RaraNews

जागरण मिडिया प्रकाशित : २०८०/३/२७ गते
२०७ पटक

जाजरकोट : जाजरकोटको भेरी नगरपालिका–१, रिम्नास्थित भेरी त्रिवेणी माध्यमिक विद्यालयमा १० कक्षामा अध्ययनरत खिमराज परियारको पढाइप्रति खासै रुचि छैन। अन्य विद्यार्थीको तुलनामा उनको सिकाइ उपलब्धि कमजोर छ। आगामी चैतमा राष्ट्रिय परीक्षा बोर्डले लिने एसईई परीक्षाको लागि अन्य विद्यार्थी अलि बढी नै मिहिनेत गर्दैछन्। उनी भने पढाइप्रति अझै एकाग्र हुन सकिरहेका छैनन्। ‘एसईई परीक्षा नजिक आउँदैछ, उनको पढाइमा भने अझै सुधार हुन सकेको छैन’, विद्यालयका शिक्षक रुद्रराज वली भन्छन्, ‘हामीले प्रयास गरे पनि घरायसीलगायत कारणले पढाइमा ध्यान नदिँदा समस्या भइरहेको छ।’

खिमराजको पढाइ कमजोर हुनु र अध्ययनमा ध्यान नजानुमा उनको पारिवारिक वातावरण प्रमुख कारक हो। उनी ५ कक्षामा पढ्दै गर्दा आमाको निधन भयो। एक वर्ष नबित्दै बुवाले अर्को विवाह गरे। घरको आर्थिक अवस्था निकैै कमजोर छ। खिमराज पढाइभन्दा बढी ज्याला मजदुरी गर्न बाध्य छन्। ‘सानैमा आमाको काल (मृत्यु) भयो, घरको अवस्थाले पनि पढ्न मन लाग्दैन,’ उनी भन्छन्।

दलित समुदायका खिमराज एक प्रतिनिधि विद्यार्थी हुन्, जसले गरिबीको भुँमरीमा फसेर पढाइमा सोचेजस्तो प्रगति गर्न सकेका छैनन्। जाजरकोटमा कुल विद्यार्थी संख्याको करिब ३१ प्रतिशत दलित समुदायका विद्यार्थी रहेका छन्। उनीहरूको सिकाइ उपलब्धि भने अन्य समुदायका बालबालिकाको भन्दा निकै कमजोर छ। शिक्षा विकास तथा समन्वय इकाई कार्यालयका अनुसार १ देखि १२ कक्षासम्म ७१ हजार २ सय २९ विद्यार्थी अध्ययनरत रहेकामा दलित समुदायका विद्यार्थीको संख्या २२ हजार २७ (३०.९२ प्रतिशत) रहेको छ। इकाई कार्यालय प्रमुख रमेश मल्ल दलित समुदायका विद्यार्थीको सिकाइ उपलब्धि अन्य विद्यार्थीको तुलनामा कमजोर रहेको विभिन्न अध्ययनले देखाएको बताउँछन्।

सेभ द चिल्ड्रेनको सहयोगमा पहाडी क्षेत्र विकास अभियानद्वारा सञ्चालित ‘अवसर परियोजना–२’ भेरी नगरपालिकाका केही विद्यालयमा गरेको सिकाइ उपलब्धि मापन परीक्षामा अन्य विद्यार्थीको तुलनामा कमजोर देखिएको थियो। सबै विद्यार्थीको औसत सिकाइ उपलब्धि ३६ प्रतिशत रहँदा दलित विद्यार्थीको सिकाइ उपलब्धि २९ प्रतिशतमात्र रहेको परियोजनाले जनाएको छ। ‘कमजोर आर्थिक अवस्था र चेतनाको अभावले धेरै दलित बालबालिकाको शैक्षिक अवस्था कमजोर रहेको छ,’ उनले भने, ‘भेरीका केही विद्यालयमा गरिएको अध्ययनबाट यस्तो तथ्य बाहिर आएको हो।’

