RaraNews

जागरण मिडिया प्रकाशित : २०७९/१२/१७ गते
३५० पटक

सीता बि.के.

वादी सामुदायको मानव अधिकार सुनिश्चितताको लागि सबै सरोकारवालाहरुले भुमिका खेल्नु पर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन । राष्ट्रिय मानव अधिकार आयोगको आयोजना र सामुदायिक शशक्तिकरण तथा रुपान्तरण (कमिट) नेपाल नेपालगञ्ज बाकेको समन्वयमा शुक्रबार काठमाडौमा भएको वादी समुदायको मानव अधिकारको अवस्था,चुनौती र सरोकारवालाहरुको भुमिका बिषयक कार्यशालामा बोल्ने वक्ताहरुले सो कुरा बताएका हुन ।

कार्यक्रममा बोल्ने वक्ताहरुले सबै भन्दा पछाडि पारिएको वादी समुदायको अवस्था दयनिय भएकाले तीनै तहको सरकारलाई झक झकाउँदै मानव अधिकारको प्रत्याभुति गराउन जरुरी रहेको बताएका हुन ।

कार्यक्रमका प्रमुख अतिथि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले वादी समुदायको सवालबारे छलफल भैरहेकाले सरकार समस्या समाधानका लागि प्रतिवद्ध रहने बताउनु भयो । उहाँले राज्य पछाडि पारिएको समुदायको पक्षमा सधै रहने बताउनु भयो । मन्त्री मोदीले केहि समय पहिले सबै बिकास समिती विघटन गर्दा वादी विकास समिती पनि बिघटनमा परेकाले पुनःसंचालनका लागि तत्काल अलि गाह्रो हुन सक्ने धारणा राख्नु भयो ।

कार्यक्रमका विशिष्ठ अतिथि राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले वादी समुदायका थुप्रै समस्या अझै पनि ज्युकात्यु भएकाले राज्यले नै ठोस कदम चाल्नु पर्ने भनाई राख्नु भयो । उहाँले आयोगले वादी समुदायका सवालमा गर्न सक्ने कामहरुलाई समन्वय गर्दै अगाडि बढाउने प्रतिवद्धता पनि जनाउनु भयो ।

त्यस्तै लुम्बिनी प्रदेश सभा सदस्य शुशिला वादीले सरकारले वादी समुदायको मुद्धालाई बेवास्ता गर्दै आएको गुनासो राख्नु भयो । उहाँले आफु वादी अधिकारका लागि निरन्तर आवाज उढाउदै आएको र अब पनि संसदमा आवाज उठाउने बताउनु भयो ।

कार्यक्रमका अध्यक्ष राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा.सुर्य प्रसाद ढुङ्गेलले मानव अधिकारका दृष्टीले सबै नागरिक समान हुने बताउनु भयो । उहाँले मानव विकास सुचकाङ्कमा सबै भन्दा कमजोर वादी समुदायको मानव अधिकारका लागि आयोग सधै लागि रहने बताउनु भयो । उहाँले आयोगसंगै अन्य सरोकारवालाहरुको पनि भुमिका उत्तिकै महत्वपुर्ण हुने बताउनु भयो ।

नेपाल सरकारका पुर्व सचिव डा. मान बहादुर विश्वकर्माले वादी समुदाय दलित समुदाय भित्र पनि अति सीमान्तकृत समुदाय भएको बताउनु भयो । उहाँले अझै पनि वादी समुदाय शिक्षा,स्वास्थ्य,रोजगारी,गरिबको मारमा पर्दै आएको धारणा राख्नु भयो । उहाँले वादी समुदायको भिन्न खालको ईतिहास,समस्या,चुनौती रहेको बताउदै सरकारले यो समुदायका लागि केहि गर्ने प्रयास गरेको भएता पनि अहिले ती प्रयासहरु प्रभावकारी नभएको भनाई राख्नु भयो ।

राष्ट्रिय वादी सञ्जाल नेपालका अध्यक्ष केशव वादी नेपालीले वर्षै देखि वादी समुदायले आफ्नो अधिकारका लागि निरन्तर आन्दोलन,संघर्ष गर्दै आए पनि सोचे अनुरुप अधिकार प्राप्त हुन नसकेको बताउनु भयो । उहाँले दलित समुदाय भित्र पनि वादी समुदायलाई फरक ढङ्गले हेर्नु पर्ने भनाई राख्नु भयो । उहाँले वादी समुदायको राज्यसंग भएका सम्झौता र संबिधानले व्यवस्था गरेका अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले वादी समुदायको अधिकार प्राप्तीको लडाईमा सबैले साथ,सहयोगको अपेक्षा रहेको धारणा राख्नु भयो ।

सामुदायिक शशक्तिकरण तथा रुपान्तरण (कमिट) नेपालका अध्यक्ष प्रकाश वादी नेपालीले वादी समुदायको भुमिहिन, शिक्षा,स्वास्थ्य,आवास,नागरिकता समस्या रहेको भनाई राख्नु भयो । त्यस्तै उहाँले वादी समुदाय यौनकर्मी पेशाको कारण समाजले हेयको भावनाले हेर्न हुदाँ आत्मसम्मान र स्वाभिमानमा ठेस पुगेको बताउनु भयो । उहाँले सबै भन्दा पिधमा परेको करिब ३९ हजार वादी समुदायको मानव अधिकारका लागि राज्यकोे बिशेष पहल र सरोकारवाला निकायहरुले पनि ध्यान दिन आग्रह गर्नु भयो ।

प्रतिकृया दिनुहोस्