RaraNews

जागरण मिडिया प्रकाशित : २०८०/३/२७ गते
२०६ पटक

मेखराज उदय

जातको विकास गरेर समानता, न्याय, मानवता प्राप्त गर्न सम्भव छैन। त्यसैले जातप्रति घृणा गर्ने बानीको विकास गरौं।
जात व्यवस्था र जात व्यवस्थाका कारण सिर्जित समस्याका सम्बन्धमा उत्पीडित समुदाय नै दिग्भ्रमित तथा विभाजित देखिन्छन्। मूलतः जात व्यवस्था के हो ? यसका आधार र कारण के हुन् ?

समाधान के हुन सक्छन् भन्ने सवालमा उत्पीडित समुदाय नै विभाजित एवं अन्योलग्रस्त हुनु दुःखद् छ।

कुनै प्रसंगमा चन्द्रमोहन जैन याने रजनिश ओशो भन्थे, ‘यहाँ पर… है, उनको रास्ता दिखा रहे है, और मजा ये है कि, पहुँचता कोई नही।’ कुनै पनि समस्याको समाधान खोज्नुपूर्व उक्त समस्याको मुख्य कारण एवं आधार ज्ञात हुनु अनिवार्य छ। यो सामान्य तर अनिवार्य सर्त हो। तथ्यपरक आधार र कारणहरूको खोजी नै नगरी जातीय मुक्तिको चर्काे र क्रान्तिकारी नारा उराल्ने गिरोहबाट कुनै आशा गर्नु समुदायका निम्ति मूर्खतामात्रै होइन, घातक हुनेछ। त्यस्तै जातको विनाश गर्ने कि विकास ? यो अत्यन्तै महत्त्वपूर्ण सवाल हो।

यथार्थमा हामीलाई जात किन प्यारो लाग्छ ? जातविहीन समाज र देश बनाउन सम्भव छ त ? जात राख्ने तर विभेद र छुवाछूत व्यवस्था तथा प्रथा मात्रै हटाउने कतिपयको बुझाइ छ। तर के जातको समूल नष्ट या अन्त्य गर्न सकिँदैन, वा गर्नै हुँदैन ? सकिन्छ भने त्यस दिशातर्फ हामी किन अघि नबढ्ने ? यो आलेखमा यिनै विषयमाथि छोटकरीमा चर्चा गरिने छ।

जातका आधारमा गरिने विभेद र छुवाछूतजन्य घटना दिनप्रतिदिन घटिरहेका छन्। तीमध्ये एउटा घटना हो, यही असार दोस्रो साता मात्रै लुम्बिनी प्रदेशको राजधानी दाङ जिल्लाको घोराहीमा जातका कारण प्राविधिक शिक्षा अध्ययन गरिरहेका दलित युवामाथि छुवाछूतको घटना भयो। पोखरेल थरका घरबेटीले ती युवामाथि दलित समुदायकै भएका कारण जातीय तथानाम गालीगलौजमात्रै गरेनन्, रातारात जबर्जस्ती गरी घरबाट निकालिदिए। त्यस्तै अर्को घटना ऐतिहासिक खस साम्राज्यको राजधानी रहेको र खस भाषाको विकाससमेत भएको भनी गौरव गरिने जुम्लाको सिञ्जामा दलित युवा र गिरी (जोगी) थरकी युवतीबीच प्रेमविवाह भयो। आफ्नी बहिनी स्वेच्छाले दलित युवासँग प्रेमविवाह गरेका कारण युवतीका दाइले ती दलित युवाको घरमा आगो लगाइदिए। ती दाङका विभेदकारी घरधनी र ज्वाइँको घरमा आगो लगाउने गिरी दुवैजना हाल अनुसन्धानको क्रममा प्रहरी हिरासतमा छन्।

समाजका हरेक कुनामा यस्ता थुप्रै घटना दैनिक घटिरहेका छन्, तथापि कैयौं घटना सञ्चारमाध्यम र कानुनी कठघरामा आउन सकिरहेका छैनन्। जात व्यवस्थाको आधार ब्राह्मणी धर्म र व्यवस्था (राजनीति) हो। ब्राह्मणी व्यवस्थाका मूलतः तीन आधार छन्। पहिलो, वर्ण (जात) व्यवस्था, दोस्रो, पितृसत्ता र तेस्रो हो, भाग्यवाद। वैदिक संस्कृत भाषामा लेखिएको पहिलो र प्राचीनमध्येको एक पुस्तक ऋग्वेदमा चार वर्णको व्यवस्था छ। जातका आधारमा गरिने विभेदको मुख्य सूत्राधार ऋग्वेदको त्यही व्यवस्था हो। ऋग्वेद  आठौंदेखि नवौं शताब्दीको बीचमा लेखिएको मानिन्छ। किनभने संस्कृत देवनागरी लिपिमा छ।

देवनागरी लिपि आठौं शताब्दीपश्चात् मात्रै विकसित भएको हो। उक्त वर्ण व्यवस्था नै कालान्तरमा जात व्यवस्था र छुवाछूत प्रथा बन्न पुगेको इतिहास जीवित छ। ऋग्वेदमा केही रोचक प्रसंग छन्, जस्तैः अनार्य जातिका सन्दर्भमा अव्रत (व्रतको पालन नगर्ने जाति) मृद्धवाच अर्थात् अस्पष्ट (अशुद्ध) वाणी बोल्ने वाला र अनास अर्थात् थेप्चो नाक भएको आदि उल्लेख गरिएका छन्।

