अनिल यादव,मणिलाल विश्वकर्मा,
नौ महिनाअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले बँधुवा श्रम प्रथाका रूपमा विद्यमान रहेको हरवाचरवा प्रथा मुक्तिको घोषणा गर्नुभन्दा ६ वर्षअघि नै मनरूप मण्डल बँधुवाबाट मुक्त भइसकेका थिए । ४१ वर्षदेखि मालिकको घरमा हरवा बस्दै आएका पूर्वी घनुषाको सहिदनगर नगरपालिका– २ ननुपट्टी गाउँका ६१ वर्षका मनरूपको मुक्ति रहर थिएन, बाध्यता थियो ।
खासमा मालिकको घरमा काम गर्दागर्दै घाइते भएपछि उनी ‘हरवा’ बन्न पनि अयोग्य भएका थिए । घटना ०७३ को हो । मनरूपले मालिक बौएलाल मण्डलको माछा फर्ममा काम गरेको डेढ महिना मात्रै भएको थियो । मालिकको घर मर्मतसम्भार भइरहेको थियो । अरू मजदुरसँगै मनरूप पनि घर मर्मतकै काममा खटिएका थिए ।
मनरूपलाई ठ्याक्कै दिन याद छैन । तर, त्यस दिन घरको छानामा काम गरिरहेका सहकर्मी मजदुर तल झर्ने क्रममा एक्कासि झर्याङ खुस्कियो । त्यसपछि ती मजदुर मुनि रहेका मनरूपमाथि बेस्सरी बजारिए । मनरूपको देब्रे खुट्टाको जाँघमुनिको भाग कर्याककुरुक भयो ।
लगत्तै उनलाई उपचारका लागि जनकपुरस्थित ओम दीर्घायु अस्पतालमा लगियो । करिब पाँच लाख खर्च लाग्ने भयो । मनरूपकी श्रीमती शिवदेवी मण्डल श्रीमान्को उपचारका लागि मालिकको घरमा याचना गर्न पुगिन् । तर, मालिकले एक रुपैयाँ पनि सहयोग गर्न मानेनन् । न अस्पतालमा एकपटक हेर्न नै गए । जसको घरमा काम गर्दागर्दै खुट्टा गयो, उनैले बेवास्ता गरे । मालिकको व्यवहारले मनरूपको मन नै कुँडियो । ‘काम गर्न नसक्ने भयो भनेर होला, मालिकले उपचार गराउन त परको कुरा अस्पतालमा हेर्नसम्म आएनन्,’ मनरूपले सुनाए ।
त्यसपछि आमाले आफ्नो हिस्सामा गरिदिएको १० कट्ठा जग्गा बेचेर श्रीमान्को उपचार गराएको मनरूपकी श्रीमती शिवदेवीले बताइन् । चार छोरी, एक नातिनीसहित सानो झुपडीमा दुःख–सुख बसिरहेको मण्डलदम्पती त्यो दुर्घटनापछि शिवदेवीकै भरथेगमा चलिरहेको छ ।
अस्पतालबाट घर फर्किएपछि श्रीमान्ले घरको सामान्यबाहेक अरू काम गर्न नसक्दा शिवदेवी मालिकको खेतमा हरवाचरवा बस्न मजबुर छिन् । भएको जग्गा पनि उपचारमा खर्चमा सकियो । खेतीपातीका लागि अर्को विकल्प भएन ।
घरमा उनले श्रीमान्का लागि झुपडीसँगै एउटा सानो घुम्ती पसल खोलिदिएकी छिन् । जहाँ दुई–चार थान, बिस्कुट, चाउचाउलगायतका खाद्य सामग्री छन् । ‘यसबाट त्यही एक–दुई सय व्यापार हुन्छ,’ त्यही घुम्ती अहिले उनको जीवनमा दिन कटाउने मोड बनेको छ । भाँचिएको भाग देखाउँदै भन्छन्, ‘पैसा नभएर अहिलेसम्म खुट्टाको स्टिल निकाल्न सकेको छैन ।’
