने र गलाउदै काम मात्र गएको छ, तर पीडितले न्याय नपाउदा सम्म गल्न नहुने उहाँको तर्क थियो ।

कार्यक्रममा अधिवक्ता राजुप्रसाद चापागाईँले न्यायिक प्रक्रियाको रणनीति उपयोगका कारण संक्रमणकालिन न्यायका एजेन्डा मर्न नदिएको बताउनुभयो । उहाँले शासकीय दृष्टिकोणबाट बितेका १७ वर्ष उपलब्धीविहिन रहेको औंल्याउनुभयो ।

द्धन्द्धपीडित सुमन अधिकारीले समस्या समाधान गर्न बनेका आयोगहरुले पीडितलाई थप पीडा दिने काम मात्र गरिरहेको जिकिर गर्नुभयो । उहाँले आयोगका पदाधिकारीहरु नै संक्रमणकालिन न्यायका विषयमा सम्वेदनशिल हुन सकिरहेका छैनन्, त्यसैले सरकारी संयन्त्र नै सक्रमणकालिन समस्या समधानमा चासो नभएको बताउनुभयो ।

जुरी नेपालकी अध्यक्ष रुकमणि महर्जनले द्धन्द्ध पीडितले न्याय प्राप्ति नहुँदासम्म निरन्तर रुपमा कुरा उठाइरहनुपर्ने बताउनुभयो । उहाँले यो विषयमा परिणममुखी काम गर्ने र त्यसका लागि सबैको साथ सहयोग आवश्यक रहेको बताउनुभयो ।

जुरी नेपालका सह कार्यकारी निर्देशक विष्णु पोखरेलले यो मुद्धा सबैको साझा मुद्धाको रुपमा स्थापित हुनुपर्ने बताउनुभयो ।

प्रतिकृया दिनुहोस्