RaraNews

जागरण मिडिया प्रकाशित : २०८०/४/१० गते
५२१ पटक

भगवती न्यौपाने
कपिलवस्तु । किसानलाई धानबाली लगाउने समयमा मलको अभाव खेपिरहन बाध्य भएका छन् । व्यावसायिक रुपमा धानवाली उत्पादन गर्ने किसानलाई रासायनिक मलको अभावले मेहनत अनुसारको उत्पादन नहुनेमा चिन्तित बनेका छन् ।

धानवालीलाई मानो रोपेर मुरी फलाउने रणनीतिका साथ किसानहरु धानबाली खेतीतर्फ आकर्षित हुन्छन् । तर, यही समयमा धानबालीका लागि चाहिने मलको अभावले किसानलाई पीडा हुन्छ । यस्तै समस्या लुम्बिनी प्रदेशको कपिलबस्तु र दाङ जिल्लाका किसानले झेलिरहेका छन् ।

कपिलवस्तु जिल्लाका संगिता शाही, चंगिता केवट र दाङको चन्द्र प्रसाद चौधरीलाई धानवाली लगाउने समयमा वर्षा नभएको पीडा छ । खेत बाँझो रहीरहेको छ, त्यसमाथि मल अभावले उत्पादन घट्ने चिन्ता छ । हरेक वर्ष किसानलाई खेती लगाउने बेलामा बजारमा मलको अभाव हुन्छ ।

बालीमा अति आवश्यक रसायनिक मल समयमै उपलब्ध हुन नसक्दा किसानहरूले विभिन्न समस्या भोग्दै आएका छन् । धान रोप्ने समयमा मल अभाव हुँदा यसको समस्या धानबाली उत्पादनमा असर गर्ने देखिएको छ ।

किसानहरु मलका आशामा कृषि सहकारी संस्थाहरुमा लाइनमा बस्न व्यस्त हुन्छन् । तर, आवश्यक अनुसार मलको पाउन नसक्दा किसानहरु निरास मात्र थापारिएको छ । किसान डाक्टर चौधरी भन्छन् “राज्यले समयमा मलको व्यवस्थापन गर्न नसक्दा बर्षेनि मलको अभाव भएको हो । यसको समयमा नै योजना निर्माण गरी मलको सहज रुपमा वितरण गर्नपर्छ ।”

कपिलवस्तु जिल्ला कृषि सामग्री कम्पनी लिमिटेड तौलिहवाका शाखा प्रबन्धक नरहरि पोख्रेल भन्छन्, “किसानको मागलाई मलको वितरण गर्न सकिएको छैन । पर्याप्त मात्रामा मल नआउदा किसानको समस्या हल नसकेको हो ।”

सरकारले हरेक वर्ष अनुदानमा कृषकलाई मल उपलब्ध गराउने नीति छ । अर्बौ रुपैयाँ बजेट विनियोजन गरी मल खरिद गरेपनि किसानले मल पाउन सकेका छैनन् । यस वर्ष पनि रसायनिक मल आपूर्तिका लागि सरकारले बजेट विनियोजन गरेको छ । बजेट विनियोजन भएपनि सहज तरिकारले मल आपूर्ति नहुँदा किसानहरूले समस्या भोग्दै आएका छन् । लुम्बिनी प्रदेश कृषि तथा भुमि व्यवस्था मन्त्रालयका घनस्याम चौधरीले समयमा किसानलाई मल उपलब्ध गराउनेतर्फ मन्त्रालय तयारी गरिहेको बताउनुभयो ।

हरेक वर्ष सिजनमा मल उपलब्ध हुन नसक्दा किसानले चर्को मूल्यतिर्न बाध्य छन् । यो वर्ष मात्रै होइन विगत लामो सयमदेखि यो समस्या भएतापनि समाधान हुन सकेको छैन । सरकारले पटक–पटक रासायनिक मल ल्याउनका लागि गृहकार्य गरिरहेको भन्दै आएपनि खेती गर्ने बेला मलका लागि सधैं ‘पुर्पुरोमा हात राख्नु पर्ने’ किसानको समस्या झन् विकराल बन्दै गएको छ ।

धान रोप्ने समयदेखि धान गोड्ने समय, हरेक अन्न, बालीलगाउने मौसममा सधैं अभाव हुँदा किसानहरु मर्कामा पर्ने गरेका छन । हरेक सिजनमा दोहोरीने मलको अभाव समाधान गर्न तीनै तहको सरकारले ध्यान दिनुपर्ने होइन र ?

प्रतिकृया दिनुहोस्