RaraNews

जागरण मिडिया प्रकाशित : २०७९/११/२९ गते
३२७ पटक

सिराहा । नगरपालिका– १५ नवटोली मुसहरीका विपन्न मुसहरका लागि पोषणयुक्त खानेकुरा अभाव, बस्तीमा शौचालय र स्वच्छ खानेपानी पनि छैन, वडाध्यक्ष उपेन्द्र मण्डल भन्छन्– यसपटक बजेट नै छैन ।

मुसहरीकी ६० वर्षीया रामसखीदेवी सदा नौ महिनादेखि ओछ्यानमा छिन् । दिसापिसाब गर्न जान पनि अरूको सहारा चाहिन्छ । सिराहा नगरपालिका– १५ नवटोली मुसहरीमा उनको सानो कच्ची घर छ । माटो, करची ९बाँसको झारपात०ले बनाइएको घरको छानामा जस्तापाता छ । नयाँ पत्रिकाकर्मी पुग्दा उनी यहीँ घरमा प्लास्टिकको बोरा भुइँमा ओछ्याएर ढलेकी थिइन् । उनी भुइँमै पालको ओछ्यानमा दिनरात बिताउँछिन् । ‘डार नै उठैय है ९कम्मर चलाउन सक्दिनँ० । पैसा नै है, दबाई न किने सकैछि ९पैसा छैन, औषधि किन्न सकेकी छैन०,’ रामसखीले दुखेसो पोखिन् ।

गत असारमा धान रोप्न पुगेकी सदालाई ढाड दुख्ने समस्या देखियो । पछि थाहा भयो, प्यारालाइसिस भएको रहेछ । यसबीचमा उनले नेपालदेखि भारतका अस्पताल चहारिन्, तर निको भएको छैन । उनका छोरा प्रमोदका अनुसार आमाको उपचारमा तीन लाख खर्च भइसकेको छ । एक लाख रुपैयाँ त ऋण छ ।

सुरुमा सदालाई छोराहरूले भारतको बाबुबरही सहरस्थित अस्पतालमा लगेर उपचार गराए । त्यसपछि सिराहा अस्पताल, कर्जन्हा अस्पतालमा पनि धाइन् । ‘आमालाई जहाँको अस्पताल लग्दा पनि निको भएन, अहिले भारतको खरैयाको अस्पताल जँचाएर ल्याएका छौँ, त्यहीँको दबाई ९औषधि० खाइरहनुभएको छ,’ प्रमोद भन्छन्, ‘पैसाको जोडजाम गरेपछि आमालाई फेरि अस्पताल लग्छौँ ।’

रामसखीका पति फुदियाको करिब आठ वर्षपहिले मूत्रनलीमा समस्या देखियो । राम्रोसँग उपचार नै नपाएर निधन भयो । उनका दुई छोरा प्रमोद र मनोजले दैनिक ज्यालादारीबाट गुजारा चलाउँदै आएका छन् । बहिनी विवाह गरेर गइसकिन् । मनोज श्रीमती र दुई छोरा ९आठ र चार वर्ष० छन् भने प्रमोदका श्रीमती र तीन वर्षीय छोरा छन् । संयुक्त परिवारमा बसेका उनी ज्याला–मजदुरी गरेर गुजारा चलाइरहेका छन् । त्यहीँबाट धेरथोर पैसा बचाएर आमाको उपचार गराएका छन् । ‘एक लाख ऋण लागिसक्यो, आमाको उपचार हुन सकेको छैन,’ निन्याउरो मुख लगाउँदै प्रमोदले भने ।

रामसखीजस्तै मुसहरीका ४७ वर्षीय राजकुमार सदा दुई वर्षदेखि अशक्त भएर घरमै बसिरहेका छन् । दुई वर्षअघि हृदयाघात भएपछि उनलाई एकपछि अर्को रोगले च्याप्दै आएको छ । उनी हृदयाघातसँगै ब्रेन स्ट्रोक र पक्षघातबाट पनि पीडित छन् । ‘काठमाडौं पुगेर उपचार गराउँदा पनि निको भएको छैन,’ उनले भने । काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालदेखि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर धाए पनि उनी निको भएका छैनन् ।

