RaraNews

जागरण मिडिया प्रकाशित : २०८०/१/१५ गते
४१० पटक

बुटवल । वर्तमान र पूर्व सासंदहरु बीच अनुभव आदान प्रदान तथा नव निर्वाचित प्रदेश सासंदहरुको भुमिका बिषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । जागरण मिडिया सेन्टरले बिहीवार रुपन्देहीको बुटवलमा गरेकोे छलफल कार्यक्रममा पूर्व सांसदहरुले अघिल्लो पाँच बर्षे कार्यकाल प्रदेशसभाको नौलो अभ्यास तथा कोरोना महामारीका कारण उपलब्धिमुलक बन्न नसककोे निष्कर्ष निकालेका हुन ।

कार्यक्रममा संविधानसभा सदस्य विनोद पहाडीले प्रदेश सरकार प्रचुर सम्भावनाका बीचमा पनि ठोस निर्णय लिन नसक्दा दलित, सीमान्तकृत, अल्पसंख्यक, मुस्लिम लगायतको पक्षमा काम हुन नसकेको बताउनुभयो । उहाँले सीमान्तकृत समुदायको हक अधिकार स्थापित गर्न बजेट विनियोजन गरिएपनि खर्च हुन नसकेको बताउनुभयो ।

उहाँले जनतासंग प्रत्यक्ष सरोकार राख्ने निकायको रुपमा रहेको मन्त्रालयले समेत जनताको पक्षमा काम नगरेको भन्दै अबको पाँच बर्ष नवनिर्वाचित सासंदहरुले जनताका समस्या समधानका लागि प्राथमिकतामा राखेर जनपक्षीय योजना बनाउन सुझाव समेत दिनुभयो ।

उक्त छलफल कार्यक्रममा लुम्विनी प्रदेशकी पूर्वराज्य मन्त्री रिना नेपाल (विश्वकर्मा)ले महिलाहरु जति नै नेतृत्वदायी भुमिकामा रहेतापनि महिलाको नेतृत्व स्विकार गर्न जुनसुकै दलका नेताकार्यकर्ता तथा कर्मचारीहरुले आनाकानी गर्ने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो“बजेट विनियोजनमा पनि सरकार, कर्मचारी र दलबाट प्रत्यक्ष निर्वाचित सांसदहरुले विभेद गर्ने गरेको बताउदै हरेक चुनौतीको सामना गर्न सके मात्रै सक्षम नेतृत्व बन्न सकिन्छ ।” कार्यक्रममा प्रदेश सभा सदस्य रमा अर्यालले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस वा अन्य दलले समेत महिलालाई कार्यकारी पद दिने सवालमा गैरजिम्मेवार भएको उहाँले बताउनुभयो ।

उहाँले सासंदहरुको भुमिका धेरै भएपनि पार्टीको निर्देशन विधि र पद्धति अनुसार चल्नुपर्ने भएकोले महिला साँसदहरु अधिकार बिहिन भएको बताउनुभयो । “सुरुवात र सिकाईको चरणमा पनि प्रदेशमा ६५ वटा कानुन पास गरेका छौ, आवश्यकता र ओैचित्यका आधारमा बनाएको कतिपय कानुन कार्यान्वयनको अवस्थाबाट भने प्रदेश सरकार चुकेको छ । त्यस कारण यी कानुनलाई कार्यन्यवयनमा लैजान जिम्मेवारी वर्तमान सासंदहरुको हो”उहाँले भन्नुभयो ।

यस्तै महिला नेतृ दिपा विश्वकर्माले उत्पीडनमा परेका समुदायको आवाज सोही समुदायबाट मात्र बढि मात्रामा उठ्ने गरेको हुदाँ यो सबैको साझा मुद्दा हुनुपर्ने बताईन । उनले भनिन “महिला सांसद सदनमा ताली बजाउने काममा बढि केन्द्रीत भएको भन्दै महिला अब कार्यकारी निर्णय गर्ने अधिकार सम्पन्न क्षेत्रमा पनि अगाड बढ्नुपर्ने सुझाव दिईन ।”

त्यस्तै कार्यक्रम वर्तमान सासंदहरु निमा गिरि, हेमा बेलवासे, शान्ति लोध, जानकी न्यौपाने लगायतले बोल्दै प्रदेश सभामा गएको ४ महिना बितिसक्दा पनि ९ बटा मात्रै बैठक बसेको भन्दै प्रदेश सासंदहरु बेरोजगारी भएको बताउनुभयो ।

कार्यक्रममा जागरण मिडिया सेन्टरका केन्द्रीय अध्यक्ष कमला बिश्वकर्माले मानवअधिकार, दलित, महिला, सिमान्तकृत तथा अल्पसंख्यकहरुको बिषयका मुद्दाहरु संसदमा जोडदार रुपमा उठाउन पर्ने बताउँनुभयो । यी लक्षित वर्गको उत्थानका लागि छुट्टै कानुनी व्यवस्था गर्न संसदमा नियमित रुपमा आवाज उठाउन वर्तमान सासंदहरुलाई आग्रह गर्नुभयो ।

लुम्बिनी प्रदेशमा विभेद बिरुद्ध सांसद सञ्जाल गठन
जागरण मिडिया सेन्टरले छलफल कार्यक्रमबाट नै नयाँ र पुराना सांसदहरुको समन्वयकारी भुमिका होस् भन्ने उद्देश्यले लुम्बिनी प्रदेशमा वर्तमान र निर्वतमान सांसदहरुको संजाल समेत गठन गरेको छ । सबै प्रकारका विभेद बिरुद्ध सांसद सञ्जाल (लुम्बिनी प्रदेश) नामक सञ्जाल गठन भएको हो । जसको संयोजकमा प्युठानकी प्रदेश सासंद निमा गिरी हुनुहुन्छ । आगामी दिनमा यसै सञ्जाल मार्फत सांसदहरुको निरन्तर भेटघाट तथा अन्तरक्रिया गर्ने जनाइएको छ । छलफलमा ३० जना साँसद तथा अधिकारकर्मीको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्