RaraNews

जागरण मिडिया प्रकाशित : २०७९/१२/८ गते
४८४ पटक

सीता बि.के.

जातीय विभेदको मुद्धा सबैको साझा मुद्धा बनाउन गैर आवासीय नेपाली संघ (एनआरएनए)ले पनि अभियानका रुपमा लैजानु पर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन । उनीहरुले नेपालीहरु बिदेशमा आउँदा पनि आफ्नो धर्म,संस्कार र मानसिकतासंगै ल्याएकाले अब विभेद विरुद्ध गैर आवासीय नेपालीहरुले दुतको रुपमा काम गर्नु पर्ने बताएका हुन ।

२१ मार्च अर्थात ५८ औं अन्तर्राष्ट्रिय रंगभेद तथा जातीय विभेद उन्मुलन दिवस सन्दर्भमा सहयात्रा क्यानडाले आयोजना गरेको अन्तक्रिया कार्यक्रमका सहभागिले सो कुरामा जोड दिएका थिए । उनीहरुले जहाँ जहाँ नेपाली छन ,त्यहाँ त्यहाँ धर्म,संस्कार र संस्कृतीसंगै जातीय बिभेदको मानसिकता पनि पुगेको बताएका छन ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा क्यानडाका लागि नेपाली राजदुत भृगु ढुंगाना जातीय विभेद गर्नु अपराध भएकाले जातीय आधारमा कसैले पनि विभेद गर्न नहुने बताउनु भयो । ढुंगानाले जातीय विभेद अन्त्यका लागि संरचना,नीति,नियम बने पनि व्यवहारमा लागु नहुदाँ समस्या भएको विचार व्यक्त गर्नु भयो ।

कार्यपत्र प्रस्तुत गर्दै डा.द्रोण रसालीले हामी बिदेशमा भए पनि नेपालमा भएका कुनै पनि जातीय बिभेदका घटनाले आफुहरुलाई दु:ख लाग्ने बताउनु भयो । उहाँले अहिले पनि हरेक क्षेत्रमा दलित समुदायहरु पछाडि पारिएको तथ्याङ्क प्रस्तुत गर्दै अब दलित समुदायहरुका लागि आर्थिक,शैक्षिक,सामाजिक,सास्कृतिक तवरले माथि उठाउने काम गर्नु पर्नु बताउनु भयो । उहाँले कुनै समयमा दलित समुदायले मानविय आवश्यकता पुरा गर्नका लागि ठुलो योग्दान गरे पनि त्यसको मुल्याङ्कन राज्यले गर्न नसकेकोमा चिन्ता व्यक्त गर्नु भयो । रसालीले भन्नु भयो “ दलित समुदाय सीप,कला,गला,क्षमताको हिसाबले ईन्जीनियर भएकाले लोपहुने अवस्थामा पुगेका परम्परागत सीप,पेशा,कलालाई प्रर्वद्धन गर्न विश्वविद्यालय खोल्ने अभियानमा छौ । ”

 

 त्यस्तै पुर्व दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत डा.निर्मलकुमार विश्वकर्माले राज्यसत्ता झन झन कठोर हुदै गएकाले दलित समुदायले राज्य सत्तामै आफ्नो हैसियत बनाउनु पर्नेमा जोड दिनु भयो । उहाँले जातीय विभेदका विरुद्ध थुप्रौ नीति,नियम,कानुन,आन्दोलन ,बहस भए पनि राज्य सत्तामा दलितको पहुँच पुग्न नसकेको वास्तविकता राख्नु भयो । अधिवक्ता सीताराम घले परियारले दलित समुदायको मुद्धा साझा मुद्धा बनाउन गैर आवासीय नेपाली संघले पनि त्यसका लागि भुमिका खेल्न आग्रह गर्नु भयो ।

गैर आवासीय नेपाली संघका अध्यक्ष रबिना थापाले आजको २१ औ शताब्दीमा पनि जातीय विभेदका सवालमा कुरा गर्नु पर्दा दु:ख लागेको बताउनु भयो । उहाँले गैर आवासीय नेपाली संघले नेपाललाई दुःख,गाह्रो र समस्या पर्दा आफुहरुलाई चिन्ता हुने बताउदै आफुहरुले सक्ने सहयोग गर्दै आएको धारणा राख्नु भयो । उहाँले गैर आवासीय नेपाली संघ आगामी दिनमा पनि जातीय विभेदका विरुद्ध गर्न सकिने काम,समन्वय र सहयोगका लागि  प्रतिवद्धता जनाउनु भयो ।

सहयात्रा क्यानडाका अध्यक्ष सन्तोष विश्वकर्माको अध्यक्षता ,प्रकाश श्रीर्पालीको स्वागत र सुमन पौडेलको संचालनमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले जातीय विभेद विरुद्ध बनेका कानुन कार्यान्वयनमा बढि ध्यान दिनु पर्ने कुरा बताएका  थिए ।

नेपालमा पनि २१ मार्च अर्थात ५८ औं अन्तर्राष्ट्रिय रंग भेद तथा जातीय विभेद उन्मुलन दिवस देशैभर बिभिन्न कार्यक्रम गरेर सम्पन्न भएको छ ।

प्रतिकृया दिनुहोस्