राजकुमारको मुटुको शल्यक्रियाका लागि शिक्षण अस्पतालले फागुन तेस्रो साताको समय दिएको थियो । तर, साढे दुई लाख नहुँदा शल्यक्रिया गराउन जान नसकिएको उनकी श्रीमती शान्तिले बताइन् । शान्तिका अनुसार पतिको उपचारमा १० लाख खर्र्च भइसकेको छ, ६ लाख त ऋण नै छ । शान्ति गाउँकै बालविकास शिक्षक (प्रारम्भिक कक्षाका शिक्षक) हुन् । ऐलानी जग्गामा कच्ची घर बनाएर बस्दै आएकी शान्ति पुकार गर्छिन्, ‘भगवान्ले पति राजकुमारलाई निको गरिदिओस् ।’ पतिको रेखदेख, औषधोपचारसँगै तीन छोरा र एक छोरीको हेरचाह, पढाइ खर्च उनकै काँधमा छ ।

यही बस्तीका ५२ वर्षीय रामवृक्ष सदा पनि प्यारालाइसिसबाट थला परेका छन् । तीन वर्षअघि शरीरको बायाँपट्टि प्यारालाइसिस भएपछि हातखुट्टा चलाउन नसक्ने अवस्थामा पुगे । रामवृक्षलाई उपचार गराउन भारतको दरभंगा, खरैयालगायत ठाउँमा लगे पनि निको हुन सकेको छैन । बरु दुई लाख ऋणले च्यापेको छ । ‘जहाँ उपचार गराए पनि सन्चो हुँदैन । ठूला अस्पताल लग्दा निको हुन्छ होला भनेर लगेकी हुँ । मन मान्दैन, ऋणको भारी बोक्नुप¥यो,’ पत्नी रामसुनैरदेवी सदाले भनिन्, ‘उपचार गर्न पैसा छैन ।’ उनका दुई छोरा र एक छोरी छन् । पतिको स्याहारदेखि छोराछोरीको हातमुख जोर्न उनी मजदुरी गर्दै आएकी छिन् ।

मुसहरीकै ६५ वर्षीय चलितर सदालाई उच्च रक्तचापले प्यारालाइसिसको सिकार बनायो । बायाँतर्फको आँखादेखि मुखसम्म असर गरेको छ । जसकारण उनले बायाँ आँखाको दृष्टि गुमाउनुपरेको छ भने मजदुरी गरेर जहान पाल्न नसक्ने अवस्थामा आइपरेको छ । उपचार गराउन सिराहा अस्पतालदेखि भारतको मधुबनीसम्म पुगेका छन् । अढाई वर्षअघिदेखि प्यारालाइसिसको उपचार गराउँदै आएको उनको डेढ लाख खर्च भइसकेको सुनाए । ‘पानीजस्तै पैसा ऋण लिएर बगाउनुपरेछ,’ उनकी पत्नी हलस सदाले भनिन्, ‘बोली प्रस्ट छैन, बायाँ आँखा देख्दैनन् ।’

जटिल रोगले ग्रस्त यी मुसहर परिवारको घरको अवस्था पनि राम्रो छैन । ऐलानी जग्गामा एस्वेस्टरको प्रयोग गरी कच्ची घरमा बस्दै आएका उनीहरूलाई राज्यले बेवास्ता गरिरहेको गुनासो छ । राज्यले आफूहरूको उपचारमा पटक्कै ध्यान नदिएको उनीहरूको गुनासो छ ।

आठ दशकदेखि ऐलानी जग्गामा रहेको मुसहरी वस्तीमासय परिवार मुसहर बस्दै आएका छन् । आँगन सँगसँगै जोडिएका धेरैजसो फुसका छाप्रो छन् । केही घर मात्र इँटाले बनाएका छन् । बस्तीमा बालबालिकासहित चार सय जनसंख्या रहेको अनुमान छ । दैनिक जीवनयापन गर्न पनि धौ–धौ भएका वेला रोगसँगै ऋणले थलो परेको छ, यो बस्ती ।