भेरी त्रिवेणी माविमा ८ कक्षामा अध्ययनरत रिम्नाकै शान्ता परियारको पढाइ पनि अन्य विद्यार्थीको तुलनामा कमजोर छ। गोठाला जाने, मेलापात गर्ने, खाना पकाउने, भाँडा माभ्mने बाध्यताको कारण चाहेर पनि पढाइमा ध्यान दिन सकिनन्। अध्ययनरत विद्यालयका प्रधानाध्यापक प्रेम पुनका अनुसार उनको पढाइ स्तर औसत विद्यार्थीको भन्दा कमजोर छ। उनका अनुसार शान्ता र खिमराजजस्तै दलित समुदायका अन्य विद्यार्थीको शैक्षिक अवस्था कमजोर रहेको छ।

कतिपय विद्यार्थीको शिक्षण सिकाइ कमजोर भएर कक्षा दोहोर्‍याएर पढिरहेका छन्। त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत भेरी नगरपालिका–३, स्यालाका सुरेन्द्र नेपाली दुई वर्षदेखि उही कक्षामा पढिरहेका छन्। ७ विषयमध्ये ६ विषयमा न्यूनतम अंक पनि प्राप्त गर्न नसकेपछि सोही कक्षामा दोहोर्‍याउनु परेको विद्यालयका शिक्षक तारा पुन बताउँछन्। उनका अनुसार सुरेन्द्र अहिले पनि राम्रोसँग पढ्न–लेख्न जान्दैनन्। विद्यालयमा जति प्रयास गर्दा पनि पारिवारिक कारणले उनको सिकाइमा प्रगति हुन सकेको छैन।

कमजोर घरायसी अवस्थाकै कारण भेरी नगरपालिका–३, स्यालाकी पवित्रा सुनारले पनि पढाइमा सोचेअनुसार उपलब्धि हासिल गर्न सकेकी छैनन्। उनको जीवन पनि बाल्यकालमै खिमराज र शान्ताको जस्तै गरिबी र अभिभावक शून्यताको भुँमरीमा फस्यो। ६ वर्षअघि बुवाको निधन भएपछि आमाले दोस्रो विवाह गरिन्। बाल्यकालमै आमाबुवाको ममता खोसिँदाको असर पढाइमा पर्ने नै भयो।

गरिबी, चेतनाको कमीजस्ता कारणले दलित समुदायका बालबालिकाको पढाइस्तर मात्र कमजोर छैन, थुपै्र बालबालिका विद्यालयको पहुँचबाहिर समेत रहेका छन्। कापी–कलम बोकेर विद्यालय जाने उमेरका दलित समुदायका बालबालिका मजदुरी गर्न बाध्य छन्। बारेकोट गाउँपालिका–२ का धनबहादुर नेपालीलाई आफ्नै उमेरका अन्य बालबालिकासँगै विद्यालय जान मन लाग्छ, तर घरमा कामको चापले उनको पढ्ने चाहना मनमै मरेको छ। जब घडीमा १० बज्छ, उनका साथीहरू झोला बोकेर विद्यालय जान्छन्। उनी भने गाई लिएर गोठालो जान्छन्। ‘छोरालाई स्कुल पठाउन त मन थियो, घरको काम नगरी खान पुग्दैन,’ उनकी आमा मनमतीले भनिन्, ‘पढाउन, लेखाउन पनि पैसा चाहिन्छ, कहाँबाट ल्याउनू ?’ धनबहादुरका बुवाले एक वर्षअघि आत्महत्या गरेका थिए। १३ वर्षीय धनबहादुरले भने, ‘अब त चाहेर पनि स्कुल जान सकिँदैन।’     आपूmले पढ्न नपाए पनि भाइबहिनीलाई विद्यालय पठाउने उनको धोको छ। यसको लागि उनले आमालाई घरायसी काममा सघाइरहेका छन्।

कमजोर आर्थिक अवस्थाकै कारण बारेकोट गाउँपालिकामा विद्यालय उमेर समूहका करिब एक सय दलित बालबालिका विद्यालयको पहुँचबाहिर रहेका छन्। २१औं शताब्दीमा पनि उनीहरू अक्षर चिन्नबाट वञ्चित छन्। बारेकोट गाउँपालिका— ६ की ११ वर्षीया तारा नेपाली यस्तै विडम्बना भोग्न बाध्य एक बालिका हुन्। घरको आर्थिक अवस्था कमजोर भएकैले उनले विद्यालयमा पाइला टेक्न पाएकी छैनन्।

