RaraNews

जागरण मिडिया प्रकाशित : २०८०/१/६ गते
२६८ पटक

काठमाडौं । जवाफदेहीता निगरानी समिति, वकालत मञ्च नेपाल, न्याय तथा अधिकार संस्था (जुरी नेपाल) र एम्नेष्टि ईन्टरनेशनल नेपालको हालै काठमाण्डौंको रत्नपार्क स्थित शान्तिबाटिकामा शान्तिपूर्वक प्रदर्शन गरिरहेका मिटर ब्याज पीडितहरूमाथि प्रहरीले अत्यधिक बल प्रयोग गरी दमन गरेको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।
प्रहरीले मिटरब्याज पीडितलाई लाठी र पानीको फोहोरा प्रयोग गर्दा कम्तीमा ९ जना प्रदर्शनकारीहरु घाइते बनाएको थियो । घाइतेहरुको वीर अस्पतालमा उपचार भइरहेको छ । ६ जना महिलासहित ३५ जना पीडितहरुलाई प्रहरीले नियन्त्रणमा लिई गैरकानूनी थुनामा राखिएको प्रति अधिकारकर्मीले विरोध जनाएका हुन ।
प्रहरीले शान्तिपूर्ण प्रर्दशनलाई तितरबितर पार्न टाउकोमा निर्ममतापूर्वक लाठी प्रहार गर्ने, लात्तीले हान्ने, पानीको फोहोरा प्रयोग गर्ने जस्ता कार्यहरू निन्दनीय हुनुका साथै मानवअधिकार र लोकतान्त्रिक स्वतन्त्रताको गम्भीर उल्लंघन हो ।
२०७९ चैत्र १८ गते सरकारले मिटर ब्याज पीडितहरुको अर्को समूहसँग गरेको पाँचबुँदे सहमतिमा असहमति जनाउँदै आफ्ना समस्याको स्थायी समाधान खोज्न सरकारलाई दबाब दिँदै मिति २०७९ चैत्र २४ गते सिंहदरबार अगाडि प्रदर्शन गरिरहेका केही पीडितहरूलाई प्रहरीले बलपूर्वक नियन्त्रणमा लिएको थियो ।
नेपालको संविधानले शान्तिपूर्वक भेला हुने, स्वतन्त्रताको हक र यातना विरुद्धको हकलाई मौलिक हकको रूपमा प्रत्याभूत गर्नुका साथै नेपाल नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध र यातना विरुद्धको महासन्धिको पक्ष राष्ट्र हो । तसर्थ, बिना कुनै प्रतिबन्ध शान्तिपूर्ण भेला हुने अधिकारको प्रयोग गर्न दिनु, कसैलाई शारीरिक वा मानसिक यातना वा क्रूर, अमानवीय वा अपमानजनक व्यवहार नगर्नु, र त्यस्ता अपराधका लागि जिम्मेवार व्यक्तिहरूलाई अनुसन्धान, अभियोजन र दण्डित गर्नु नेपालको अन्तर्राष्ट्रिय दायित्व हो ।
नेपाल सरकार र कानून कार्यान्वयन गर्ने निकायलाई विगतमा गरेको मानवअधिकारको संरक्षण र कानूनी शासनको प्रवर्द्धन गर्ने प्रतिबद्धता स्मरण गराउँदै निम्न कुराहरू गर्न आग्रह गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ ।
–मानव अधिकारको सम्मान, संरक्षण र प्रवर्द्धन गर्नका लागि कानुनी दायित्वहरू पालना गर्न,
–मानव अधिकार र कानूनी शासन प्रतिको प्रतिबद्धता व्यवहारमा लागु गर्न,
–सबै प्रकारका प्रदर्शनकारीहरू÷बन्दीहरूलाई नियन्त्रणमा लिँदा र÷वा नियन्त्रणमा राख्दा कुनै पनि
प्रकारको अमानवीय वा अपमानजनक व्यवहार नगर्न,
–यस घटनाको तत्काल विश्वसनीय, निष्पक्ष र स्वतन्त्र अनुसन्धान गर्न र जिम्मेवार व्यक्ति र÷वा निकायलाई कारबाही गर्ने र पीडितहरूलाई कानून बमोजिम क्षतिपूर्ति प्रदान गर्ने,
–मिटरब्याज पीडितको वास्तविक माग सम्बोधन गर्न र सामाजिक न्याय सुनिश्चित गर्न तत्काल कानूनी, प्रशासनिक र अन्य उपयुक्त उपायहरू लागू गर्न ।

प्रतिकृया दिनुहोस्