RaraNews

जागरण मिडिया प्रकाशित : २०८०/५/६ गते
३५५ पटक

काठमाडौं । लुम्बिनी प्रदेशका स्थानीय तहले युवा उद्यमशीलता विकासका लागि हरेक वर्ष लाखौं बजेटका कार्यक्रम ल्याए पनि त्यसको उपलब्धि भने न्यून छ । लुम्बिनी प्रदेश सरकारका साथै स्थानीय तहले प्रत्येक वर्ष युवालाई सिर्जनशील र रोजगारी सिर्जना गर्ने नीति तथा कार्यक्रम र बजेट विनियोजन गरेपनि त्यसबाट युवाले सोँचे अनुसारको प्रतिफल पाउन सकेको पाइँदैन ।

रुपन्देहीको सैनामैना नगरपालिका–११, बनकट्टीकी लक्ष्मी गैरे युवा उद्यमी हुनुहुन्छ । विगतमा बाख्रापालन र पछिल्ला दिनमा गाईपालन गर्दै आउनुभएको छ । माउबच्चा गरी ११ वटा गाई पाल्नु भएकी गैरेलाई सबै खर्च कटाएर मासिक ४० हजार कमाउन दुःख छैन । तर बजारको अनिश्चितताले भने सधै पिरोल्छ । प्रदेश सरकार, स्थानीय तह र गैरसरकारी संस्था हेफर प्रोजेक्टबाट सहयोग पाएकाले उद्यमी बन्न सहज भएको गैरेको भनाई छ । ग्रैरसरकारी संस्थाको क्षमता विकास, स्थानीय तह र प्रदेश सरकारको अनुदानले अझ बढी हौसला मिलेको वहाँको अनुभव छ ।

पाल्पाको तानसेन नगरपालिका–१३, बौघागुम्हाका महेन्द्र बयम्वु बंगुरपालक किसान हुनुहुन्छ । कोभिडपछि युवा उद्यमी बन्नु भएका बयम्बुले ४५÷५० वटासम्म बंगुरपालन गनुहुन्थ्यो । तर बजार अनिश्चितताले भने बंगुरको संख्या घटाउँदै लग्नु भयो । पछिल्ला दिनमा बाहिर जिल्लाबाट बंगुरको माग आएकाले पुनः पाल्न थाल्नु भएको छ । तर बजार सुनिश्चित नभएसम्म बंगुर धेरै पालेर फाइदा नहुने उहाँको अनुभव छ । स्थानीय तह र गैरसरकारी संस्थाको सहयोग पाए पनि पालेको बंगुर बिक्री गर्दा भाउ पाउन सकेमात्र फाइदा हुने वहाँको भनाई छ ।

स्थानीय तह र प्रदेश सरकारले हरेक वर्ष युवाका लागि विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ । लुम्बिनी प्रदेशका कतिय स्थानीय तहले बैंकसंगको सहकार्यमा युवालाई विनाधितो सहुलियत ब्याज दरमा ऋणसमेत प्रदान गर्दै आएका छन् । कतिपयले युवा उद्यमशीलता, नेतृत्व विकास तथा क्षमता विकासका कार्यक्रम पनि गरेका छन् । गुल्मीदरबार गाउँपालिका गुल्मीका अध्यक्ष सरोजकुमार थापाले बाख्रापालन, कृषि लगायतका क्षेत्रमा स्थानीय तहले लाखौं रकम खर्चिएको बताउनुभयो ।

लुम्बिनी प्रदेशमा २ हजार बढी युवा उद्यमी रहेको तथ्यांक बाहिर आएको छ । ती युवाका लागि लक्षित कार्यक्रम, उद्यमशीलता र रोजगारी सिर्जना सोंचे अनुसार हुन सकेको छैन । स्थानीय तहले हरेक वर्ष युवा उद्यमशीलता, युवाको नेतृत्व तथा क्षमता विकास लगायतका तालिम सञ्चालन गर्दै आएका छन् । युवा परिषद् लुम्बिनी प्रदेशका कार्यकारी उपाध्यक्ष गोविन्द क्षेत्री लुम्बिनी प्रदेश सरकारले पनि लुम्बिनी प्रदेश युवा परिषद्मार्फत् क्षमता विकासका साथै स्वरोजगारमुलक कार्यक्रम गर्दै आएको बताउनुभयो ।

प्रत्येक स्थानीय तहले युवा उद्यमशीलता, स्वरोजगारका नाममा हरेक वर्ष लाखौ रकम खर्चिएको प्रतिवेदन बन्छ । तर त्यसको सोँचे अनुरुप प्रतिफल देखिएको छैन । लुम्बिनी प्रदेश सरकारले पनि आगामी दुई वर्षमा प्रदेशका २ लाख युवालाई रोजगारी दिने महात्वाकांक्षी कार्यक्रम अघि सारेको छ । प्रदेश र स्थानीय तह साथै गैरसरकारी संस्थाले युवाका लागि पर्याप्त अवसर दिने बताए पनि युवाशक्तिलाई व्यवहारिक ज्ञान, सीप र धारणायुक्त बनाई उद्यमशीलताको माध्यमबाट आय आर्जन र रोजगारीसँग जोड्न सकेमात्र आर्थिक समृद्धि यहीँ पुस्तामा सम्भव देखिन्छ ।

प्रतिकृया दिनुहोस्