२० वर्षको उमेरदेखि हरवाको काम गर्दै आएका मनरूपले ४१ वर्षको अवधिमा तीन मालिक फेरिए । ती हुन् रामसागर मण्डल, बौएलाल मण्डल र रमेश मण्डल । तर, त्यो दुर्घटनापछि उनको खुट्टाको स्टिल फेर्न कोही तयार भएनन् ।
मनरूप दुर्घटनामा परेपछि सपना पनि मर्न थाले । मनरूपलाई मन छ, एसइई दिएकी दुई छोरी क्याम्पस पठाउने । तर, आर्थिक अवस्थाले त्यो सम्भव भएन । अनि छोरीहरू मालिकको बाख्रा चराउन बाध्य छन् ।
मनरूप मालिकको घरमा हरवा बसेरै छोरीहरू पढाउन सक्ने अवस्थामा छैनन् । श्रीमतीको एक्लो कमाइले घर खर्च धान्नै मुस्किल छ । ‘खुट्टाको स्टिल झिक्न सकेको छैन, छोरी पढाउनु कसरी,’ उनी दुखेसो पोख्छन् ।
मनरूपकी माहिली छोरी मनीषाले गत वर्ष यदुकुहास्थित जनता एकाइ उच्च माविबाट एसइई उत्तीर्ण गरेकी थिइन् । त्यसपछि उनको यात्रा उच्चशिक्षातिर होइन, अधियामा पालेका दुईवटा बाख्रा चराउनतिर मोडियो । हामीले सोध्यौँ– ‘किन नपढेको ?’ बुबासँगै घुम्तीमा पलेँटी मारेर बसिरहेकी मनीषाले भनिन्, ‘पैसा नभएर ।’
आमा शिवदेवीले चाहना हुँदाहुँदै पनि छोरी पढाउन नसकेको बताइन् । यही वर्ष उनकी साहिली छोरी अनिषाले पनि एसइईको परीक्षा दिएकी छिन् । तर, आर्थिक अभावले अनिषाको नियति पनि मनीषाको जस्तै हुने अवस्था छ । ‘दुई छाक खान पनि गाह्रो छ, कसरी पढाउनु ? ,’ शिवदेवी आफ्नो बाध्यता सुनाउँदै भावुक हुन्छिन् ।
मनरूपको परिवारमा पछिल्लो सात वर्षयता चोटैचोट थपिएको छ । सामाजिक परम्पराअनुसार बिहे गराएर पठाएकी जेठी छोरी रुवि पनि श्रीमान्को यातनाका कारण पाँच वर्षयता माइतमै बस्न बाध्य छिन् । रुविको ०७१ सालमै धनुषास्थित तेलयानाका रामबाबु मण्डलसँग मागीबिहे भएको थियो ।
श्रीमानले दाइजो पर्याप्त नदिएको भन्दै यातना दिन थालेपछि उनी आरुषीसँगै माइतीमै बसिरहेकी छिन् । ‘विवाह भएको दुई–तीन महिना लगत्तैदेखि दाइजो कम दिएको भन्दै कुटपिट गालीगलौज गर्न थालेपछि छोरी माइतीमै बसिरहेकी छिन्, वैदेशिक रोजगारीको क्रममा साउदी अरबमा काम गरेर एक वर्षअघि घर आएका ज्वाइँले सम्बन्धविच्छेदको मुद्दा हालेका छन्,’ आमा शिवदेवीले भनिन् ।
सरकारले हरवाचरवा मुक्तिको घोषणा गरे पनि अहिलेसम्म उनीहरूको न्यायिक पुनस्र्थापना हुन सकेको छैन । गत २५ देखि २८ चैतसम्म मधेसका हरवाचरवा सप्तरीको राजविराज र पर्साको वीरगन्जबाट एकसाथ अधिकार यात्रामा होमिएका थिए । घाइते श्रीमान् घर छाडेर अधिकारका लागि त्यो आन्दोलनमा हिँड्ने भिडमा शिवदेवी पनि थिइन् । ‘जय हरवाचरवा’ भन्दै यात्रामा हिडेकी उनी भन्दै थिइन्, ‘घोषणापछि मालिकले काम दिन छाडिसके, अब कसरी बाँच्ने?’
साभार : Nayapatrikadaily.com