स्थानीय मनोज सदाका अनुसार बस्तीमा झन्डै ९० जना बालबालिका छन् । तर, ३०–३५ मात्र विद्यालय जान्छन् । बाँकी बालबालिकाले दाउरा खोज्न र आमाबुबालाई काममा सघाएर दिन बिताउने गरेका छन् । धेरैजसो परिवार ज्यालादारी काम गरेर जीवनयापन गरिरहेका छन् । निर्माण क्षेत्रमा मजदुरी, ट्र्याक्टरमा बालुवा, माटो, गिटी ओसार्ने काम गर्दै आएका उनीहरूले सिजनमा खेतीपातीको काममा पनि मजदुरी गर्ने गरेको सदाले बताए ।

बस्तीका ऋण खोज्न सक्ने केही युवा रोजगारीका लागि खाडी पुगेका छन् । धेरैजसो भारतको दिल्ली, हरियाणा, पञ्जावमा मजदुरी गर्छन् । सिराहा– ३ मा पर्ने यो बस्तीमा हरेकजसो चुनावमा नेताहरूले मुसहर समुदायलाई जग्गा उपलब्ध गराउने, रोजगारी दिनेदेखि खानेपानीको व्यवस्था गर्नेसम्मका भाषण गर्छन् । ‘तर, चुनाव जितिसकेपछि नेताहरू फर्किएर आउँदैनन् । उनीहरूले हाम्रा दुःख देख्ने चुनावका वेला मात्र हुन्,’ सदाले भने । यस क्षेत्रबाट एमाले नेता लीलानाथ श्रेष्ठ प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् भने एकीकृृत समाजवादीका प्रमोदकुमार यादव मधेस प्रदेश सभामा पुगेका छन् ।

सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र जनकपुरधामका चिकित्सक डा। नरेश मण्डल स्क्रिनिङ अभावमा दलित बस्तीमा जटिल प्रकृतिका रोगको जोखिम बढ्दै गएको बताउँछन् । शुद्ध खानेपानी, पोषणयुक्त खानेकुरा र सुत्ने ठाउँको सुबिस्ता राम्रो नहुँदा प्रायः दलित बस्तीका नागरिक जटिल रोगको जोखिममा परेको उनको भनाइ छ ।

मुसहर बस्तीमा स्क्रिनिङ छैन
संविधानले निःशुल्क स्वास्थ्यको ग्यारेन्टी गरे पनि मुसहरीका मुसहर समुदायले सुविधा उपभोग गर्न पाएका छैनन् । सिराहा नगरपालिका र विभिन्न संघसंस्थाले पनि यस बस्तीमा निःशुल्क स्वास्थ्य जाँच गर्न शिविर सञ्चालन गरेको पाइँदैन । नवटोली मुसहर बस्तीमा बस्दै आएका मुसहर समुदायको स्वास्थ्य परीक्षण गर्न सकेका छैनन् । बिरामीले थला परेपछि मात्र अस्पताल जान्छन् ।

प्राथमिक स्वास्थ्य जाँचमा ध्यान दिन सके दलित बस्तीका नागरिकलाई रोगले जटिल रूप लिनुअगावै रोगको पहिचान गरी उपचारको बाटो पहिल्याउन सकिने डा। मण्डलको भनाइ छ । ‘न्यूनतम अति आवश्यक जाँचको व्यवस्था गर्नुपर्छ । सामान्य रगत–पिसाबको जाँचदेखि मुटुको इसिजी र मुटुको भिडियो एक्सरे, छातीको एक्सरे, पेटको भिडियो एक्सरेजस्ता परीक्षण गर्नुपर्छ,’ उनले भने । यी परीक्षणले दलित बस्तीमा बसोवास गर्ने गम्भीर रोगको जोखिममा छ–छैन भन्ने कुराको निक्र्योल गर्दै रोग पत्ता लाग्दा समयमा उपचार गर्न सक्ने सुबिस्ता रहने डा। मण्डलले बताए । ‘रोग पहिचानमा ढिलाइ हुँदा अझ जटिलता थपिन सक्छ,’ डा। मण्डलले भने, ‘यसलाई रोक्न परीक्षणमा ध्यान दिनुपर्छ ।’

जनता आवास कार्यक्रमले पनि छोएन
सय घर रहेको मुसहरीमा जनता आवासको कार्यक्रम परेको छैन । जनता आवास कार्यक्रममार्फत फुसको छानो हटाएर जस्ताको छानो हाल्ने कार्यक्रम देशभर लागू भए पनि यो बस्तीमा परेको छैन । सरकारी निकाय भने ऐलानी जग्गामा सरकारी योजना अगाडि बढाउन नसकिने भन्दै पन्छिने गरेका छन् । यो बस्तीमा रोगबाट गस्त त छन् नै आगालागीको जोखिम पनि उत्तिकै छ ।