जात व्यवस्थाको प्रसँग आउँदा अछूत बनाइएका अर्थात् कथित दलित समुदायको मात्रै समस्या र सरोकारको विषय हो भनी गौण ठानिने परम्परागत मान्यता स्थापित छ। अझ विडम्बना दलित शब्द खारेजी गरी शिल्पी शब्द स्थापित गर्न संघर्ष गर्ने तर्क गर्ने गरिन्छ जुन सही छैन। के दलित शब्दका कारण समुदायमाथि विभेद भएको हो र ? अथवा आरक्षण वा कोटा प्रणालीका कारण दलित समुदायमाथि विभेद गरिएको हो ? वा कोटा लिइसकेपछि दलितमाथि विभेद गर्न पाउनु पर्छ भन्ने अराजक अभिव्यक्ति सही हो ? एक पटक यी प्रश्नहरूमाथि ध्यान केन्द्रित गरौं।

मानव सभ्यताको सुरुवात अर्थात् जंगली र ढुंगेयुगबाट गाउँहरूको निर्माण गर्ने वा कबिला युगबाट अघि बढ्ने समयदेखि नै वर्ण व्यवस्था लागू गरिएको हो। जुन बखत वर्गको निर्माण भइसकेकै थिएन, त्यसताकादेखि वर्णको निर्माण गरियो। अब करिब एक शताब्दीदेखि प्रयोगमा ल्याइएको दलित शब्दका कारण विभेद स्थापित भयो भन्नु इतिहास अध्ययनको कमी र मूर्खताको पराकाष्ठा हो। अर्काे कुरा शिल्पीको अर्थ पनि शूद्र नै हो र शास्त्रबमोजिम शिल्पीको काम, कर्तव्य उपल्ला तीन वर्ण (ब्राह्मण, क्षत्रीय र वैश्य)को सेवा गर्नु हो भनी उल्लेख छ। शिल्पी कथित बाबा विश्वकर्माको एक सन्तान भनिएको छ। विश्वकर्मा बाबा पनि शास्त्रहरूमा काल्पनिक र मिथकीय पात्रको रूपमा प्रयोग गरिएको देखिन्छ। अर्काे तथ्यबारे पनि विचार गरौं, शास्त्रका विश्वकर्मासँग नेपालका कुनै अछूत जातिको कुनै प्रकारको नातासम्बन्ध नरहेको पनि प्रस्ट छ।

अब आरक्षण वा कोटा प्रणालीतर्फ आऔं। कोटामार्फत केही दलित, महिला, आदिवासी जनजाति, मधेसी र मुस्लिम समुदायले संसद्, निजामती कर्मचारी, सेना, प्रहरी, शिक्षक, उच्च शिक्षा आदिमा न्यूनतम अवसर प्राप्त गरेको सही सत्य नै हो। तर त्यसमा पनि आर्य, खस समुदायले झन् बढी फाइदा लिइरहेका छन्। युगौंदेखि राज्यसत्ताको सम्पूर्ण अधिकार उनीहरूको मुठ्ठीमा रहँदै आएको भएता पनि आर्य, खस समुदायले थप कोटा लिइरहेका छन्।

हाल नेपाल सरकारका प्रभावशाली अर्थमन्त्री खस आर्य कोटामार्फत प्रतिनिधिसभाका सांसद् हुन्। पूर्वगृहमन्त्री तथा कांग्रेस नेता विमलेन्द्र निधि मधेसी कोटाबाट, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवापत्नी डा. आरजु राणा महिला कोटाबाट, एमाले नेता रघुजी पन्तलगायत थुप्रै आर्य, खस अर्थात् बाह्मण, क्षत्री नेताहरू कोटामार्फत सांसद्, मन्त्री आदि पदमा पुगेका छन्। त्यसैले दलितलाई कोटा दिइएको हुनाले खुल्लम् खुल्ला विभेद गर्न पाउनुपर्छ भन्ने दलिल खेदपूर्ण छन्।

ेप्रकृति, संस्कृति र राजनीतिका कारणले मानवको शारीरिक बनोटमा भिन्नता देखा परे। नेपालमा चार प्रकारका विभेद विद्यमान छन्। पहिलो, जातीय, दोस्रो, क्षेत्रीय, तेस्रो, धार्मिक र चौथो हो लंैगिक। जातको विकास गर्नुपर्ने तर्क शासक जातिमात्रै होइन, उत्पीडित समुदायका कतिपय व्यक्ति र जातीय संगठनको समेत चाहना हो। जातको विकास होइन, विनाश गर्नु जरुरी छ। त्यसका निम्ति कथित अछूतदेखि ब्राह्मणसम्मले आफ्नो जन्म, जाति, शारीरिक बनोट, धर्म, कुल, नश्लमा गर्व गर्ने परम्परा त्याग्नु पर्छ। जात व्यवस्थाप्रति घृणा जागृत गरेर जातको विनाश गर्न सकिन्छ। मानव केवल मानव हो, उसको अन्य कुनै जात छैन, छन् भन्ने सबै भ्रम हुन्। जातको विकास गरेर समानता, न्याय, मानवता प्राप्त गर्न सम्भव छैन। त्यसैले जातप्रति घृणा गर्ने बानीको विकास गरौं।​​​​​​​

प्रतिकृया दिनुहोस्