वीरेन्द्र ऐश्वर्य मावि, लिम्साका प्रधानाध्यापक गोरखबहादुर सिंह पढाइबाट वञ्चित बालबालिकालाई स्थानीय सरकारले विद्यालय जाने वातावरण मिलाउनु पर्ने बताउँछन्। पढाइबाट वञ्चित हुनेमा दलित समुदायका बालबालिका धेरै रहेकाले सरकारले गाँस, बासको प्रबन्ध गर्नेतिर पनि ध्यान दिनुपर्ने उनको भनाइ छ। ‘हिजो सिंहदरबारमा रहेको सरकार अहिले गाउँगाउँमा पुगेका छन्, तर जनताको आर्थिक अवस्था उस्तै छ,’ उनले भने, ‘गरिबी र विपन्नताको सोझो असर शिक्षामा परेको छ, दलित समुदायका बालबालिका अझ बढी प्रभावित छन्।’

बारेकोट गाउँपालिका— ६ का वडाध्यक्ष तिलक महतारा कमजोर आर्थिक अवस्थाको कारण बारेकोटमा दलित समुदायका बालबालिका अध्ययनबाट वञ्चित भएका स्वीकार्छन्। उनीहरूलाई कसरी विद्यालयको पहुँचमा पुर्‍याउने भन्नेबारे ठूलो चुनौती रहेको उनको भनाइ छ। ‘सानैमा अभिभावकको मृत्यु भएपछि घरको जिम्मेवारी आइलाग्ने कारणमात्र नभई कमजोर आर्थिक अवस्थाले अभिभावकले पनि पढाउन सक्दैनन्,’ उनले भने।

बारेकोटमात्र होइन, जिल्लाभर शिक्षाबाट वञ्चित हुने दलित बालबालिकाको संख्या ठूलो रहेको छ। शिक्षा विकास तथा समन्वय इकाइका अनुसार सातवटै स्थानीय तहमा करिब पाँच सय दलित समुदायका बालबालिका विद्यालयको पहुँचबाहिर रहेका छन्। नागरिक अगुवा राजेन्द्रविक्रम शाह स्थानीय तहले शिक्षामा लगानी गर्न नसक्दा बालबालिका शिक्षाबाट वञ्चित भइरहेका बताउँछन्।

शिक्षाबाट वञ्चित हुँदै गर्दा दलित बालबालिका बालविवाहको चपेटामा पनि पर्ने गरेका छन्। बालविवाहको कारण विभिन्न स्वास्थ्य समस्या झेल्नुका साथै आर्थिक विपन्नता पनि थपिन्छ। ‘सानैमा विवाह हुन्छ, त्यसपछि बच्चाबच्ची जन्मिन्छन्, अनि उनीहरूको लालनपालनमा थप आर्थिक भार पर्छ,’ बारेकोटकी सुशीला विकले भनिन्, ‘शिक्षामा कमजोरी हुँदा सँगसँगै अन्य समस्या पनि थपिँदै जान्छन्। दलित बालबालिकाको शिक्षामा पहुँच बढाउन र सिकाइ उपलब्धि बढाउन सरकारले छात्रवृत्ति योजना लागू गरेको छ।

सरकारले जाजरकोटका दलित बालबालिकाको लागि बर्सेनि छात्रवृत्तिमा लाखौं रकम खर्चिने गरेको छ। प्रतिविद्यार्थी चार सयका दरले १ देखि ८ कक्षा सम्मका १७ हजार ४ सय ६९ बालबालिकाका लागि चालू आवमा ६९ लाख ८७ हजार ६ सय रुपैयाँ छात्रवृत्तिमा खर्च भएको पालिकाहरूले जनाएका छन्। तैपनि त्यसको प्रभावकारिता देखिएको छैन। शिक्षाका लागि राष्ट्रिय अभियानका जिल्ला संयोजक सहदेव बस्नेत अशिक्षित अभिभावकको शिक्षाप्रतिको कमजोर बुझाइ, गरिबीको कारण साँझ बिहान गुजारा गर्ने समस्या, सरकारको शिक्षामा न्यून लगानीलगायत कारणले दलित समुदायका बालबालिका विद्यालयको पहुँचबाहिर हुनुका साथै विद्यालय गएका बालबालिकाको पनि सिकाइ उपलब्धि निराशापूर्ण रहेको बताउँछन्। ‘जिल्लामा दलित बालबालिकाको संख्या अधिक रहे पनि शिक्षामा उनीहरूको कमजोर पहुँच देखिन्छ,’ उनले भने।

प्रतिकृया दिनुहोस्