RaraNews

जागरण मिडिया प्रकाशित : २०८०/४/१० गते
४७२ पटक

लुम्विनी । लुम्विनी प्रदेशका पालिकाहरुले स्वास्थ्य उपचारमा नागरिकको पहुँच विस्तार गर्न निःशुल्क बीमा कार्यक्रम सञ्चालनमा ल्याएका छन् । नागरिकलाई स्वास्थ्य उपचारमा आर्थिक अभाव कारण बञ्चित हुन नपरोस भनी स्वास्थ्य बीमाको रकम पालिकाले तिरिदिएको हो । तानसेन नगरपालिका–४, बारुदखानकी सरिता कालिराजले स्वास्थ्य बीमा कार्यक्रमबाट उपचार गर्न पाउँदा खुसी छन् ।

तानसेन नगरपालिकाले दलित तथा विपन्न परिवारका लागि स्वास्थ्य बीमाको रकम तिरिदिएपछि उपचारमा पहुँच विस्तार भएको बताउनुभयो । कालिराजजस्तै नगरपालिका भित्रका १७ सय दलित परिवारले स्वास्थ्य बीमा वापतको सुविधा हरेक वर्ष पाएका छन् । २०७५ सालदेखि तानसेन नगरपालिकाले नगरपालिकाभित्रका १४ वटै वडाका दलित परिवारलाई ५ जनासम्म सदस्यका लागि स्वास्थ्य बीमा गरिदिएको नगरपालिकाकी उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले बताउनुभयो ।

नगरपालिकाले वार्षिक दलित परिवारका लागि बीमामा मात्र ८५ लाख बढी रकम खर्च गर्छ ।तीन हजार पाँच सय रुपैयाँ बीमा रकम तिरेपछि बीमितले एक लाख रुपैयाँ बराबरको औषधी उपचार गर्ने सरकारको नीति अनुसार यसबाट फाइदा लिनेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।

कतिपय स्थानीय नागरिकले यस विषयमा नबुझेका बेला लुम्बिनी प्रदेशका केही पालिकाले भने दलित परिवारलाई निःशुल्क र लक्षित परिवारलाई ५० प्रतिशतसम्म बीमा रकम तिरिदिने गरेको छ ।

कपिलवस्तुको कपिलवस्तु नगरपालिकाले पनि दलित लगायत लक्षित वर्गलाई स्वास्थ्य बीमाका लागि एक करोड बजेट विनियोजन गरेको छ । सबै परिवार बीमामा जोडिन सकुन भनेर नै नगरपालिकाले १५ हजार ७ परिवारलाई नै सुविधा दिने घोषणा गरेको छ । १२ वटा वडा रहेको नगरपालिकामा बीमा सहजकर्ताले सबैलाई बीमा गर्नुपर्छ भन्ने चेतना जगाउने गरेका छन् । पाँच जनाका लागि आवश्यक ३ हजार ५ सयमध्ये १ हजार ७ सय ५० रुपैयाँ नगरपालिकाले तिरिदिने गरेको कपिलवस्तु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ताको भनाई छ ।

लुम्बिनी प्रदेशमा देवदह नगरपालिका, सैनामैना लगायत अन्य केही पालिकाले लक्षित वर्ग र दलित समुदायलाई बीमा गरेर प्रोत्साहन गरेको छ । बीमाका लागि छुट्याएको रकममा कतिपयले ५० प्रतिशत र केहीले सत प्रतिशत नै रकम तिरिदिएका छन् । अपांगता भएका, दलित, बादी समुदाय, आर्थिक रुपमा विपन्न परिवारले निःशुल्क बीमा गर्न पाएका छन् । स्वास्थ्य बीमा कार्यक्रम लुम्बिनी प्रदेश संयोजक जनक साउदले बताउनुभयो ।

लुम्बिनी प्रदेशका १२ जिल्लाका १० लाख १३ हजारा ३ सय ५१ जनाले स्वास्थ्य बीमा गरेका छन् । स्वास्थ्य बीमाको दायरामा आउन र उपचार लिनका लागि केही स्थानीय तहले गरेको कार्य प्रशंसनीय छ । तर अन्य पालिकाले पनि विपन्न, दलित, पछाडि पारिएका परिवारका लागि स्वास्थ्य बीमा गरिदिने हो भने आगामी दिनमा सरकारप्रति जनताको विश्वास अझ बढ्ने थियो कि ?

प्रतिकृया दिनुहोस्