सिराहा नगरपालिका– १५ नवटोली मुसहरीका विपन्न मुसहरका लागि पोषणयुक्त खानेकुरा अभाव, बस्तीमा शौचालय र स्वच्छ खानेपानी पनि छैन, वडाध्यक्ष उपेन्द्र मण्डल भन्छन्– यसपटक बजेट नै छैन

मुसहर बस्ती सामाजिक र आर्थिक रूपले कमजोर रहेको छ । जसले गर्दा स्वास्थ्यसम्बन्धी जनचेतनाको अभाव छ । पोषिलो खानेकुरासँगै शुद्ध खानेपानी र राम्रो सुत्ने ओछ्यानको अभावले शरीरमा विभिन्न रोगको जोखिमको सम्भावना उच्च रहने गरेको डाक्टर दिलीप सदाले बताए । ‘शरीरलाई चाहिने आवश्यक भिटामिन र मिनिरल अभावले गर्दा शरीरमा विभिन्न प्रकारको रोग निम्त्याउँछ,’ डा. सदाले भने, ‘यसले मुटुको समस्या, कलेजो (लिभर)को समस्या, मिर्गौला (किड्नी)को समस्या हुन्छ । समस्या सुरु भएपछि समयमा जाँच नहुनु र समयमा उपचार हुन नसक्दा प्यारालाइसिस हुने जोखिम रहन्छ ।

सिराहालाई ०७४ मा खुला दिसामुक्त जिल्ला घोषणा गरियो । सिराहा सदरमुकाममा तामझाम साथ खुला दिसामुक्त जिल्ला घोषणा गर्दा मधेस प्रदेशका तत्कालीन मुख्यमन्त्री लालबाबु राउतले सबैको घरमा शौचालयको पहुँच भएको उद्घोष गरेका थिए ।

तर, पोखरीको डिलमा ऐलानी जग्गामा बसोवास गर्दै आएका मुसहर परिवारलाई अहिले पनि शौचालय र स्वच्छ खानेपानीको पनि अभाव छ । धेरैजसो घरमा शौचालय छैन । कोही छिमेकीको शौचालयमा जान्छन् त कोही खुला रूपमै खेतबारीमा शौच गर्न पुग्छन् । स्थानीय सञ्जित सदाले भने, ‘दैनिक छाक टार्न त धौ–धौ छ, शौचालय कसरी बनाउँछन् रु’ खुला दिसामुक्त घोषणाताका यहाँ केही गैरसरकारी संस्थाले अस्थायी शौचालय बनाइदिएका थिए । अहिले ती सबै शौचालय प्रयोगविहीन भइसकेका छन् ।

यहाँ खानेपानी पनि अभाव छ । सय परिवार रहेको बस्तीमा १५–२० वटा मात्र चापाकल (हातेकल) छन् । बाँकी घरपरिवार छिमेकीको कल प्रयोग गर्दै आएका छन् । कलको आर्सेनिकयुक्त पानी खान बाध्य छन् । सिराहा नगरपालिका– १४ का वडाध्यक्ष उपेन्द्र मण्डलले ऐलानी जग्गामा बस्ती भएकाले चापाकलको योजना बनाउन नसकिएको बताए ।

वडाध्यक्ष उपेन्द्र मण्डलले आफ्नो वडामा जटिल रोगबाट ग्रस्त भएका बिरामी भए पनि यसपटक केही सहयोग गर्न सक्ने अवस्थामा नरहेको बताए । चालू आर्थिक वर्षमा सबै योजना छनोट भएर बजेट विनियोजन भइसकेकाले तत्काल केही गर्न नसक्ने अवस्थामा रहेको उनले बताए । खानेपानी, शौचालय र सुरक्षित आवासको समस्या रहेको भन्दै ऐलानी जग्गामा बस्दै आएकाले अप्ठ्यारो भइरहेको बताए । नयाँ पत्रिकाबाट साभार

प्रतिकृया दिनुहोस्